२०८१ बैशाख १७, सोमबार | Mon, 29, Apr, 2024

आखिर किन कम छ ओखलढुंगामा सुरक्षित गर्भपतन गराउनेको संख्या ?

  • २०८० पौष ८, आईतबार मा प्रकाशित ४ महिना अघि
  • ओखलढुंगा– कोशी प्रदेशको १४ जिल्लामध्ये सबैभन्दा कम संख्यामा सुरक्षित गर्भपतन गराउने ओखलढुंगा देखिएको छ । विगतको तीन आर्थिक वर्षमा सुरक्षित गर्भपतन गराउनेको संख्या हेर्ने हो भने क्रमश: आर्थिक वर्ष ०७७/७८ देखि यता ६३, ७३ र ४६ जनामात्र देखिन्छ । यसरी सुरक्षित गर्भपतन गराउनेको संख्या कम हुनुमा सूचीकृत स्वास्थ्य संस्था कम हुनु, चेतनाको विस्तार नहुनु र तालिमप्राप्त स्वास्थ्यकर्मी नहुनु प्रमूख कारण हुन सक्ने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । यस अवधिमा औषधीद्वारा गर्भपतन गराउनका लागि तालिमप्राप्त केही स्वास्थ्यकर्मीहरुको अनुभव कस्तो छ त ? यहाँ जस्ताको तस्तै प्रस्तुत गरिएको छ ।

    ‘गर्भवतीको संख्या नै घटेको छ ।’

    चोना फुयाँल, सिअनमी
    स्वास्थ्य चौकी बेतेनी, सिद्धिचरण नपा १०
    औषधीद्वारा गरिने सुरक्षित गर्भपतन सम्बन्धि तालिम लिएर आएको यो चैतमा एक वर्ष हुन्छ । तालिम लिएर आएपछि हालसम्म दुई जनाले मात्र म कार्यरत स्वास्थ्य चौकीबाट सुरक्षित गर्भपतनको सेवा लिनुभयो । तालिम लिएर गाउँमा आएपछि अधिकांश प्रजनन उमेरका महिलाहरुलाई परामर्श दिने काम गरेकी छु । सायद प्रजनन प्रक्रियामा संलग्न महिलाहरुको संख्या नै कम भएर हो वा किन हो सेवा लिनेको संख्या एकदमै न्यून छ । तालिम पछि मैले दश थान औषधी लिएर आएको थिएँ । तर दुईजनालाई भन्दा खपत भएन । अहिले हाम्रो स्वास्थ्य सेवा क्षेत्र एउटा वडा मात्र भएकोले होला गर्भवतीको संख्या घटेको छ । दुई सालअघि हाम्रो वडाबाट ४० जनाले एकवर्षमा प्रसुति गराएका थिए । गएको वर्ष जम्मा १४ जना मात्रले प्रसुति सेवा लिए । गर्भवती र सुत्केरीको संख्या नै कम छ । गाउँमा जनसंख्या घट्दो र पुरुषहरु वैदेशिक रोजगारीमा जाने क्रम बढेकोले पनि यो संख्या घटेको हुनसक्छ ।

    ‘थाहा भएपनि महिलाहरु आउनुभएन’

    विमला श्रेष्ठ, अनमी
    स्वास्थ्य चौकी मोली, मानेभन्ज्याङ गाउँपालिका १
    मैले तालिम लिएर आएको नौ महिनामा अहिले सम्म एकजनाले मात्र सुरक्षित गर्भपतनको सेवा लिनुभयो । हाम्रो स्वास्थ्य चौकी क्षेत्रमा पनि गर्भवतीको संख्या घटेको छ । गत आर्थिक वर्षमा १० जना सुत्केरी भएकोमा यो वर्ष अहिले सम्म ६ जनामात्र सुत्केरी हुनुभएको छ । हामीले पाँच दिनको तालिम लिएर आएका हौँ । आएपछि गाउँमा स्वास्थ्य स्वयम् सेविका मार्फत टोलटोलमा यो विषयबारे जानकारी पनि गराईरहेका छौँ । कोही लुकिछिपि बाहिर गएर सेवा लिनु भएको छ भने हामीलाई थाहा छैन । तर स्वास्थ्य चौकीमा अनिश्चित गर्भ रहेमा सुरक्षित गर्भपतन निशुल्क गराउने सकिने थाहा हुँदा पनि सेवा लिन आउने त्यति धेरै छैनन् । हाम्रो क्षेत्रमा जनसंख्या कम भएकोले पनि हुनसक्छ । केही आमाहरुले एकवर्ष अघि सम्म चारपाँच वटा सम्म छोराछोरी जन्माएको मैले देखेको छु । त्यसैले यसको आवश्यकता छैन भन्ने अवस्था चाहीँ हैन ।

