२०८१ बैशाख १७, सोमबार | Mon, 29, Apr, 2024

ठेक्का मिलेमताे प्रकारण: कारवाही गर्न अनेरास्ववियुको माग

  • २०८० मंसिर १२, मंगलबार मा प्रकाशित ५ महिना अघि
  • ओखलढुंगा- शहरी विकास तथा भवन कार्यलय ओखलढुंगाले सार्वजनिक खरिद ऐन, विद्युतीय खरिद निर्देशिका मिचेर गरिएका काम तथा संलग्न व्यक्तिमाथि छानविन गर्न अनेरास्ववियुले माग गरेको छ ।

    प्रमुख जिल्ला अधिकारी चेतराज बराललाई मंगलबार ज्ञापन पत्र बुझाउँदै अनेरास्ववियुले कार्यालयले ठेक्का निकाल्ने क्रममा गरिएको मिलेमतो, सुचना लुकाएर प्रतिस्पर्धा समिति गर्दै अख्तियारको दुरुपयोग र खरिद ऐन विपरित गरिएका काममाथि छानविन गर्न माग गरेको हो ।

    जिल्ला अध्यक्ष सञ्जित तामाङद्वारा हस्ताक्षर गरिएको ज्ञापन पत्रमा २१ औं सताब्दीको सूचना प्रविधिको युगमा विद्युतीय प्रणालीमा जानु पर्नेमा नेपाललाई ढुङ्गे युगतर्फ फर्काउने प्रयासले आश्चर्य चकित बनाएको उल्लेख छ ।

    ‘विभिन्न मितिमा विभिन्न संचार माध्यमबाट प्रकाशित समाचारले अनियमितताको पराकाष्टा उदाङ्गो भएको छ । समाज भित्र हुर्किदै गएको अनियमितता, भ्रष्टाचारमा, बेतिथिका विरुद्ध धावा बोल्दै हाम्रो संगठन अनेरास्ववियु यस्ता कृयाकलाप आगामी दिनमा नहोस्, सत्य तथ्य छानविन गरि अनियमिततामा संलग्न जो कोहीहरुलाई कडा भन्दा कडा कारबाहीको माग गर्दछ’ ज्ञापन पत्रमा भनिएको छ ।

    जिल्लाका विकास निर्माणका काममा विगतदेखी नै गुनासो आइरहेको र विद्युतीय खरिद प्रणाली नै मिचेर गरिएको कामका विरुद्धमा संगठनले छानविन गर्न प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराइएको अनेरास्ववियुका स्थायी कमिटी सदस्य गोपाल नेपालले बताए ।
    उनले सुशासनका पक्षमा आफ्नो संगठनले आवाज उठाउने बताउँदै छानविन गर्न प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण गराइएको जनाए ।

    कार्यालयले कात्तिक १२ गते विद्युतीय खरिद प्रणाली निर्देशिका विपरित एक स्थानीय पत्रिकामा निकालेको सुचना अनुसार भन्दै ८ वटा ठेक्का मिलेमतोमा ३ जना व्यवसायीलाई विडिङ गराएको थियो भने सुचना निकालिएको पत्रिका बजारमा समेत कतै पनि वितरण नगरी सुचना गोप्य राखिएको थियो । यस काममा जिल्लाका केही निर्माण व्यवसायी र कार्यलय प्रमुख अनुज श्रेष्ठ मिलेका थिए ।

    यस घटनाबारे अन्नपूणर् पोष्ट दैनिक र अन्नपूणर् डटकममा समाचार प्रकाशित भएपछि कार्यालयले ठेक्का रद्द गरेको थियो । यस विषयमा निर्माण व्यवसायी संघले समेत छानविन गर्न माग गर्दै निवेदन दिएका थिए ।

    यस विषयमा जिल्ला प्रशासन कार्यालयले छानविन अघि बढाएको छैन । अनेरास्ववियुले ज्ञापन पत्र बुझाएपछि विद्यार्थीहरुसँग प्रमुख जिल्ला अधिकारी बरालले छानविन गरेर कारवाही गर्ने बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस