२०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024

लकडाउनमा बढ्यो साइबर अपराध

  • २०७७ अषाढ १३, शनिबार मा प्रकाशित ३ साल अघि
  • काठमाडौं- कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन गरिएको लकडाउनको अवधिमा साइबर अपराध भने बढेको पाइएको छ । यो अवधिमा सामाजिक सञ्जालको दुरुपयोगसँग सम्बन्धित उजुरी बढेको नेपाल प्रहरीको साइबर ब्यूरोका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) नविन्द अर्यालले बताए ।

    शुक्रबार प्रतिनिधिभाको विकास तथा प्रविधि समतिमा अर्यालले जानकारी दिएअनुसार चैत महिनामा मात्र साइबर अपराधसम्बन्धी १५३ वटा उजुरी दर्ता भएका छन् । वैशाख महिनामा २३२ र जेठ महिनामा २३४ वटा उजुरी दर्ता भए भने असार महिना (१२ गते)सम्ममा ११४ वटा उजुरी दर्ता भएका छन् ।

    यसरी हेर्दा लकडाउन अवधिमा मात्र साइबर अपराधसम्बन्धी ७३३ वटा उजुरी साइबर ब्यूरोमा परेको देखिन्छ । साइबर ब्यूरोका वरिष्ठ प्रहरी उपरीक्षक नविन्द अर्यालका अनुसार बढी उजुरी सामाजिक सञ्जालको दुरुपयोगसँग सम्बन्धित छन् ।

    उनकाअनुसार चालु आर्थिक वर्ष २०७६/०७७ को हालसम्म २०४८ वटा साइबर अपराध सम्बन्धी उजुरी परेका छन् । यो अघिल्लो वर्षको भन्दा ५११ बढी हो । अघिल्लो आवमा साइबर अपराधसम्बन्धी १४९६ वटा उजुरी परेक थिए ।

    फुर्सदिलो समयले पनि बढायो अपराध

    अर्याल र समितिको बैठकमा उपस्थित सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयका निमित्त सचिव राधिका अर्यालले अपराध बढ्नुको मुख्य कारण फुर्सदिलो समय, सामाजिक सञ्जाल प्रयोगकर्ताको असावधानी लगायत भएको बताएका छन् ।

    ‘जुनसुकै साइटमा पनि क्लिक गर्ने प्रवृतिले अपराध बढेको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताको कमजोर पासवर्ड व्यवस्थापन अर्को कारण हो’ निमित्त सचिव अर्यालले भनिन् । यद्यपि साइबर सुरक्षाका लागि सरकारले काम गरिरहेको उनको दाबी छ ।

    साइबर सेक्युरिटी अडिट सिस्टम सञ्चालन गरेको, राष्ट्रिय सूचना प्रविधि आकस्मिक सहायता समूह तथा राष्ट्रिय साइबर सुरक्षा हार्डवेरहरुको निरन्तर निगरानी भइरहेको र सरकारी वेबसाइट निर्माण तथा सञ्चालन सम्बन्धी निर्देशिका समयानुकुल अध्यावधिकको क्रममा रहेको उनले जानकारी दिइन् । @Onlinekhabar

    प्रतिक्रिया दिनुहोस