२०८१ बैशाख २२, शनिबार | Sat, 04, May, 2024

सलह फैलावट देशभर, नेपालमा ९० लाखकाे हुल

  • २०७७ अषाढ १७, बुधबार मा प्रकाशित ३ साल अघि
  • काठमाडौं- अफ्रिकीबाट भारत हुँदै आएको सलह नेपालको अधिकांश जिल्लामा पुगिसकेको छ । नेपालमा अहिलेसम्म करिब ८० देखि ९० लाखको हाराहारीमा सलह भित्रिसकेको कीट विज्ञको भनाइ छ ।

    कीट विज्ञका अनुसार नेपाल भित्रिएका सलहको झुण्ड विभाजन भएको छ । सलह गएको शनिबार भारतबाट निजगढ हुँदै नेपाल प्रवेश गरेको हो । सलह अहिलेसम्म ५२ जिल्लामा पुगेको छ ।

    मुलुकमा सलह आउने सम्भावना देखिएसँगै कृषि तथा पशुपन्छी विकास मन्त्रालयले त्यसको अध्ययन तथा नियन्त्रणको लागि प्राविधिकसहितको कार्यदल बनाएको थियो । कार्यदलका सदस्य तथा कीट विज्ञ समुन्द्रलाल जोशीले नेपालमा भित्रिएको सलहको समूह विभाजन हुँदै बताउनु हुन्छ । समूह विभाजनभएव पछि यसले ठूलो क्षति निम्त्याउने उहाँकाे भनाई छ ।

    सलहलाई फुल पार्नका लागि मरुभूमि नै चाहिने भएकाले नेपालमा बसेर फुल पार्छ भन्ने कुरा सत्य नभएको उहाँको भनाइ छ । ‘कि त जहाँबाट आएको छ, त्यहीँ फर्कनुपर्छ, होइन भने मरेर जान्छ’, उहाँले भन्नुहुन्छ, ‘ नेपालमा यसले फुल पार्ने सम्भावना न्यून छ ।’ कृषि मन्त्रालयका अनुसार सलहले मुलुकका केही जिल्लामा देखिने गरी नाेक्सान गरेकाे  छ । बारामा मकै तथा तरकारीबालीमा खाएकाे छ । हेटौँडामा करिब एक सय हेक्टरमा लगाइएको बाली खाएको छ । सलह अन्य जिल्लामा पनि बाली खाएको छ । क्षतिको विवरण सङ्कलनको क्रममा रहेको मन्त्रालयले जनाएको छ ।

    कीट विज्ञ जोशीका अनुसार यो कीरा अफ्रिाकाको रैथाने हो । त्यहाँबाट अन्य मुलुकमा फैलिँदै जाँदा नेपालमा पनि आइपुगेको हो । नेपालमा विभिन्न जिल्लामा बालीनालीमा देखिए पनि धेरैजसो सलह जङ्गलमै रहेको विज्ञले बताएका छन् ।

    सलहको बारेमा कृषि मन्त्रालयअन्तर्गतको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले हेरिरहेको छ । केन्द्रका निर्देशक सहदेवप्रसाद हुमागाईँको नेतृत्वमा अध्ययनका लागि प्राविधिक कार्यदल छ । त्यसले अहिले अध्ययन विश्लेषणको काम गरिरहेको छ । केन्द्रका सूचना अधिकारी रामकृष्ण सुवेदीले नेपालमा अहिलेसम्म भयावहरुपमा सलह नरहेको बताउनुभयो ।

    ‘हावाको बेगका कारण केही झुण्ड उछिटिएर नेपाल आएको हो’ उहाँले भन्नुभयो, ‘अहिले नेपालमा धेरै विखण्डन भइसक्यो, सानासाना झुण्डमा छ, तर थप प्रवेश गर्ने सम्भावना अझै छ ।’ -जनता समाचारबाट

    प्रतिक्रिया दिनुहोस