२०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024

रमितैरमितामा रम्ने राष्ट्रपति

  • २०७७ अषाढ ११, बिहिबार मा प्रकाशित ३ साल अघि
  • @राजेन्द्र स्थापित

    ब्रिटिश उपनिवेशबाट स्वतन्त्रता हासिल गरेपछि जर्ज वासिङटन अमेरिकाको पहिलो राष्ट्रपति बने । उनीपछि क्रमशः जोन एडम्स, थोमस जेफर्सन, जेम्स माडिसन र जेम्स मुनरोले सो पद सम्हाले । सन् १८२४ मा छैटौं राष्ट्रपतिका लागि निर्वाचनको घोषणा भयो । जसमा जेम्स क्विन्से एडम्स, एन्ड्रयु ज्याक्सन, विलियम क्रफोर्ड र हेनरी क्ले खडा भए । त्यसबेला अमेरिकामा २४ राज्य थिए । एडम्सले १३ राज्यमा जित हात पारे र सन् १८२५ को मार्च ४ मा शपथ लिए । उनी अमेरिकाको प्रथम राष्ट्रपति हुन्, संविधान–पुस्तक छोएर शपथ लिने । नत्र त्यहाँ बाइबल छोएर शपथ लिने चलन थियो ।

    जेम्स क्विन्से एडम्स दोस्रा राष्ट्रपति जेम्स एडम्सका ज्येष्ठ पुत्र हुन् । पेशाले वकिल । पहिला बाबुजस्तै फेडरलिष्ट पार्टीमा थिए, पछि डेमोक्रेटिक रिपब्लिकनतिर लागे र चुनाव जिते । ३० वर्षको उमेरमा सन् १७९७ मा लुइसा जोहन्सनसित बिहे गरेका उनी तीन छोरा र एक छोरीको पिता बने । राष्ट्रपति बन्दा ५८ वर्षको भइसकेका थिए । बिहान ४ बजे उठ्थे र स्नान गर्न घरबाट निस्कन्थे । यो बानी ह्वाइट हाउसमा कार्यरत दुई–चार जनालाई मात्र थाहा थियो । त्यसबेला आजजस्तो आतंक र असुरक्षाको भय थिएन । त्यसैले नुहाउन एक्लै जान्थे । सूर्यास्त हुनुपूर्व ह्वाइट हाउस फर्किन्थे ।

    पोटोम्याक नदी नजिकै थियो । एडम्स हरेक बिहान त्यतै पुग्थे । सम्पूर्ण लुगा फुकालेर एउटा ढुंगामा राख्थे र पानीभित्र छिर्थे । ढुंगा नदीभन्दा अलि पर थियो । त्यसैले नुहाएर ढुंगा भएको स्थानसम्म निर्वस्त्र अवस्थामा पैदलै पुग्थे । निर्वस्त्र पैदल हिँड्नुपरेका कारण उनी धेरैपटक समस्यामा परे तर नानीदेखिको बानी छोड्न सकेनन् ।

    सन् १८२५ जुलाई २२ को दिन राष्ट्रपतिको कार्यकाल पाँचौं महिना चलिरहेको थियो । सधैंजसो नदीतर्फ गई पानीमा एक घण्टा बिताए । लुगा फुकालेर राखेको स्थानतर्फ निर्वस्त्र गए । ढुंगामा पुगेर अक्क न बक्क परे किनकि नजिकै केही मानिस उभिएर एक टकले नदीलाई नियालिरहेका थिए । एडम्सलाई के गरुँ, कसो गरुँ भयो । त्यहाँ उभिएका मानिसहरुले निर्वस्त्र देखे भने ठूलो बद्नाम हुने डर । एडम्स एकछिन उभिए र सुस्त पाइला चालेर अलि नजिक पुगी उनीहरुको कुराकानी सुन्ने प्रयास गरे । एकजना साथी नदीमा डुबेको हुँदा उनीहरु त्यही साथीलाई खोज्न आएका रहेछन् ।

    त्यत्तिकैमा एउटा लास नजिकबाट बगिरहेको देखेर एडम्स हडबडाए । झिसमिसेमा लास भयंकर डरलाग्दो देखिएको थियो । त्यो देखेर एडम्स चिच्याउन खोजे तर जसोतसो आफूलाई नियन्त्रणमा लिए । यसबीच संयोगवस एकजनाले त्यो लास देखे । उनले गरेको संकेततिर सबै दौडिए । एडम्सले यो मौका गुमाउन चाहेनन् । लामो पाइला चालेर ढुंगासम्म पुगे र हतार हतार लुगा लगाए अनि पूरा लुगा नलगाइकनै कुलेलम ठोके । दिनभरि मुड खराब भयो । काम पनि समयमा गर्न सकेनन् । पानीमा धेरै खेलेका कारण केही दिन स्वास्थ्य पनि खराब भयो । उनले डायरीमा लेखे, ‘जुलाइ २२ को घटना अविष्मरणीय हुने भयो १’

