२०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024

समाजवादी प्रेस संगठनकाे स्थापना दिवसमा ९ पुरस्कार घाेषणा

  • २०८० भाद्र ११, सोमबार मा प्रकाशित ८ महिना अघि
  • काठमाण्डाैं –  समाजवादी प्रेस संगठनले स्थापना दिवसकाे अवसरमा ९ पुरस्कार घाेषणा गरेकाे छ । संगठन स्थापनाकाे दाेस्राे वर्ष गाँठकाे अवसरमा राजनीति, पत्रकारिता तथा साहित्य क्षेत्रका विशिष्ट व्यक्तिहरुकाे स्मृतिमा पुरस्कार स्थापना गरिएकाे हाे ।
    संगठनकाे पहिलाे केन्द्रीय कमिटी बैठकले गरेकाे निर्णय अनुसार विभिन्न व्यक्तित्वहरुका नाममा विभिन्न राशीकाे पुरस्कार स्थापना गरेर वितरण गर्ने घाेषणा गरिएकाे महासचिव रामकुमार एलनले जानकारी दिए ।
    स‌ंगठनले लुकमा साम्यवादी विचार प्रवाह गरेर जनतालाई समाजवादी पक्षधर बनाउने काममा अग्रणी नेतृत्व गर्नु भएका साहना प्रधानदेखि दुर्गममा पत्रकारिता गर्दागर्दै काेराेना कहरमा ज्यान गुमाएका एलबी विश्वकर्माकाे स्मृतिमा ९ प्रकारका पुरस्कार स्थापना गरेकाे छ ।
    यस्ता छन्, स्थापित पुरस्कारहरु
    १. सहाना प्रधान महिला सशक्तिकरण पत्रकारिता पुरस्कारः नेपाली राजनीतिमा सहाना प्रधानको नाम शीर्षस्थानमा छ। मुलुकमा साम्यवादी विचार प्रवाह गरेर जनतालाई समाजवादी पक्षधर बनाउने काममा अग्रणी नेतृत्व गर्नु भएका प्रधानले परिवर्तनका विभिन्न आन्दोलनहरूमा नेतृत्व गर्नु भयो । अगुवाइ गर्नु भयो। महिलालाई राजनीतिमा उत्प्रेरित गर्नु भयो । नेतृत्व र निर्णायक तहमा महिला सहभागिताका लागि सिंगो जीवन अर्पण गर्नु भयो ।
    आफ्नो जीवनकालमा राजनीतिका अलावा प्राध्यापन तथा लेखन कार्यमा उहाँको सलग्नता थियो । उनै सम्मानित महिला नेतृत्वको सम्मानमा संगठनल २०७९ देखि प्रदान गर्ने गरी ५१ हजार रुपैयाँ राशिको ‘सहाना प्रधान महिला सशक्तिकरण पत्रकारिता पुरस्कार स्थापना गरेको छ । नेपाली पत्रकारितामा क्रियाशील अग्रज महिला पत्रकारलाई यो पुरस्कार समर्पण गरिनेछ ।
    २. हृदयचन्द्र सिंह प्रधान स्मृति पत्रकारिता पुरस्कारः नेपाली साहित्यमा प्रगतिवादी धार स्थापित गर्ने कार्यमा हृदयचन्द्र सिंह प्रधानको नाम अमिट रहेको छ । प्रगतिवादी धारमा नयाँ पुस्तालाई जोड्ने र साहित्यमार्फत चेतना वृद्धि गराइ सचेत समाज निर्माणमा प्रधानको लेखनी अब्बल रहयो। उनैले अंगालेको धारले समाजलाई परिवर्तनको बाटोमा लैजान र साहित्यका माध्यमबाट पनि परिवर्तन सम्भव छ भन्ने देखाउने काममा प्रधानका लेखनीले पुष्टि गरेको छ ।
    साहित्यिक पत्रकारिता सुरुवात गर्ने काममा पनि प्रधान र उहाँको पुस्ताको सक्रिय सहभागिता रहेको थियो । प्रधानको सम्मान सँगठनले २०७९ देखि प्रदान गर्ने गरी ५१ हजार रुपैयाँ राशिको हृदयचन्द्र सिंह प्रधान स्मृति पत्रकारिता पुरस्कार स्थापना गरेको छ। नेपाली पत्रकारितामा क्रियाशील अग्रज पत्रकारलाई यो पुरस्कार समर्पण गरिनेछ ।
    ३. अग्नि शिखा स्मृति पत्रकारिता पुरस्कारः पत्रकार अग्नि शिखा (सुकदेव नेपाल) नेपाली वाम प्रगतिशील पत्रकारितामा एउटा सशक्त कलमजीवीका रुपमा स्थापित नाम हो । पत्रकारितामा पनि विश्व कम्युनिष्ट आन्दोलनलाई लेखनीबाट उजागर गर्दै विश्वको कम्युनिष्ट राजनीतिलाई नेपाली जनताको घरदैलोसम्म पुयाउने काममा अग्नि शिखाले सिंगो जीवन लेखिरहनु भयो ।
    जनबोलीका भाषामा कला र सीप प्रस्तुत गर्दै पत्रकारितासँगै नेपाली प्रगतिशील पत्रकारहरुलाई संगठित गर्ने नाम, नारा, दस्तावेजसमेत तय गर्ने पाटोमा अग्नि शिखाकै नेतृत्व रहेको थियो । उहाँ र उहाँका सहकर्मीहरुल संगठित गरेको वाम प्रगतिशील पत्रकारिताको एउटा अर्को शृंखलामा समाजवादी प्रेस संगठन नेपाल स्थापना भएको हो।
    यसको प्रेरणाको श्रेय अग्नि शिखा ने रहेकाले उहाँका नाम अग्नि शिखा स्मृति पत्रकारिता पुरस्कार स्थापना गरेर २०७९ देखि प्रदान गर्ने निर्णय भएको छ । ५१ हजार रुपैयाँ राशिको पुरस्कार नेपाली वाम प्रगतिशील पत्रकारिताका अग्रज पत्रकारहरुलाई समर्पण गरिने छ ।
    ४. वीरेन्द्र साह क्रियाशील पत्रकारिता पुरस्कारः मुलुक परिवर्तनको बाटोमा लम्किरहँदा राजनीतिक गतिरोध अन्त्य नहुँदासम्म अनेक इन्द्रका घटना परिघटना भइरहन्छन्, सिंगो मुलुक आक्रान्त बनिरहेका बेला पनि पत्रकारिताका माध्यमबाट नेपाली समाजलाई उज्यालो प्रगतिशील बाटोमा डोयाउने काममा प्रगतिशील वाम पत्रकारहरुको गर्विलो इतिहास छ । नेपाली पत्रकारिताका कयौ यस्ता हस्ताक्षराहरु छन्, जसले यो परिवर्तनलाई सम्भव तुल्याउन सकिन्छ भनेर जनमानसमा धारणा निर्माण पनि गराएका छन् ।
    यसै सिलसिलामा पत्रकारिताकै क्रममा जीवन आहूति गरेका बासका पत्रकार वीरेन्द्र कुमार साह नेपाली पत्रकारितामा नमेटिने नाम हो । उहाँको सम्मानमा वीरेन्द्र साह क्रियाशील पत्रकारिता पुरस्कार स्थापना गरिएको छ । २०७९ देखि प्रदान गरिने पुरस्कारको राशी ४१ हजार रुपैयाँ रहेको छ र युवा पुस्ताका क्रियाशील अझ मधेश प्रदेशका पत्रकारलाई यो पुरस्कार प्रदान गरिनेछ ।
    ५. डेकेन्द्र थापा साहसी पत्रकारिता पुरस्कारः देश संघीयतामा गएपछि बनेको कर्णाली प्रदेशको दुर्गम दैलेखका जनपक्षीय पत्रकार हुनुहुन्थ्यो डेकेन्द्र थापा |
    पत्रकारिताका अलावा सामाजिक अभियानमा पनि क्रियाशील थापा राज्य द्वन्द्वको भुंग्रोमा फसिरहँदा पनि समाचारमार्फत जनताका दुःखसुखलाई आम जनमानसमा पुयाउन क्रियाशील हुनुहुन्थ्यो । सामाजिक अभियानमा सक्रिय रहेकै बेला विद्रोही पक्ष र राज्यको आमनेसामने बनिरहेको कठिन अवस्थामा पनि निडर र निष्पक्ष मात्र नभई निर्भिक पत्रकारितामा होमिने क्रममा थापाको जीवन हरण भयो।
    थापाको सम्मानमा ‘डेकेन्द्र थापा साहसी पत्रकारिता पुरस्कार’ स्थापना गरिएको छ । संगठनले २०७९ देखि प्रदान गर्ने पुरस्कारको राशि ४१ हजार रुपैयाँ रहेको छ युवा पुस्ताका पत्रकारलाई यो पुरस्कार समर्पण गरिनेछ ।
    ६. चन्द्र न्यौपाने रेडियो पत्रकारिता पुरस्कारः नेपाली पत्रकारितामा एउटा छुट्टै र आमजनताको पहुँचमा पुग्ने सहज सञ्चार माध्यम हो रेडियो । पत्रकारिताको एउटा अलग्गै विधाका रुपमा स्थापित रेडियो पत्रकारिता अहिले पनि मुलुकको कठिन घडीमा जनतासँग जोडिने  सबेभन्दा बलियाे र सजिलाे सञ्चार विधामा अलग्गै विधामा स्थापित छ । पूर्वी नेपालको कोशी प्रदेशमा जन्मिएर नेपाली रेडियो आन्दोलनको अगुवाइ गर्नु भएका पत्रकार चन्द्र न्यौपाने विश्व र मुलुकले भोगेकी कोभिड १९ को भयावह अवस्थामा जनतालाई सूचनाको हकमा जोडिरहने सिलसिलामा संक्रमणको सिकार हुँदै मृत्युको मुखमा पुग्नु भयो । नेपाली आन्दोलन र परिवर्तनको सारथी रेडियो आन्दोलनका अगुवा नेतृत्व न्यौपानेका नाममा संगठनले २०७९ देखि प्रदान गर्ने गरी ३१ हजार रुपैयाँ राशीको चन्द्र न्यौपाने रेडियो पत्रकारिता पुरस्कार स्थापना गरेर रेडियो पत्रकारितामा क्रियाशीलहरुलाई समर्पण गर्ने निर्णय गरेको छ ।
    ७. बिके पाल्पाली साहित्यिक पत्रकारिता पुरस्कारः प्रगतिशील साहित्यिक पत्रकारिता पत्रकारिताकै सशक्त माध्यम हो । विचारले समाजलाई निर्देशन गर्ने परिवर्तनका पक्षमा उभ्याउने काममा साहित्य सदा राजनीति र पत्रकारिताको सारथीका रूपमा अलग्गै ढंगले क्रियाशील भइरहन्छ । नेपाली आन्दोलनमा साहित्य सशक्त र परै बसेर परिवर्तनका पक्षमा जनमत निर्माण गर्ने बलियो आधारस्तम्भ रहिरहेको इतिहास छ ।
    सत्ता र राजकीय सेवा सुविधाको मोह नगरी अविराम साहित्यमार्फत परिवर्तनकामी जनता र जनमत निर्माण गर्ने अभियानकै क्रममा साहित्यिक पत्रकारिताका क्रियाशील पत्रकार बिके पाल्पालीको जीवन सकियो। उहाँले गर्नु भएको योगदानको सम्मानमा साहित्यिक पत्रकारितामा क्रियाशील पुस्तालाई समर्पण गर्ने गरी २१ हजार रुपैयाँ राशीको बिके पाल्पाली साहित्यिक पत्रकारिता पुरस्कार स्थापना गरिएको छ। यो पुरस्कार २०७९ देखि प्रदान गरिनेछ ।
    ८. उत्कृष्ट संगठक पुरस्कार: २०७४ मा भएको संघ तथा प्रदेशको निर्वाचन ऐतिहासिक थियो। संघीयताको अभ्याससहितको यो निर्वाचनमा नेपाली वाम राजनीतिक दलहरुले सहकार्य गरेका थिए । नेपाली जनताले परिवर्तनका पक्षधर र संघीय गणतन्त्रात्मक प्रणाली अंगीकार गर्दै दुई तिहाइको छेउछाउमा मत पनि दिएका थिए । नेकपा माओवादी केन्द्र नेकपा एमालेले चुनावी सहकार्यसँगै सरकार निर्माण र नेपाल कम्युनिष्ट पार्टी निर्माणको आधार तयार पारे । पार्टी बन्यो । तर पार्टी र सरकार सञ्चालनमा देखिएको असन्तुलनले अन्तत एउटा रहरलाग्दो कम्युनिष्ट पार्टी विभाजनको सिकार बन्यो ।
    यो अवस्थामा सत्य पक्षधर र निष्पक्ष राजनीतिक शक्तिलाई नडगमगाई खबरदारी गराउने काममा पत्रकारितामार्फत क्रियाशील वाम प्रगतिशील पत्रकारको संगठन, मोर्चा निर्माणको आधार तयार पार्ने र समाजवादी प्रेस संगठन नेपाल स्थापनासँगै अघि बढाउने कार्यमा साथ, सहयोग, सल्लाह, सुझाव दिन प्रगतिशील पत्रकारलाई समर्पण गर्ने गरी २१ हजार रुपैयाँ राशीको उत्कृष्ठ संगठक पुरस्कार स्थापना गरी २०७९ देखि प्रदान गरिनेछ ।
    ९. एलबी विश्वकर्मा स्मृति पत्रकारिता पुरस्कारः सुदूरपश्चिमको विकट अछाम र अछामक पनि विकट रामारोशनमा जन्मिएर, सिमान्तकृत समुदायबाट नेपाली पत्रकारितामा भविष्य खोज्दै संघीय राजधानीको प्रतिस्पर्धात्मक र व्यावसायिक पत्रकारितामा होमिएका पत्रकार लालबहादुर विश्वकर्मा (एलबी) को कोरोना कहरमा मूलधारको पत्रकारितामा सक्रिय रहेकै बेला निधन भयो । युवा पुस्ता पत्रकारिताप्रति विकर्षित भइरहेको अवस्था र विषम परिस्थितिमा लेखनीबाट जनमनमा स्थापित  विश्वकर्माकाे स्मृतिमा स्थापना भएकाे याे पुरस्कार २१ हजार राशीकाे छ । याे २०७९ सालदेखि प्रदान गरिने छ ।

    प्रतिक्रिया दिनुहोस