२०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024

को हुन् मदन भण्डारी, के हो जवज ?

  • २०७७ अषाढ १४, आईतबार मा प्रकाशित ३ साल अघि
  • ‌‍‍शिवप्रसाद ढुंगाना/ ओखलढुंगा-  जनताको बहुदलीय जनवाद विचारका प्रतिपादक तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारीको जन्मजयन्ती देशभर विभिन्न कार्यक्रम गरि मनाइएको छ । मदन भण्डारी फाउन्डेशनले कार्यक्रम आयोजना गरेको हो । यस क्रममा सदरमुकाम ओखलढुंगास्थित श्रष्टापार्कमा वृक्षा रोपण तथा सामुदायिक अस्पताल सोब्रुमा विरामीहरुलाई फलफुल वितरण गरेर दिवस मनाएको हो ।
    भण्डारीको योगदानको नेकपाका नेता तथा शिक्षाविद्हरुले चर्चा गरेका थिए । ओखलढुंगा क्याम्पसका क्याम्पस प्रमुख सुमन राजभण्डारी, सिद्धिचरण नगरपालिका वडा नं. १ का वडा अध्यक्ष केदारबाबु वस्नेत, नेकपाका नेता नेत्र भट्टराई, सिद्धिचरणका मेयर तथा नेकपाका सचिव मोहनकुमार श्रेष्ठ लगायतले भण्डारीको योगदानबारे चर्चा गरे ।

    जिल्लामा मदन भण्डारीको स्मृतिमा मदन भण्डारी फाउन्डेसनको शाखा स्थापना भएको छ । शाखाको भवन निर्माण गर्ने तयारी गरिएको शाखाकी अध्यक्ष ईच्छाकुमारी गुरुङले बताइन् । प्रदेश सरकारले ३० लाख बजेट उपलब्ध गराएको उनको भनाइ छ ।

    को हुन्, मदन भण्डारी ?

    भण्डारीको स्मरणमा एक मिनेट मौन धारण, उनको योगदानको चर्चा तथा वृक्षा रोपण र फलफुल वितरण गरेर दिवस मनाइएको फाउन्डेसनका रुपेश शाक्यले बताए । २००९ साल जेठ १४ गते ताप्लेजुङमा जन्मिएका भण्डारी ३९ वर्षको उमेरमा नेकपा माले हुँदै एमालेको महासचिव बनेका थिए । उनले २०४९ सालको महाधिवेशनमा नेपाली क्रान्तिको कार्यक्रम जनताको बहुदलीय जनवाद (जवज) प्रतिपादन गरे । यसैलाई एमालेले आफ्नो मार्गदशक सिद्धिान्तका रुपमा मानेको थियो ।

    के हो जनताको वहुदलीय जनवाद ?

    अहिले एमाले र माओवादीको एकिकरण पछि बनेको नेकपाले जनताको जनवाद मार्गदर्शक सिद्धान्त भने पनि जवजका अधिकांश विशेषताका आधारमा वर्तमान राजनीतिक व्यवस्था सञ्चालन हुँदै आएको छ । जबज क्रान्तिको सिद्धान्त हो र क्रान्ति पश्चात् निर्माणको ब्यापक कार्यक्रम हो । बन्दुकको नालबाट होइन शान्तिपुर्ण जनक्रान्तिको माध्यमबाट नै जनबादी राज्यसत्ता प्राप्त गर्न सकिन्छ भन्ने जबजको आधारभूत सैद्धान्तिक मार्ग हो । जननेता मदन भण्डारी द्वारा प्रतिपादित जनताको बहुदलीय जनबादका १४ विशेषताहरु यसप्रकार रहेका छन्ः
    १. संविधानको सर्वोच्चताः कुनै पनि वर्ग, व्यक्ति, संस्था वा पार्टी संविधानभन्दा माथि हुन सक्दैन । संविधान सबैको निम्ति अनुल्लंघनीय हुनुपर्दछ । समाजको निरन्तर प्रगतिलाई संविधानले निकास दिन सक्नुपर्दछ ।
    २. बहुलवादी खुला समाजः प्रत्येक व्यक्तिलाई जनता र राष्ट्रको निम्ति सोच्ने, बोल्ने तथा आफ्ना अनुभूतिहरू भिव्यक्त गर्ने स्वतन्त्रता हुनुपर्दछ । बाहिरी दुनियाबाट अलग, बन्द र एकोहोरो समाज हुनुहुँदैन ।

    ३. शक्ति पृथकीकरणको सिद्धान्तः शक्ति व्यक्तिको हातमा मात्र होइन संस्थाको हातमा पनि अति केन्द्रिकरण हुनुहुँदैन । एउटै संस्था कार्यकारी, विधायकी र न्यायिक अधिकार प्रयोग गर्ने केन्द्रीय शक्ति हुनुहुँदैन ।
    ४. मानवअधिकारको रक्षाः साँचो अर्थमा कम्युनिष्टहरू नै मानव अधिकारको सबभन्दा दृढ योद्धा हुन् र हुनसक्छन्। मानव अधिकारको रक्षा कम्युनिष्ट आन्दोलनको महत्वपूर्ण तत्व हो र हुनुपर्दछ ।
    ५. बहुदलीय प्रतिस्पर्धा प्रणाली: राज्य र त्यसका राजकीय निकायहरू सम्पूर्ण जनताको चासो र सरोकारका विषय हुन् । त्यसमा एउटा मात्र पार्टीको एकाधिकार हुनुहुँदैन । वर्गीय विविधता भएको समाजमा अनेकन राजनीतिक पार्टीहरू हुन सक्दछन् । तिनलाई संविधान बमोजिम राजनीतिक प्रतिष्पर्धा गर्ने स्वतन्त्रता दिनुपर्दछ ।
    ६. आवधिक निर्वाचन: जनताले एकपटक गरेको निर्णय संधैको निम्ति शाश्वत हुन सक्दैनन् । निर्वाचन–विचार, कार्यक्रम र नीतिहरूको आधारमा निश्चित अवधिमा हुनुपर्दछ । एउटै नीति र कार्यक्रम भित्र व्यक्ति मात्र रोज्न पाउने व्यवस्था सारतत्वमा लोकतान्त्रिक हुन सक्दैन ।

    ७. बहुमतको सरकार र अल्पमतको विपक्ष: बहुदलीय पद्धतिको मूल तत्व संगठित प्रतिष्पर्धा हो । अर्को मूल तत्व बहुमतको सरकार र अल्पमतको विपक्ष हुने संवैधानिक व्यवस्था हो । सरकारको विपक्षमा वैधानिक रूपमा काम गर्न पाउने प्रणाली लोकतान्त्रिक प्रणाली हो ।
    ८. कानूनको शासन: कुनै पनि व्यक्तिमाथि कानून अनुसार अधिकार प्राप्त निकायको औपचारिक निर्णयबाट मात्र दण्डित गर्न सकिने व्यवस्था । सरकार र शक्ति हातमा भएको कुनै पनि निकाय वा व्यक्तिले स्वेच्छाचारी ढंगले काम गर्न पाउने छैनन् र ती सबै प्रचलित कानून अनुसार गरिने छन् ।
    ९. जनताको जनवादी व्यवस्थाको सुदृढीकरणः जनताको जनवादी व्यवस्था अपेक्षाकृत लामो समयसम्म रहने सामाजिक व्यवस्था भएको हुनाले यसलाई चरणवद्ध रूपमा अगाडि बढाइने छ ।
    पहिलो चरणः पुरानो व्यवस्थाका शोषणका अवशेषहरू सबै क्षेत्रबाट अन्त्य गर्ने काममा केन्द्रित भएर लाग्ने ।
    दोश्रो चरणः नयाँ उत्पादन सम्बन्धको आधारमा समाजका सबै क्षेत्रमा भौतिक र सांस्कृतिक दुवै हिसाबले विकास गर्ने कुरामा केन्द्रित भएर लाग्ने ।
    तेश्रो चरणः समाजवादमा संक्रमणको निम्ति केन्द्रित भएर भौतिक तथा सांस्कृतिक तयारी गर्ने ।
    १०. विदेशी पूजी र प्रविधि: वैदेशिक पूँजी र प्रविधिको सवालमा नीतिगत रूपमा ढोका बन्द गरिने छैन । संविधान र ऐन कानूनको सिमाभित्र राष्ट्रिय हितलाई ख्याल राखेर वैदेशिक पूँजी र प्रविधिको लगानी, संरक्षण र उपयोग गरिने छ ।
    ११. क्षतिपूर्ति: नयाँ समाजको निर्माणमा सकारात्मक योगदान गर्न नचाहने र त्यसको विरोध र ध्वंसमा लाग्ने सामन्ती जमिन्दार बाहेक अरूलाई जमिनको क्षतिपूर्ति दिइने छ । क्षतिपूर्तिलाई उद्योग, व्यापार र व्यवसायतर्फ स्थानान्तरित गराउने नीति लिइने छ ।
    १२. विदेश नीति: पञ्चशिलको सिद्धान्त अनुरूप वैदेशिक सम्बन्ध कायम गरिने । आफ्नै प्रत्यक्ष पहलबाट अन्तर्राष्ट्रिय समर्थन जुटाउने । क्रान्ति र निर्माणको ठोस व्यवहारिक विषयलाई बेवास्ता गरेर केवल सैद्धान्तिक आग्रहबाट मात्र वैदेशिक नीति निरुपित नहुने ।
    १३. नेतृत्व र अधिनायकत्व: सेवा, पहलकदमी र प्रतिष्पर्धाद्वारा नेतृत्व प्राप्त गर्ने । अधिनायकत्व शव्दको सट्टा आम रूपमा जनताको जनवादी राज्यसत्ता शव्दको प्रयोग गर्ने
    १४. जनताको बहुदलीय जनवाद: नेपाली सन्दर्भको नयाँ जनवाद हो । नयाँ जनवादी क्रान्तिको सारतत्व र यस कार्यक्रममा थप १४ विशेषतालाई व्यक्त गर्ने गरि जनताको बहुदलीय जनवाद नामाकरण गरिएको हो ।

    प्रतिक्रिया दिनुहोस