२०८१ बैशाख २२, शनिबार | Sat, 04, May, 2024

सुनिल थापा समुहकाे कांग्रेसमा यसरी हुँदैछ व्यवस्थापन

  • २०७७ श्रावण १२, सोमबार मा प्रकाशित ३ साल अघि
  • काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरेका सुनिलबहादुर थापासहित ३१ नेताले १३ गते (मंगलबार) नेपाली काँग्रेस प्रवेश गर्दैछन् ।

    राप्रपाका अन्य ३० जना नेतासहित पार्टी परित्याग गरेका थापालाई काँग्रेसले सहमहामन्त्री र पाँच जना केन्द्रीय सदस्य दिने भएको हो । त्यसमा बाराका बृजलाल यादव, सिन्धुपाल्चोकका विष्णुविक्रम थापा, भोजपुरका बाबुराम बस्नेत र काठमाडौंका किरण गिरीको सम्भावना बलियो छ ।

    काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य एवम् धनकुटाका पूर्व जिल्ला सभापति मनोहरनारायण श्रेष्ठले थापाको समूहलाई मंगलबार पार्टी प्रवेश गराउने कार्यक्रम रहेको जानकारी दिए ।

    सभापति शेरबहादुर देउवाले मंगलबार पार्टी कार्यालय सानेपामा एक कार्यक्रमकाबीच थापा समूहलाई काँग्रेसमा समाहित गराउने श्रेष्ठको भनाइ छ ।  श्रेष्ठकाअनुसार गृहजिल्ला धनकुटामा राप्रापाका जिल्ला, पालिका र वडा समितिलाई काँग्रेसमा विलयका लागि व्यवस्थापन मिलाएर थापा आइतबार काठमाडौं फर्किसकेका छन् ।

    ‘जिल्ला कार्यसमिति धनकुटामा समायोजन भइसक्यो । उहाँ (सुनिल थापा)सहित केही नेता १३ गते पार्टी प्रवेश गरिसकेपछि औपचारिक घोषणा गरिने छ । अन्य जिल्लामा पनि लगत्तै समायोजन गरिने कुरा भएको छ ।’ त्यसका लागि १३ गते नेपाली काँग्रेस प्रदेश– १ ले पनि धनकुटामा पार्टी प्रवेश कार्यक्रम राखेको श्रेष्ठले जानकारी दिए ।

    तर केन्दीय सदस्यका विषयमा ठोस सहमति भइसकेको छैन । थापाले राप्रपाको केन्द्रीय तहको जिम्मेवारी सम्हालेका नेताहरुलाई काँग्रेसको पनि केन्द्रीय समितिमा समेट्ने गरि जानुपर्नेमा जोड दिँदै आएको छन् । श्रेष्ठकाअनुसार सोमबार (भोलि) एक चरण काँग्रेसका शीर्ष नेताहरुसँग थापाले संवाद गर्ने छन् ।

    थापाको समूहलाई काँग्रेस भित्र्याउने कार्यमा सक्रिय काँग्रेस उपसभापति विमलेन्द्र निधिले यस कुरालाई स्वीकार गरे । उनले भने, ‘उहाँले काँग्रेसमा आफूसहित केही नेताहरु आउने इच्छा व्यक्त गर्नुभएकै हो । उहाँले मेलाई म धनकुटा गएर फर्किन्छु । त्यसपछि थप कुराकानी गरौँला भन्नुभएको थियो ।’

    राप्रपाबाट राजीनामा दिनुअघि निधिसँगको पछिल्लो छलफलमा थापाले धनकुटाको आफ्नो पार्टीको कार्यसमिति नै ल्याएर काँग्रेसमा आउने बताएका थिए ।  निधिले भने, ‘उहाँसँग तीन महिनादेखि कुरा भइरहेको छ । समग्रमा कुरा पनि भइसकेको छ । मैले उहाँलाई तपाईसँग को आउछ ? टुंगो लाउनुपर्यो नि ? भनेर भनेको थिएँ । अब राजीनामा दिसकेपछि यो विषयमा छलफल गरेका निर्णयमा पुग्छौँ । अहिलेसम्मको छलफल सकारात्मक छ ।’

    राप्रपा परित्याग गर्नेहरुमा धनकुटा, सिन्धुपाल्चोक,बारा,धनुषा,सर्लाही लगायतका जिल्लाका कार्यकर्ताहरु समेत रहेका छन् । उक्त जिल्लामा उनीहरुको पनि समायोजन गरिने छ । काँग्रेसमा समाहित हुँदा पार्टीको विधानअनुसार राजनीतिक निर्णयका आधारमा उचित जिम्मेवारी दिइने निधिले बताए । थापासँग आफू निरन्तर संवादमा रहेको निधिले जानकारी दिएकाे राताेपाटीले खबर लेखेकाे छ ।

    प्रतिक्रिया दिनुहोस