२०८१ बैशाख १७, सोमबार | Mon, 29, Apr, 2024

बिलन्दु पहिरोपीडितलाई ४ लाख ५० हजार आर्थिक सहयोग

  • २०८० मंसिर ७, बिहिबार मा प्रकाशित ५ महिना अघि
  • ओखलढुंगा- ओखलढुंगा जिल्ला समाज युकेले ओखलढुंगाको बिलन्दु पहिरोपीडितलाई आर्थिक सहयोग गरेको छ । संस्थाका अध्यक्ष नारायण गुरुङ, संयोजक कृष्णबहादुर गुरुङ र कोषाध्यक्ष सुरेश श्रेष्ठको उपस्थितिमा पहिरोपीडिलताई ४ लाख ५० हजार सहयोग गरेको हो ।
    एक कार्यक्रमका बीच असारमा गएको पहिरोबाट मृत्यु भएका मृतक परिवार तथा भौतिक क्षति भएका परिवारलाई नगद सहयोग गरिएको थियो । पहिरोपीडित ४६ परिवारलाई क्षतिका आधारमा सहयोग गरिएको हो । रोजगारीका लागि वेलायतमा रहेका ओखलढुंगावासीहरूले  गरेको सहयोगले पहिरोपीडितलाई राहत मिलेको छ।
    संस्थाका अध्यक्ष नारायण गुरुङले सहयोग भावना लिएर वेलायतदेखि आएर सहयोग गरेको बताए । ‘आमाले माग्दैन जानेर दिनुपर्छ भन्ने उद्देश्य अनुरूप हामीले सहयोग गरेका हौँ, हाम्रो संस्थामा जोडिएका एकहजार भन्दा बढी सदस्यहरुले गरेको सहयोगले यो सम्भव भएको हो’  उनले भने ।
    सहयोग कार्यक्रमका संयोजक कृष्णबहादुर गुरूङले पीडितको पीडा देखेर ढिलै भए पनि ओखलढुंगा जिल्ला समाज युकेद्वारा सहयोग गरिएको बताउनुभयो । उहाँले जिल्लावासीलाई समस्या पर्दा जसरी पनि सम्बोधन गर्नुपर्छ भनेर आफ्नै पहलमा सेवाहेतुले सहयोग गरिएको बताए ।
    समाजका कोषाध्यक्ष सुरेश श्रेष्ठले समाजले निरन्तर सामाजिक काम गर्दै आएको र त्यसैको निरन्तरतास्वरुप थोरबहुत स्वेच्छाले जुटेको रकमबाट पीडामा मल्हम लगाइएको जनाए ।
    वेलायतमा विभिन्न पेशा व्यवसायमा आबद्ध ६० जनाले पहिरोपीडितका लागि सहयोग गरेका हुन् । संस्थाले जिल्लाभित्र यसअघि पनि सामाजिक काम गर्दै आएको छ ।

    प्रतिक्रिया दिनुहोस