२०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024

मुख्यमन्त्रीले नै काेराेना समुदायमा पुग्याे भनेपछि……..

  • २०७७ श्रावण ११, आईतबार मा प्रकाशित ३ साल अघि
  • विराटनगर- विराटनगरमा समुदायस्तरमा कोरोना संक्रमण फैलिएको स्थानीय प्रशासनले निष्कर्ष निकालेको छ । विराटनगर महानगरपालिकाभित्र बुधबारयता ११ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमित चार जनाको ट्राभल हिस्ट्री र संक्रमण स्रोत भेटिएको छैन ।

    बुधबार प्रदेश प्रहरी कार्यालय विराटनगरमा कार्यरत प्रहरी कर्मचारी, विराटनगर अस्पतालका सञ्चालक चिकित्सक र विराटनगर- ६ का एक पुरुषलाई संक्रमण पुष्टि भएको थियो ।

    बिहीबार प्रदेश प्रहरी कार्यालयमा कार्यरत थप ४ जना प्रहरी कर्मचारी र शुक्रबार विराटनगर- ४ का एक पुरुषमा संक्रमण पुष्टि भएको थियो । शनिबार थप तीन जनामा संक्रमण देखिएको थियो ।

    बुधबार संक्रमण पुष्टि भएका चिकित्सक र प्रहरीमा कोरोना संक्रमणको स्रोत भेटिएको छैन ।

    शुक्रबार कोरोना पुष्टि भएका पुरुषमा पनि ट्राभल हिस्ट्री बाहिरको छैन । शनिबार पुष्टि भएका मध्ये दुईजना विराटनगर- ६ मा बुधबार संक्रमण पुष्टि भएका व्यक्तिका श्रीमती र आमा हुन् । अर्का संक्रमित धरानबाट विराटनगर आएका चिकित्सक हुन् ।

    ‘अब समुदायस्तरमा कोरोना संक्रमण पुगिसक्यो,’ विराटनगर महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले भने, ‘हाम्रो स्टडीले संक्रमण समुदायमा गएको देखायो, सतर्कता अपनाउनु पर्छ, ।’

    विराटनगर महानगरपालिकाले शनिबारसम्म एक हजार ७ सय ६९ जनाको पीसीआर विधिबाट कोरोना जाँच गरेको छ । तीमध्ये ४१ जनामा संक्रमण पुष्टि भएको थियो ।

    मुख्यमन्त्री भन्छन् – समुदायमा पुगिसक्यो

    प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले पछिल्लो घटनाक्रमले कोरोना संक्रमण समुदायस्तरमा पुगेको बताएका छन् । शुक्रबार प्रदेश सभाको बर्खे अधिवेशनको अन्तिम बैठकमा उनले समुदायस्तरमा कोरोना पुगेको बताएका हुन् ।

    उनले सीमाक्षेत्र नाका प्रवेश विन्दुहरूमा नियन्त्रण गरेर समुदायमा जानबाट हदैसम्म रोकेको बताए । तर पछिल्लो समय देखिएको संक्रमणले समुदायमा पुगेको देखिएको बताए । सरकारले पीसीआर परीक्षणको दायरा बढाएको बताउँदै उनले सतर्कता अपनाउन सबैलाई आग्रह गरे ।

    प्रतिक्रिया दिनुहोस