२०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024

बैशाख यताकाे विपदमा १८१ काे मृत्यु, ५१ बेपत्ता !

  • २०७७ श्रावण १०, शनिबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुंगा– वैशाखदेखि साउन ९ गतेसम्मका विपदमा देशभर १८१ जनाले ज्यान गुमाएका छन् भने अझै ५१ बेपत्ता छन् । विपदमा परेर २७८ घाइते भएका छन् ।

    यसपालि सबैभन्दा बढी पहिरोले क्षति गरेको छ । पहिरोका कारण मात्रै १२८ जनाले ज्यान गुमाएका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख अनिल पोखरेलले जानकारी दिए ।

    वैशाखयता पहिराबाट मात्रै १२८ को ज्यान भएको छ, ४४ बेपत्ता छन् । यस्तै ११४ जना घाइते छन् । बाढीबाट छ को ज्यान गएको छ, सात बेपत्ता र तीन घाईते छन् । चट्याङ लागेर ४७ जनाको ज्यान गएको र १६१ जना घाइते भएका प्राधिकरणले जनाएको छ ।

    मनसुन शुरु भएको समय ९जेठ ३१० पछि साउन ९ गतेसम्म भने पहिराले धेरै मानिसको ज्यान लियो । त्यसपछि चट्याङले बढी मानवीय क्षति भएको छ । सो अवधिमा बाढी, पहिरा र चट्याङका कारण १४१ जनाको ज्यान गुमाएकोमा पहिराले मात्रै १२६ जनाको ज्यान लियो ।

    बेपत्ता भएका ५१ मध्ये ४४ जना पहिरामै परेका पोखरेलले जानकारी दिनुभयो । बेपत्ताको अहिले पनि खोजी जारी छ । उक्त अवधिमा पहिरामा परेर ११३ जना घाइते भएका प्राधिकरणले जनाएको छ । यस्तै बाढीका कारण तीन जनाको मृत्यु भएको छ भने छ जना बेपत्ता छन् ।

    चट्याङ परेर १७ जनाले ज्यान गुमाए भने ४२ घाइते भएको प्राधिकरणले जनाएको छ । पछिल्लो १० वर्षमै मनसुन पछिको उक्त अवधिमा सबैभन्दा बढी पहिराको क्षति भएको पोखरेलले बताए । उनका अनुसार यसपालि भेल पहिराले नसोचेको ठाउँमा ठूलो क्षति बनाएकाले त्यस्ता जोखिम ठाउँमा बस्दा वर्षाका बेला सचेत हुनुपर्ने देखिएको छ ।

    प्रतिक्रिया दिनुहोस