    जनप्रतिनिधिबाट पनि प्रचार भएको छ

     रश्मिता आले मगर, अनमी
    स्वास्थ्य चौकी भदौरे, चिशंखुगढी गाउँपालिका ६
    मैले चैतमा तालिम लिएर आएपछि असारमा एकजनाले सेवा लिनुभएको थियो । साउनदेखि यता सात जनाले लिँदा अहिलेसम्म आठ जनाले सुरक्षित गर्भपतनको सेवा लिनुभयो । मैले तालिम लिएर आएपछि यो स्वास्थ्य चौकी सुरक्षित गर्भपतनका लागि सूचीकृत भई पालिकामा दर्ता गरियो । अनि यो दर्ता प्रक्रियासँगै वडा सदस्य सहितका जनप्रतिनिधिहरुलाई जानकारी दिइयो । त्यसपछि यो खबर गाउँमा पुग्यो । हाम्रो स्वास्थ्य चौकीमा अनिइच्छित गर्भ बसेकाहरु आफैले सोध्दै आउने गरेका छन् । तर गर्भवतीको संख्या पहिलेभन्दा घटेको छ । दुईवर्षअघि ३२ जना आमाले प्रसुती गराएकोमा अघिल्लो वर्ष १३ जनाले मात्र प्रसुती गराएका छन् । मान्छेहरु गाउँमा बस्नै छोडे । धेरै मान्छे सहर जान थाले । दुई सन्तान भन्दा बढी बच्चा नजन्माउने र परिवार नियोजनको साधन प्रयोग गर्नेको संख्या धेरै छ । अहिले त गाउँमा धेरैजना बच्चा जन्माउनेको संख्या पाउनै छोडियो ।

    सेवा लिनै कोही आउनुभएन

    दीपा राई अनमी
    स्वास्थ्य चौकी केत्तुके, मानेभन्ज्याङ गापा ४
    म कार्यरत स्वास्थ्य चौकीबाट मैले तालिम लिएर आएको नौ महिनामा बित्यो हाल सम्म एकजनाले पनि सुरक्षित गर्भपतनको सेवा लिनुभएको छैन । तालिम लिएर आएपछि स्वास्थ्य स्वयमसेविका मार्फत सबै टोलहरुमा यो सुविधाको बारेमा जानकारी पुर्‍याउने काम गरियो । तर परिवार नियोजनको सुविधा सहज र व्यवस्थित भएर हो या किन हो कोही पनि अहिले सम्म आउनुभएको छैन । गर्भवतीको संख्या घट्यो पहिले भन्दा । दुई साल अघि २१–२२ जना वर्षमा हुन्थ्यो भने अहिले घटेर वर्षमा ११–१२ जना मात्र गर्भवती नियमित जाँचका लागि आउनुहुन्छ । चालु आर्थिक वर्षमा त ३ जना मात्र गर्भवतीको संख्या देखिएको छ । गाउँघरमा कहीँ कतै तीन चारजना बच्चा भईसकेका आमाहरु पनि भेटेकी छु । तर उनीहरुले रहरले नै बच्चा जन्माईरहेका हुन्छन् । कि छोरी नै छोरी भएकोले छोरा जन्माउने रहरले जन्माएको हुन्छ । उनीहरुलाई गर्भपतन गराउने कुरा हुँदैन ।

