२०८१ बैशाख २३, आईतबार | Sun, 05, May, 2024

के छ देउवालाई लेखिएकाे ‘प्रेम पत्र’मा ?

  • २०७७ श्रावण १५, बिहिबार मा प्रकाशित ३ साल अघि
  • काठमाडाैं- नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद सार्वजनिक रुपमै आएको छ। वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले बिहीबार सभापति शेरबहादुर देउवाका पछिल्ला क्रियाकपाको विरोधमा पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलनको आयोजना गरी ‘मनलाग्दी नगर्न’ लिखित पत्र बुझाएको छ ।

    नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले सभापति शेरबहादुर देउवाले पार्टीमा एकलौटी निर्णय गरेको भन्दै सार्वजनिक रुपमा नै असन्तुष्टि जनाएको छ । पार्टी कार्यालय सानेपामा बिहीबार पत्रकार सम्मेलन गर्दै पौडेल समूहले सभापति देउवाले पद र प्रलोभन बाँडेर विधान र पार्टीको निर्वाचन आचार संहिताविपरीत कार्य गरेको भन्दै सार्वजनिक रुपमै विरोधमा उत्रिएका हुन् ।

    देउवाले महाधिवेशन आफ्नो पक्षमा पार्न निर्वाचन आचारसंहिता मिचेर मनोनयन गरिरहेकाले रोक्नु पर्ने पौडेल पक्षको माग छ । पौडेलले सभापति देउवाले जति गल्ती गर्दै जान्छन् त्यति नै सशक्त दबाब बढाउँदै लगिने पनि बताए ।

    समायोजन सकिएका जिल्लामा पारदर्शी हिसाबले क्रियाशील सदस्यता वितरण र नवीकरणका काम हुनु पर्ने नेता पौडेलले माग गरेका छन् ।  भातृ संस्थाहरूको अधिवेशनबाट नै महाधिवेशनमा प्रतिनिधि आउने भएकोले अधिवेशन गर्नुपर्ने उनको भनाइ छ । यस्तै महाधिवेशनपछि कांग्रेसमा कुनै गुट नहुने दाबी गरे । १४औं महाधिवेशनले गुटको अन्त्य गर्ने र १४औं महाधिवेशनमा पत्रकार सम्मेलन गरेरै आफूहरुले उमेदवारी घोषणा गर्ने बताए ।

    सम्मेलनमार्फत पौडेल र महामन्त्री कोइरालाले हस्ताक्षर गरेको विरोधपत्र समेत सार्वजनिक गरेको छ । पत्रकार सम्मेलनमा देउवा इतरका नेताहरु महामन्त्री डा. शशांक कोइराला, पूर्व महामन्त्री प्रकाशमान सिंह, नेताहरु अर्जुननरसिंह केसी, डा. मिनेन्द्र रिजाल, चन्द्र भण्डारीलगायत उपस्थित थिए ।

    प्रतिक्रिया दिनुहोस