२०८१ बैशाख १६, आईतबार | Sun, 28, Apr, 2024

किसानका स्टलमा कपडा व्यवसायीकाे कब्जा, व्यवस्थापन गर्न ध्यानाकर्षण

  • २०८० आश्विन ८, सोमबार मा प्रकाशित ७ महिना अघि
  • ओखलढुंगा- नागरिक समाजका अगुवाहरुले सदरमुकाम ओखलढुंगाको साप्ताहिक हटियामा किसानहरुका लागि बनाइएको तरकारी विक्रि स्थलको अतिक्रमण हटाउन माग गरेका छन् ।

    जिल्ला पैरवी सञ्जालको तर्फबाट पत्रकार तथा नागरिक समाजका प्रतिनिधीहरुले नगरपालिकालाई ध्यानाकर्षण बुझाउँदै कृषकहरुका लागि निर्माण गरिएको स्टलमा उनीहरुलाई निर्वाध बसेर तरकारी व्यापार गर्न दिने व्यवस्था गर्न माग गरिएको हो ।

    सञ्जालको तर्फबाट नगरप्रमुख तेजन खनाललाई ध्यानाकर्षण बुझाउँदै कृषकलाई हटियामा निर्माण गरिएका स्टलमा बसेर तरकारी बेच्ने वातावरण बनाउन माग गरिएको सञ्जालका बोध नारायण श्रेष्ठले जानकारी दिए ।

    उनले किसानका लागि बनाइएका टहरामा कपडा तथा खाद्यन्न व्यापारी बस्ने र गाउँबाट डोकोमा तरकारी बोकेर ल्याउने किसान कहिले झरिमा रुझेर, कहिले पानीमा भिजेर सडक पेटीमा बस्नु पर्ने बाध्यता रहेकाले ध्यानाकर्षण गराइएको बताए ।

    नगरपालिकाले निर्माण गरेका टहराहरु भने गैह्र किसानले व्यवसाय गर्दै आएका छन् । उनीहरुमध्ये अधिकांशको हटियाभन्दा २०० मिटर वरपर घर तथा भाडाका सटर समेत छन् ।
    सिद्धिचरण नगरपालिका स्थित वडा नं. १२ रहेको साप्ताहिक हटिया क्षेत्रमा पहिले छुट्टै कृषि उपज केन्द्र निर्माण गरेर तरकारी उत्पादक किसानलाई उपलब्ध गराइएको थियो ।

    सदरमुकाममा घर भएका वा भाडामा सटर लिएर कपडा तथा खाद्यन्न व्यवसाय गर्ने व्यवसायीहरुले अहिले कृषि उपज राख्ने स्थलमा कब्जा जमाएका छन् । किसानका लागि बनाइएको उपज केन्द्र नगरपालिकाले कार्यालयका रुपमा विकास गरेपछि किसानहरु सडकमा पुगेका हुन् ।

    हाल नगरपालिकाले निर्माण गरेका टहराहरु भने गैह्र किसानले व्यवसाय गर्दै आएका छन् । उनीहरुमध्ये अधिकांशको हटियाभन्दा २०० मिटर वरपर घर तथा भाडाका सटर समेत छन् । किसानलाई नगरपालिकाले निर्माण गरेका स्टल उपलब्ध गराए स्वच्छ र सफा तरकारी उपभोक्ताले पाउने तथा किसानले पनि घामपानीको क्षति व्यहोर्नू नपर्ने अभियान्ता विमला धमलाले बताइन् ।

    ध्यानाकर्षण पत्र बुझ्दै नगरप्रमुख खनालले नगरपालिकाले पशु बिक्रिस्थल तथा कृषि उपज बिक्रिस्थल उपयुक्त स्थानमा व्यवस्थापन गर्न काम शुरु गरेको बताए । उनले यस बर्ष बजेटमै व्यवस्था गरेर त्यस्ता संरचना बनाउने तयारी रहेको जनाए ।

    प्रतिक्रिया दिनुहोस