२०८१ बैशाख १७, सोमबार | Mon, 29, Apr, 2024

के अब फुट्ला त नेकपा ? ‘ओलि पेल्ने: दाहाल-नेपाल नटेर्ने’

  • २०७७ अषाढ १७, बुधबार मा प्रकाशित ३ साल अघि
  • काठमाडौं-  पार्टीभित्रैबाट चर्को आलोचनासहित राजीनामा माग भएपछि तनावमा रहेका  प्रधानमन्त्री केपी शर्मा ओली बुधबार बिहानदेखि नै परामर्शमा व्यस्त छन्।

    उनले सरकारका मन्त्रीहरू र आफू निकटका स्थायी कमिटी सदस्यहरूलाई परामर्शका लागि बालुवाटार बोलाएका छन्। सरकारको भूमिका, पार्टीभित्रको कलह र संभावित कदमबारे उनले परामर्श गरेको बताइएको छ। उनको यो परामर्शलाई अर्थपूर्ण रुपमा लिइएको छ। स्थायी कमिटिको जारी बैठक बुधबार ११ बजेदेखि बोलाइएको छ। मंगलबार बैठक शुरू हुनुअघि पनि प्रधानमन्त्री ओली शितल निवास पुगेर राष्‍ट्रपति विद्यादेवी भण्डारीसँग परामर्श गरेका थिए।

    बालुवाटार परामर्शमा स्थायी समितिमा रहेका मुख्यमन्‍त्रीहरु शंकर पोखरेल र पृथ्वी गुरुङ, संसदीय दलका उपनेता सुवास नेम्वाङ, मन्‍त्रीहरु रामबहादुर थापा बादल, वर्षामान पुन, योगेश भट्टराई, घनश्याम भुसाललगायत रहेका छन्।

    पार्टीभित्रैबाट आफू  घेराबन्दीमा परेको बताउँदै आएका ओलीको संभावित कदम के होला भनेर अनेक अनुमान र आशंका गरिएको छ। स्रोतका अनुसार प्रधानमन्‍त्री राजीनामा दिने मुडमा छैनन् । बरु पेलेर अघि बढ्ने रणनीति तयारीमा छन्। स्थायी समितिमा मंगलबार चर्को आलोचना र दबाब खेपेका ओलीले बुधबार अपरान्ह मुख्यसचिव लोकदर्शन रेग्मीलाई राष्ट्रपतिकहाँ पठाएका थिए।

    ओलीले मंगलबार बेलुका नै महासचिव विष्णु पौडेललाई अध्यक्ष प्रचण्ड निवासमा  र उपप्रधानमन्‍त्री इश्‍वर पोखरेललाई माधव नेपालकहाँ पठाएका थिए।  मिलेर जाने प्रस्तावसहित प्रचण्ड र माधव दुवैलाई मनाउन गएका दुवै प्रतिनिधिसँगको वार्ता खासै सकारात्मक भएन।

    संसद अधिवेशन अन्त्य गर्ने, संकटकाल लगाउने, मन्‍त्रिपरिषद् फेरबदल गरेर आन्तरिक झगडा मिलाउने, दल विभाजनलाई खुकुलो पार्ने अध्यादेशलाई ब्यूँताउने,कांग्रेससँग सहकार्य बढाउनेजस्ता अनेक विकल्पबारे ओली टिममा छलफल भइरहेको स्रोतले बतायो। पार्टी केन्द्रीय समिति वा संसदीय दलमध्ये एउटामा ४० प्रतिशत मत पुर्‍याएमा  पार्टी विभाजन गर्न सकिने खुकुलो व्यवस्थासहितको अध्यादेश वैशाख ८ गते राष्ट्रपतिबाट जारी भए पनि चौतर्फी आलोचना भएपछि यसलाई फिर्ता गरिएको थियो।

    संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले परिस्थिति सही दिशामा मोडिने संकेत गर्दै बुधबार बिहानै ट्‌वीट गरेका छन्। उनले भनेका छन्, ‘सबै दिन राम्रै हुन्छन्, राम्रै मानिन्छन् । बुधवारलाई अली बढी राम्रो मान्ने नेपाली चलन छ । आज बुधवार, आशा छ परिस्थिती सहि दिशामा मोडिने छ । आशाबाद !’

    बालुवाटारमा ओली परामर्शमा व्यस्त हुँदा प्रचण्ड र नेपाल पनि आन्तरिक छलफलमा व्यस्त रहेका छन्। नेकपाको जारी स्थायी कमिटी मंगलबारको बैठकमा प्रधानमन्‍त्री ओलीको पछिल्लो अभिव्यक्तिलाई लिएर चर्काचर्की भएको थियो। अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्‍त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै राजीनामा दिन आग्रह गरेका थिए।

    प्रधानमन्त्री ओलीले मदन भण्डारी फाउण्डेसनले आइतबार गरेको कार्यक्रममा भारतले आफूलाई हटाउन होटल र दूतावासमा  चलखेल गरिरहेको अभिव्यक्ति दिएका थिए। बैठकमा सहभागी एक स्थायी समिति सदस्यका अनुसार ओलीको अभिव्यक्तिप्रति नेताहरुले आक्रोश व्यक्त गरेका हुन्। प्रधानमन्‍त्रीजस्तो जिम्मेवार व्यक्तिले यस्तो उत्ताउलो र सतही अभिव्यक्ति दिन नहुने बताएका थिए। यसले पार्टी, सरकार र मुलुकको प्रतिष्ठामा समेत आँच पुगेको उनीहरुले बताएका थिए। बैठकमा नेकपा एमाले नामको पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता भएको विषय महत्वका साथ उठाइएको थियो। उपाध्यक्ष बामदेव गौतमले प्रधानमन्‍त्रीकै निर्देशनमा यो काम भएको आरोप लगाएका थिए।@annapurnapost.com

    प्रतिक्रिया दिनुहोस