२०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024
बजार क्षेत्रमा कुकुर आतंक

डुलुवा कुकुरको आक्रमणबाट ३ जना विद्यार्थी घाइते, नियमनकारी निकाय उदासिन भएको अभिभावकको आरोप

  • २०८० फागुन ४, शुक्रबार मा प्रकाशित २ महिना अघि
  • ओखलढुंगा-  डुलुवा कुकुरको आक्रमणबाट विद्यालय र क्याम्पसका ३ जना विद्यार्थी गम्भीर घाइते भएका छन् । दुई दिनको बिचमा डुलुवा कुकुरहरुको समुहले फरक फरक फरक ठाउँमा आक्रमण गरी ओखलढुंगा क्याम्पसका २ जना विद्यार्थी गम्भीर घाइते भएका हुन् ।

    त्यस्तै शुभतारा अंग्रेजी स्कूलमा अध्ययनरत एक जना गम्भीर घाइते भएर उपचारका लागि काठमाण्डौं पठाइएको विद्यालयले जनाएको छ ।
    दुई दिन यता सदरमुकाम ओखलढुंगामा कुकुरको समुहले आक्रमण गरेर घाइते बनाउने क्रम बढेको छ । ओखलढुंगा क्याम्पसमा स्नातक तहमा अध्ययन गर्ने दुई जना विद्यार्थीहरुलाई क्याम्पस आउने क्रममा बजार क्षेत्रमा कुकुरले आक्रमण गरेर घाइते बनाएको निमित्त क्याम्पस प्रमुख तोयानाथ काफ्लेले जानकारी दिए ।

    दुवै जना विद्यार्थीहरुलाई प्राथमिक उपचारपछि टेकुमा उपचारका लागि पठाइएको छ ।यस अघि फागुन २ गते पनि ओखलढुंगा क्याम्पस परिसरमा दुई जना विद्यार्थीहरुमाथि कुकुरले आक्रमण गरेको थियो । त्यस बेला विद्यार्थीहरु भागेर जोगिएका थिए । बजार क्षेत्रमा साँझ बिहान हिडडुल गर्न समेत कुकुरका समुहका कारण समस्या हुन थालेको छ । क्याम्पसको विहानी शत्रका कक्षाहरु कुकुर आतंकका कारण सञ्चालन गर्न नसकिने अवस्था आउन लागेको निमित्त प्रमुख काफ्लेले जनाए ।

    कुकुर नियन्त्रणका लागि क्याम्पसले नगरपालिका तथा जिल्ला प्रशासन कार्यालयमा दुईपटक अनुरोध गरेर पत्राचार गरिसकेको जनाएको छ । डुलुवा कुकुरको समुह पहिचान गरेर नियन्त्रण गर्न सरकारी निकायले भने प्रभावकारी कदम नचालेको अभिभावकहरुको गुनासो छ । विद्यालय र क्याम्पस आउने बालबालिका बाटोमै असुरक्षित हुने अवस्था आए पनि सरकारी निकायले ध्यान दिन नसकेको उनीहरुको आरोप छ ।

    ‘दुई दिनका बिचमा तीन जना बालबालिका गम्भीर घाइते भइसके, सरकारी निकाय के हेरेर बसेका छन् ? पशु अधिकारको कुरा गर्नेले मान्छेको अधिकार किन नबुझेको ?’ स्थानीय गोरखबहादुर राईले आक्रोस पोखे । यता सिद्धिचरण नगरपालिकाका पशु शाखाका प्रमुख कृष्णबहादुर कार्कीले डुलुवा कुकुर नियन्त्रणमा लिएर रेविज विरुद्धको खोप लगाउने काम थालिएको जनाए ।

    उनले शुक्रबार मात्रै १५ कुकुरलाई खोप लगाइएको र अन्य कुकुर पहिचान गरेर खोप लगाउने बताए । कुकुर नियन्त्रणका लागि नगर प्रहरी र जिल्ला प्रहरी कार्यालयसँग समेत सहकार्यमा काम भइरहेको कार्कीले दावी गरे । बजार क्षेत्रमा घरमा पालेका कुकुर पनि छाडा छाेड्ने र डुलुवा कुकुर पनि स‌ँगै हुने भएकाले पहिचान गर्न कठिन छ ।

    नगरपालिकाले माइकिङ गरेर  घरमा पालेका कुकुर छाडा नछाेड्न र डुलुवा कुकुर नियन्त्रणमा  सहयाेग गर्न अपिल गरेकाे छ । कुकुरकाे टाेकाइबाट संक्रामक राेग रेविजकाे जाेखिम हुन्छ । रेविजका भाइरसहरु मस्तिष्कसम्म संक्रमण गर्न पुगेपछि मान्छेकाे ज्यानै जाने डाक्टरहरुकाे भनाइ छ । कुकुर वा जंगली जनावरले टाेक्नासाथ सफा पानी र सावुनले घाउ सफा गर्ने अस्पताल जान उनीहरुकाे सुझाव छ ।

    ग्लोबल अलायन्स फर रेबिज कन्ट्रोलका अनुसार प्रतिवर्ष विश्वमा ५९,००० मानिसको रेबिजका कारण ज्यान जाने गरेको छ। त्यीमध्ये ४० प्रतिशत बालबालिका हुने गर्छन्। नेपालमा १०० जनाले बर्षेनी ज्यान गुमाउँछन् । ओखलढुंगामा पनि वर्षेनी शंकास्पद कुकुरहरुकाे आक्रमणबाट मानिसहरु घाइते हुने गरेका छन् । समान्य उपचार बाहेक जिल्लामा यसरी हुने टाेकाइकाे उपचार हुँदैन ।

    प्रतिक्रिया दिनुहोस