२०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024

प्रधानमन्त्रीलाई एमालेले खाली चेक दिएको छ, भर्ने काम उहाँको हो : उपमहासचिव ज्ञवाली

  • २०८० चैत्र ३, शनिबार मा प्रकाशित १ महिना अघि
  • ओखलढुंगा-  नेकपा एमालेका उपमहासचिव तथा पूर्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले देश असफल हुन नदिन विकल्प खोजिएको दाबी गरेका छन् । नेकपा एमालेको स्कूल विभागले आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टीभित्र नयाँ गठबन्धन ठिक कि प्रतिपक्षमा बसेर मिसन ८४ चलाउने भन्ने बहसपछि विकल्प रोजिएको बताएका हुन् ।

    मुलुक आर्थिक र राजनीतिक हिसाबले असफल बन्ने बाटोमा गएको, वैदेशिक हस्तक्षेपले सीमा नाघेकाले एमालेले २०८४ कुर्न नसकेको बताए । एमालेको बलमा प्रधानमन्त्री बनेका प्रचण्ड केही समय कांग्रेससँग कुम जोड्न पुगेपनि राष्ट्रिय राजनीतिको मियो एमाले नै हो भन्ने निष्कर्षमा पुगेपछि नयाँ गठबन्धन बनेको ज्ञवालीको भनाई छ ।

    नेकपा एमालेको प्रशिक्षण कार्यक्रममा सहभागी ज्ञावली लगायतका नेताहरु । तस्बिर : शिवप्रसाद ढुंगाना

    उपमहासचिव ज्ञवालीले देश बन्छ भन्ने आत्म विश्वास टुट्न नदिन राष्ट्रिय हित विपरित बनेको गठबन्धन भत्काएर प्रगतिशिल गठबन्धन बनाएको दाबी गरे । उनले भने ‘भीरमा खसेको गाडी टुचानले तानेर सडकमा ल्याइएको छ, मर्मत गरेर चलाउने काम हुँदैछ ।’

    उनले कार्यकर्ताहरुलाई वाम एकता भन्दै भावनामा नबग्न पनि सचेत गराए । उनले माथि धेरै टाउका जोडेर बहुमत नआउने, बहुमत ल्याउन संगठन बलियो चाहिने भएकाले त्यसतर्फ लाग्न निर्देशन दिए । ‘अहिले गठबन्धन बनाएर केही राम्रा काम गर्ने प्रयास भइरहेको छ, सुशासन, आर्थिक संकट समाधान र राष्ट्रियतालाई प्रथामिकतामा राखेर काम गर्न प्रधानमन्त्रीलाई सहयोग पुग्ने गरि एमालेले काम गर्छ ।’

    प्रभावशाली मन्त्रालय छाडेको प्रसंग निकाल्दै ज्ञवालीले प्रधानमन्त्रीलाई देश र जनताको हितमा काम गर्न एमालेले खाली चेक दिएको टिप्पणी गरे । उनले भने, ‘प्रधानमन्त्रीलाई खाली चेक दिएर एमालेले सहयोग गरेको छ, भर्ने काम उहाँको हो ।’

    प्रतिक्रिया दिनुहोस