    त्यो दिन ‘आइन्दा निर्वस्त्र नुहाउन छोड्नुप¥यो’ भन्ने विचार गरे तर भोलिपल्ट पुनः निर्वस्त्र नुहाउन थाले । त्यो दिनको घटनाबारे कसैलाई नभनेका कारण उनको बानी सर्वसाधारणले थाहा पाउन सकेनन् । अर्कोपटक पनि त्यस्तै घटना घट्यो । नुहाएर निस्कँदा फुकालेर राखेको लुगा थिएन । उनले दिक्क मानेर यताउति दृष्टि दौडाए । १५–२० मिनेट खोजेपछि एक ठाउँमा लुगा भेट्टाए तर त्यो पनि सबै होइन । फेला परेका लुगामा दाँतको निशान थियो । यो घटनापछि पनि धेरैपटक सानातिना यस्ता घटना घटे तर आफ्नो बानी त्याग्न सकेनन् ।

    एकपटक एउटी चुलबुले पत्रकार एनी रोयलले राष्ट्रपति एडम्सको अन्तर्वार्ता लिन चाहिन् । धेरैपटक कोशिश गरिन् तर एडम्सले समय दिएनन् । एनी एडम्सको पछि लागिन् । ह्वाइट हाउसमार्फत एडम्सको नुहाउने समयबारे पत्ता लगाइन् । भोलिपल्ट बिहानै पोटोम्याक नदीमा पुगिन् । एडम्स लुगा फुकालेर पानीभित्र गइसकेका थिए । एनीले एडम्सको लुगा आफ्नो नियन्त्रणमा लिइन् । एडम्स सधैंझैं नुहाइधुवाइ गरिसकेपछि लुगा लगाउन अघि बढ्दा आफ्नो लुगा च्यापेर बसेकी ऐनीलाई देखेपछि लाजले भुतुक्क भए । एडम्सले लुगा दिन आग्रह गरे तर एनीले आफ्ना प्रश्नहरुको उत्तर दिएपछि मात्र दिने अडान राखिन् । अन्त्यमा निर्वस्त्र अवस्थामै ऐनीले सोधेका प्रश्नको उत्तर दिन विवश भए । सम्पूर्ण प्रश्नको उत्तर पाएपछि मात्र एनीले लुगा फर्काइन् ।

    धन्न त्यसबेला क्यामेराको चलन आइसकेको थिएन, त्यसैले पत्रकार एनीले अन्तर्वार्ता छाप्नेक्रममा राष्ट्रपति एडम्सको त्यस अवस्थाको फोटो छाप्न सकिनन् तर निर्वस्त्र नुहाउने अचम्मको बानी–व्यहोराबारे सविस्तार लेख्न भ्याइन् । एडम्सको चाहनाविपरीत यो खबर संसारभरि फैलियो । एनी रातारात चर्चित बनिन् ।

    राष्ट्रपति एडम्स समाचार छापिएको दिनभरि तनावमा रहे । राति सुत्न सकेनन् र डायरीमा यस्तो लेखे, ‘गल्ती ती पत्रकारको होइन । प्रत्येक मानिस अरुको विवशताको फाइदा उठाउन उद्यत रहेकै हुन्छन् । उसले पनि त्यसै गरी । बरु मैले नै आफ्नो बानी सुधार्नु आवश्यक छ । जसबाट भविष्यमा यसरी लज्जित हुनु नपरोस् ।’

    सन् १८२८ मा पुनः राष्ट्रपतिको निर्वाचन भयो । अघिल्लोपटक पराजित उनै एन्ड्रयु ज्याक्सनले उनलाई नराम्रोसँग पराजित गरिदिए । उनी प्रतिनिधिसभामा भने सन् १८४८ सम्मै रहे । ज्याक्सनविरोधी ‘एन्टी मेसोनिक पार्टी’ खोलेर राजनीति गर्दै गए । उनको निधन ८० वर्षको उमेरमा सन् १८४८ को फेबु्रअरी २३ मा भयो ।

    जेम्स मेडिसन थोमस जेफर्सनपछिका राष्ट्रपति हुन् । चौथो राष्ट्रपति । अमेरिकी संविधानको मस्यौदा र त्यसलाई पारित गर्न अहम् भूमिका खेलेकाले उनलाई अमेरिकीहरु ‘संविधानको पिता’ भन्ने गर्छन् । ४३ वर्षको उमेरमा २६ वर्षीया विधवा डोली पायने टोडसित बिहे गरे । डोलीका श्रमिान जोन टोडको निधन अघिल्लो वर्ष मात्र भएको थियो । विधवा डोलीसँग भेट भएलगत्तै मन पराए र चार महिनापछि बिहे गरे । त्यसबेला अमेरिकामा जण्डिसको प्रकोप थियो । डोलीलाई पनि त्यसले सतायो । जण्डिसबाट ग्रस्त महिलासँग घरबार जोड्दा आलोचना हुने डरले गोप्यरुपमा बिहे गरे । समारोहमा दुवैतर्फका दुई–चार जनाको मात्रै उपस्थिति थियो । बिहेपछि डोली र जोनका छोरा जोन जुनियरलाई जेम्सले छोराको रुपमा स्वीकारे ।

    जेम्स निकै पढन्ते थिए । संविधान मस्यौदाताका थोमस जेफर्सन फ्रान्स गएका थिए । उनले त्यहाँबाट जेम्सका लागि दुई सयवटा पुस्तक ल्याइदिए । जेम्स निबन्ध वाचन गर्न र जो कसैसँग बहसमा उत्रन रुचाउँथे । डोलीसँग बिहे गर्नुअगाडि ३१ वर्षको उमेरमा कम उमेरकी युवती किट्टी फ्लोइडसँग प्रेम गरे । दुवैका परिवारले उक्साए तर बिहे भएन । त्यसपछि फेरि चिकित्साविज्ञान अध्ययनरत १९ वर्षकी छात्रासँग प्रेम गरे । त्यो प्रेम पनि सफल भएन । किट्टीसित गर्दैको समयमा उनी सांसद बनिसकेका थिए । अन्त्यमा ४३ वर्षका उनको २६ वर्षीया डोलीसँग बिहे भयो ।

    जेम्स आइसक्रिम खान खुब मन पराउँथे । पत्नी डोली पनि आइसक्रिम भनेपछि हुरुक्कै हुन्थिन् । जेम्सको भर्जिनिया राज्यमा २ हजार ६ सय ५० एकड जमिनमा कृषि फार्म थियो । त्यहाँ जेम्सले गर्मीको बिदा मनाउन दुईतले भवन बनाउन लगाएका थिए । उक्त घरमा ठूलो मात्रामा आइसक्रिम बन्थ्यो । गर्मीयामभरि पुग्ने गरी । गर्मी बिदामा जेम्स दम्पती दैनिक आइसक्रिम र अन्य चिसो पेय पदार्थ खाएर बस्थे । ह्वाइट हाउसमा हुने औपचारिक रात्रिभोजमा पनि दुवै जनालाई आइसक्रिम नभई हुन्नथ्यो । दुवैले ठूलो कचौराभरि आइसक्रिम खान्थे । यस्ता भोजमा दुवैको अर्को रुचि स्याम्पेन पिउनु हुन्थ्यो । भोलिपल्ट ह्वाइट हाउसका कर्मचारी स्याम्पेनका बोतल बटुल्दै हैरान हुन्थे । त्यसो त त्यहाँका प्रथम राष्ट्रपति जर्ज वासिङटन पनि आइसक्रिमका शोखिन थिए ।

    जाचारी टेलर पनि अमेरिकी राष्ट्रपति हुन् । धेरैले नाउँ नसुनेका राष्ट्रपति । सेनामा मेजर जनरलसम्म भइसकेका । सन् १८१२ मा ब्रिटेनसितको युद्धमा लडे । पछि मेक्सिको–अमेरिकाबीचको युद्धमा बहादुरी देखाएबापत जनतामाझ चर्चित बने । सन् १८४८ मा सम्पन्न निर्वाचन जितेर १२ औं राष्ट्रपति बने । उनी राष्ट्रपतिभन्दा पनि युद्ध हिरोकै कारण चिनिन्छन् । राष्ट्रपति बनेपछि ह्वाइट हाउसमा बस्न गए । त्यहाँ ‘सेतो घोडा’ पालेका थिए । त्यसलाई अत्यन्तै माया गर्थे । धेरैपटक ह्वाइट हाउस आउने पाहुनाहरुले चौरमा चरिरहेको त्यो घोडाको पुच्छरबाट एउटा रौं उखेलेर दिन आग्रह गर्दा ‘नाइँ’ भनेनन् । उनी आफ्नै प्यारो घोडाको रौं भुत्ल्याउ“थे । पाहुनाहरु सो घोडाको रौं ह्वाइट हाउसको चिनोको रुपमा लान खोज्थे । ७५ वर्षको उमेरमा राष्ट्रपतिमा निर्वाचित उनको निधन ह्वाइट हाउसमै भयो । १६ महिना मात्र राष्ट्रपति हुन पाए ।

    @जनआस्थाबाट साभार

    प्रतिक्रिया दिनुहोस