२०८१ बैशाख २२, शनिबार | Sat, 04, May, 2024
३ जिल्लाकाे हाेल्डिङ स्थल

हर्कपुरमा तीन जिल्लाको होल्डिङ सेन्टर तयार, पिसिआर गरेर मात्रै जिल्ला पठाउन सांसदहरुकाे माग

  • २०७७ श्रावण ७, बुधबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुंगा– ओखलढुंगाको हर्कपुरमा तीन जिल्लाका लागि होल्डिङ सेन्टर तयार भएको छ । प्रदेश सरकारको सहयोगमा जिल्ला कमाण्ड पोष्टले सेन्टर तयार गरेको हो ।
    विदेशबाट उद्धार गरेर ल्याएका नेपालीहरुलाई सुरक्षित घर पठाउन तथा समस्या देखिएमा स्वास्थ्य परिक्षण तथा उपचारका लागि सहज होस् भनेर हर्कपुरमा होल्डिङ सेन्टर निर्माण गरिएको हो ।
    यसअघि होल्डिङ सेन्टर सुनसरीको चतारामा थियो । विदेशबाट नेपाल आएका ओखलढुंगा, खोटाङ र सोलुका नागरिक काठमाण्डौंबाट चतारा पुगेर मात्रै आउनु पर्ने व्यवस्था थियो ।

    यसले माथिल्लो सगरमाथाका नागरिकलाई दोहोरो समस्या भएको विषय उठेपछि प्रदेश सरकारको सहयोगमा तीन जिल्लाका नागरिकलाई घरसम्म पुर्याउन ५० शैयाको होल्डिङ सेन्टर सेवा दिने अवस्थामा तयार रहेको प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले बताए । जिल्ला कमाण्ड पोष्टले सेन्टरको अनुगमन गरेर आवश्यक व्यवस्थापनको काम समेत बुधबारै गरेको छ ।

    सुरक्षा निकायका प्रमुखहरु, सिद्धिचरण नगरपालिका, मानेभञ्ज्याङ गाउँपालिकाका प्रमुख, स्वास्थ्य प्रमुख, जिल्ला समन्वय समिति, रेडक्रस तथा कमाण्ड पोष्टका अन्य सदस्यहरुले अनुगमन गरेका थिए । हर्कपुरमा होल्डिङ सेन्टर बनाउन सांसद यज्ञराज सुनुवार, पूर्वाधार विकास राज्यमन्त्री अम्बीरबाबु गुरुङ लगायतले पहल गरेका थिए ।

    पिसिआर गरेर मात्रै जिल्ला पठाउन माग

    यस्तै ओखलढुंगा, सोलुखुम्बु र खोटाङका सांसदहरूले हर्कपुर होल्डिङ सेन्टरलाई व्यवस्थित बनाउन स्वास्थ्यमन्त्रीसँग माग गरेका छन् । स्वास्थ्यमन्त्री भानुभक्त ढकालसँग भेट गर्दै सांसदहरुले चतरा होल्डिङ सेन्टर अपाएक भएकाले हर्कपुर होल्डिङ सेन्टरलाई व्यवस्थित बनाएर सञ्चालन गर्न माग गरेका हुन् ।

    बुधबार मन्त्री ढकाललाई भेट्न ओखलढुंगाका संघीय सांसद यज्ञराज सुनुवार, खोटाङका संघीय सांसद विशाल भट्टराई, सोलुखुम्बुका संघीय सांसद हेमकुमार राई, प्रदेश सांसद उत्तम बस्नेत, सोलुखुम्बुकै थुलुङ दूधकोशी गाउँपालिकाका अध्यक्ष असीम राईलगायतको टोली पुगेको थियो ।
    उनीहरुले विदेशमै कोरोनाको पीसीआर नगरी आएको हकमा काठमाडौँमै पीसीआर गर्ने व्यवस्था गर्न समेत माग गरे । सांसदहरूको मागलाई स्वास्थ्यमन्त्री ढकालले हर्कपुर होल्डिङ सेन्टर व्यवस्थित बनाउने प्रतिबद्धता जनाएको सांसद सुनुवारले जनाए ।

    प्रतिक्रिया दिनुहोस