२०८१ बैशाख २४, सोमबार | Mon, 06, May, 2024
असारे विकास

यस्ताे रहेछ रुम्जाटारकाे एक महिने विकास !

एकै ठाउँमा १४ याेजना, १ महिनामा अढाइ कराेड खर्च !

  • २०७७ श्रावण १२, सोमबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुंगा– सिद्धिचरण नगरपालिका ४ रुम्जाटार समथर रुपमा फैलिएको एउटै गाउँ हो । यो गाउँका गाउँलेहरु असार महिना भरि व्यस्त रहे । तर खेतीको कामले हैन, विकासको कामले ।

    सदा झैं यसवर्ष पनि आर्थिक वर्षको अन्त्यमा बजेट पाएपछि काम सक्ने चटारो स्थानीयलाई पर्यो । त्यसमाथी १४ वटा उपभोक्ता समिति गठन गरेर योजना सम्झौता गरिएपछि उपभोक्ताको रुपमा काम गर्न प्राय सबै घरधुरीका उपभोक्ताले भ्याए । रोचक कुरा चाहीँ सबै योजना सडक स्तरोन्नति शिर्षकमा थियो । तर काम चाहीँ सिँढी बनाउने देखि, गल्लीमा सोलिङ गर्ने र माटो बिछ्याउने सम्मका थिए ।

    यी सबैलाई गोलमटोल सडक स्तरोन्नति नाम दिइएको थियो । जेठको २६ र २७ गते सम्झौता भएका योजनाहरु असारको २५ भित्र सम्पन्न गर्ने म्याद थियो । सोही म्यादमा सबैले योजना सम्पन्न गरे । तर काम गुणस्तरीय नभएको गुनासो छ ।

    १४ वटा सडक स्तरोन्नतिमा २ करोड ३० लाख ४० हजार बजेट विनियोजन भएको थियो । ‘साँच्चै इमानदारीका साथ इस्टिमेट अनुसारको काम प्राविधिक राखेर नापजाँच गरि मूल्यांकन गर्ने हो भने एक करोड भन्दा बढीको काम भएको छैन ।’ निर्माण व्यवसायी समेत रहेका रुम्जाटारकै एक स्थानीयले भने, ‘तर दुई करोड भन्दा बढी पैसा सकिएको छ ।

    उनले काँग्रेस आबद्ध हो भन्ने थाहा भएपछि गठन गरिएको समितिबाटै खोजीखोजी हटाएर नेकपाकै कार्यकर्ता राखेको आरोप लगाए । ‘पुरानै पर्खालमाथी ढुंगा जोडेर माथीबाट सिमेन्टले लिपे जस्तो गरेर काम सकेका छन् ।’

    बजेट आउनु नराम्रो त हैन तर सदुपयोग हुन सकेन ।’ योजनाहरुमा न्यूनतम ९ लाख ६० हजारदेखि २८ लाख ८० हजार सम्मका थिए । केही योजनाहरु उपभोक्ताले गुणस्तरीय निर्माण गरेपनि धेरैजसोले आँखाको छारो हाल्ने काम मात्र गरेको असन्तुष्ट पक्षको भनाई छ । अझ उपभोक्ता समितिमा पार्टीका कार्यकर्ता मात्र राखेको गुनासो छ । नेकपा बाहेकका अन्य पार्टीमा आबद्धलाई समितिमा नराखेको काँग्रेसका एक कार्यकर्ताले बताए ।

    उनले काँग्रेस आबद्ध हो भन्ने थाहा भएपछि गठन गरिएको समितिबाटै खोजीखोजी हटाएर नेकपाकै कार्यकर्ता राखेको आरोप लगाए । ‘पुरानै पर्खालमाथी ढुंगा जोडेर माथीबाट सिमेन्टले लिपे जस्तो गरेर काम सकेका छन् ।’ नाम उल्लेख नगर्ने शर्तमा एक युवाले भने, ‘प्राविधिक र उपभोक्ता समितिको मात्र मिलेमतो भए त हुन्थ्यो । यहाँ त प्रत्येकजसाे घरका सदस्यको संलग्नता भएकोले कोही बोल्न नसक्ने अवस्था छ ।’

     समय नपुगेर गुणस्तर नभएकाे स्वीकाराेक्ति

    उपभोक्ता समितिका पदाधिकारीहरु पनि हतारमा काम गर्दा भनेजस्तो निर्माण गर्न नसकेको स्वीकार्छन् । ‘हतारमा काम गर्दा केही न केही असर त परेकै छ । भनेजसरी काम गर्न अलि गाह्रो भयो ।’ गुरुधाम चोकदेखि ठुलढिक जाने सडक स्तरोन्नति उपभोक्ता समितिका सचिव दिपेश श्रेष्ठले भने, ‘अलि समय पाएको भए पक्कै यो भन्दा गुणस्तरीय काम हुनेथियो ।’ यी सबै योजनाको बजेट, योजना सम्झौता र कार्यान्वयन पक्ष हेर्ने प्रदेश सरकार अन्तर्गतको पूर्वाधार विकास कार्यालयले भने सोचेभन्दा राम्रो काम भएको दावी छ ।

    ‘हामीले त यो एक महिनामा काम नै गर्न सक्दैनन होला भन्ठानेका थियौ“ ।’ पूर्वाधार विकास कार्यालयका प्रमूख राजेश्वर महतोले भने, ‘तर काम मात्र समयमा सकेनन् । गुणस्तर पनि राम्रो देखियो ।’ गुणस्तरीय काम नभएको भन्ने गुनासोमा उनले कुनै व्यक्तिहरुको स्वार्थ अनुसारको काम नगर्दा आरोप मात्र लगाएको बताए ।

    हामीले त यो एक महिनामा काम नै गर्न सक्दैनन होला भन्ठानेका थियौ“ ।’ पूर्वाधार विकास कार्यालयका प्रमूख राजेश्वर महतोले भने, ‘तर काम मात्र समयमा सकेनन् । गुणस्तर पनि राम्रो देखियो ।’

    पूर्वाधार विकास कार्यालयले संचालन गरेको उपभोक्ता समिति अन्तर्गतको २२ वटा योजनामा १४ वटा रुम्जाटारमा मात्र छनौट भएको देखिन्छ । बाँकी ८ वटा योजना मात्र अन्य स्थानीय तहमा संचालित छन् । यस विषयमा प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले पत्र लेखेको आधारमा ती योजनाहरु छनौट गरि संचालन गरेको प्रमूख महतोले बताए ।

    प्रदेश १ को भौतिक पूर्वाधार विकास राज्यमन्त्री रुम्जाटारकै स्थानीय भएकोले पनि बजेट रुम्जाटारलाई प्राथमिकता दिई विनियोजन गरेको आरोप अन्य स्थानीय तहका जनप्रतिनिधिको छ । समानुपातिक ढंगबाट नभई विभेदपूर्ण तवरले बजेट विनियोजन गरेको आरोप उनीहरुको छ । साेलिङकाे मापदण्ड विनै जथाभावि विप्छ्याइएका ढुंगा उप्किन थालेकाे स्थानीयकाे भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस