२०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024

विदेशमा नेपाली कामदार: ३१ हजार फर्किए, ५० हजारभन्दा बढी प्रतिक्षामा

  • २०७७ श्रावण ४, आईतबार मा प्रकाशित ३ साल अघि
  • काठमाडौं- सरकारले चार्टर्ड उडान सुरु गरेयता हवाईमार्गबाट झण्डै ३१ हजार नेपाली स्वदेश फर्किएका छन् । सरकारको अनुमानमा अझै ५० हजार नेपाली स्वदेश फर्काइहाल्नुपर्ने अवस्थामा छन् ।

    नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सलाई चार्टर्ड उडानको जिम्मा दिइएको छ । केही दूतावासहरुले सम्बन्धित देशको विमानमार्फत पनि नेपालीलाई फर्काएका छन् भने कुवेतले आफ्नै खर्चमा जजिरा एयरलाइन्समार्फत आममाफी पाएर क्याम्पमा बसिरहेका नेपाली श्रमिक फर्काइरहेको छ ।

    अहिलेसम्म करिब २९ हजार नेपाली आफ्नै खर्चमा स्वदेश फर्किएका हुन् भने कुवेतले २ हजारभन्दा बढी नेपालीलाई उसकै खर्चमा फिर्ता ल्याइदिएको छ । सरकारले जेठ २३ गतेबाट ‘उद्धार उडान’ सुरु गरेको थियो ।

    सरकारी तथ्यांकअनुसार १९९ वटा फ्लाइटबाट ३० हजार ९४० नेपाली स्वदेश फर्किएका छन् । सबैभन्दा धेरै यूएईबाट नेपाली फर्किरहेको देखिन्छ । शनिबारसम्म ७ हजार १९६ जना नेपाली यूएईबाट फिर्ता भएका छन् ।

    कुवेतबाट ५ हजार ५४९ जना र साउदी अरेबियाबाट ५ हजार ५५ जना फर्किसकेका छन् । कतारबाट ३ हजार ३२९ र मलेसियाबाट ३ हजार २ सय २६ नेपाली स्वदेश आएका छन् ।

    बहराइनबाट ९८०, बंगलादेशबाट ८४१, जापानबाट ७५६, माल्दिभ्सबाट ७०९, अष्ट्रेलियाबाट ६३४ जना नेपाली चार्टर्ड उडानको टिकट काटेर फर्किएका छन् ।

    ओमानबाट ४९२, दक्षिण कोरियाबाट ४७६, अमेरिकाबाट ४२३, थाइल्यान्डबाट ३२६, बेलायतबाट २२९ जना नेपाली स्वदेश फिर्ता भएका छन् ।

    सिंगापुरबाट १४६, इजरायलबाट १२७, फिलिपिन्सबाट १०८ र चीनबाट १०५ जनालाई फर्काइएको छ । अफगानिस्तान, म्यान्मार, श्रीलंका, हङकङ, पाकिस्तान र टर्कीबाट पनि नेपालीहरु फर्किएका छन् ।

    विदेशमा अलपत्र परेर फर्किनुपर्ने अवस्थामा करिब ५० हजार नेपालीहरु रहेको अनुमान छ । पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने अझै ५० हजार नेपाली स्वदेश फर्किन उडान कुरिरहेको अनुमान गरिएको बताउँछन् ।

    साउन ७ गतेसम्मको चार्टर्ड फ्लाइटको तालिका स्वीकृत गरेर अहिले उद्धार उडान भइरहेको छ । उच्चस्तरीय कोभिड नियन्त्रण व्यवस्थापन केन्द्र (सीसीएमसी)मा पनि उद्धार उडानबारे गम्भीर समीक्षा भइरहेको भन्दै सहसचिव लामिछानेले उपयुक्त समयमा नियमित उडान खोल्नेबारे पनि विचार भइरहेको बताएका छन् ।

    परराष्ट्र मन्त्रालयका सूचना अधिकारी सुरेश अधिकारी दैनिकजसो दूतावासमा नेपाल फर्किन चाहानेको सूची परिवर्तन भइरहेकाले संख्या एकीन गर्न नसकिएको बताउँछन् ।

    प्रतिक्रिया दिनुहोस