    गोप्य हुन्न कि भन्ने डर अझै छ

    लक्ष्मी कार्की, सिअनमी
    स्वास्थ्य चौकी हर्कपुर, मोलुङ गापा ४
    मैले सात वर्षअघि सुरक्षित गर्भपतन सम्बन्धित तालिम लिएकी हुँ । त्यतिबेला औषधीहरु पर्याप्त थियो । त्यतिखेर मैले १४–१५ जनालाई सुरक्षित गर्भपतनको सेवा दिएँ । बिचमा औषधी अभाव थियो । अहिले फेरी औषधी पर्याप्त छ । तर सेवा लिन चाहनेहरु आउनुभएको छैन । गत साल दुईजना आउनुभएको थियो । त्यसपछि कोही पनि सेवा लिन आउनुभएको छैन । गाउँघरमा सुरक्षित गर्भपतन सम्बन्धि चेतना पुगेको छ । तर कतिपयले गोपनीयता रहँदैन कि भन्ने डरले पनि नआएको हो कि जस्तो लाग्छ । हामीले सबै कुरा गोप्य हुन्छ भनेर गर्भपतन गर्नेलाई सेवा दिनु अघि परामर्श दिएका हुन्छौँ तर पनि गाउँघरमा एकले अर्कोलाई सुनाउँछ कि भन्ने डर लाज पनि हो कि । हाम्रो पालिकामा तालिम प्राप्त स्वास्थ्यकर्मीको अभाव भएकोले पनि हुनसक्छ धेरै संख्या नदेखिएको । त्यसमाथी मेडिकल जाने, जिल्ला अस्पताल तिर जाने पनि छन् कि ।

    सायद गर्भपतन सेवा लिनुपर्ने समस्या नै छैन कि

    बिमला कार्की, अनमी
    स्वास्थ्य चौकी रामपुर, मोलुङ गापा २
    मैले तालिम लिएको नौ महिना अवधिमा सेवा लिनका लागि दुईजना आउनुभएको थियो । त्यसमध्ये एकजनाले लिनुभयो । एकजनाको चाहीँ १० हप्ता नाघिसकेको रहेछ । पात्लेतिरको एकजना महिला हुनुहुुँदो रहेछ । चारजना बच्चा भईसकेको रहेछ । उमेर ४० नाघिसक्नुभएको उहाँले गर्भपतन गराउने भनेर आउनुभएको थियो । १० हप्ता नाघिसकेकोले मैले फर्काएँ । हामीले तालिम लिएर आएपछि प्रचारप्रसार राम्रैसँग गरिरहेका छौँ । गाउँघर क्लिनिकमा पनि कुरा गरिरहेका छौँ । जनसंख्या नै थोरै भएको हो कि जस्तो पनि लाग्छ । कतिपयले पहिले मेडिकलबाट औषधी किनेर ल्याएर खाको पनि देखिएको थियो । अहिले त्यस्तो त सुनिएको छैन । सायद परिवार नियोजनको सहज व्यवस्था भएकोले होला । मेडिकलमा औषधी लिँदा त तीन चार हजार लिन्छ । जाँच नगरि औषधी दिन्छ । हामीले त जाँच गरेर निशुल्क औषधी दिन्छौँ तर पनि मान्छे नआउनु भनेको समस्या नपरेकै होला भनेर अनुमान गर्ने हो ।

    बोर्ड नै राखेर सेवाबारे जानकारी गरायौँ

    सुनिता श्रेष्ठ, अनमी
    स्वास्थ्य चौकी पोखरे, चिशंखुगढी गाउँपालिका २
    मैले तालिम लिएर आएँ । महिला स्वास्थ्य स्वयम सेविकासँग छुट्टै बैठक राखेर यो विषयमा जानकारी गराएँ । उहाँहरुसँग समन्वय गरेर काम गरेँ । स्वास्थ्य चौकी व्यवस्थापन समितिसँग बैठक र छलफल भएपछि बढी जानकारी गाउँगाउँमा पुग्यो । तालिम लिएपछि प्रत्येक महिना एकदेखि दुईजना सेवा लिनका लागि आईरहनुभएको छ । अहिले सम्म १२ जनाले सुरक्षित गर्भपतनको सेवा लिइसक्नुभयो । पहिले स्वास्थ्य चौकीबाट यो निशुल्क सेवा नहुँदा स्थानीयले मेडिकलबाट औषधी लिएर खाने गर्नुभएको रहेछ । त्यो संख्या अहिले घट्यो । प्राय सबै त्यस्ता महिलाहरु स्वास्थ्य चौकीमै आईरहनु भएको छ । यो विषयमा चेतना नै कम भएको र यसलाई नकारात्मक रुपमा मात्र लिने गरेकोले हुनसक्छ अन्य स्वास्थ्य चौकीहरुमा पनि सेवा लिनेको संख्या नदेखिएको । हामीले त बोर्ड नै राखेर सबैलाई सेवाबारे जानकारी गराएर सेवा दिईरहेका छौ । सेवा लिन आउने आमाहरु प्राय सबै दुईजना तिन जना बच्चा भएर सन्तानको इच्छा पुगेको तर परिवार नियोजनको साधन प्रयोग नगर्दा अनिच्छित गर्भाधान भएकोहरु हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस