२०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024

कोरोनाबाट मृत्यु हुने नेपालीको संख्या २००

तस्वीर: सामाजिक सञ्जाल ।
  • २०७७ श्रावण ४, आईतबार मा प्रकाशित ३ साल अघि
  • काठमाडौं- कोरोना भाइरस संक्रमणको महामारीका कारण विदेशमा यो साता थप १६ जना नेपालीको निधन भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) ले जनाएको छ । यससँगै विश्वभर कोरोनाबाट मृत्यु हुने नेपालीहरुको संख्या दुई सय पुगेको छ ।

    गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा. संजीव सापकोटाका अनुसार यो साता कतारमा ८ जना, कुवेतमा ३ जना, युएईमा ५ जनाको मृत्यु भएको छ ।

    समितिका अनुसार २० देशमा रहेका नेपालीहरु पूर्णरुपमा कोरोना मुक्त भएका छन् । संघका अनुसार जम्मा कोराना संक्रमितमध्ये ९३ प्रतिशत नेपालीहरु कोरोना संक्रमणबाट मुक्त भएका छन् । अफ्रिकी मुलुकमा कोरोना भाइरसबाट संक्रमित नेपालीमध्ये सबैजना कोरोना भाइरसबाट मुक्त भएका छन् ।

    विदेशमा ३० हजार ५ सय ७१ जनामध्ये २८ हजार ६ सय ८१ जना नेपाली संक्रमण मुक्त भएको गैरआवासीय नेपाली संघले जनाएको छ ।

    गैरआवासीय नेपाली संघ, नेपाल सरकार र कूटनीतिक निकायको पहलमा विभिन्न २५ मुलुकबाट २९ हजार ७ सय ८० जना नेपालीको उद्धार भएको छ ।

    यस्तै मलेसिया, साउदी, कतार, युएई, कुवेत, बहराइन, ओमान, दक्षिण कोरिया लगायतका देशबाट यो अवधिमा १ सय ७२ वटा शव नेपाल ल्याएर परिवारलाई बुझाइएको छ । विदेशमा विभिन्न कारण ज्यान गुमाएका ४ सय ३४ जनामध्ये १ सय ५६ जनाको परिवारको सहमतिमा गन्तव्य मुलुकमा अन्त्येष्टि गरिएको छ । विदेशबाट अझै १ सय ७ वटा शव नेपाल ल्याउन बाँकी रहेको बताइएकाे छ । -अनलाइनखबर

    प्रतिक्रिया दिनुहोस