२०८१ बैशाख १६, आईतबार | Sun, 28, Apr, 2024

फेरि आउला पार्टी फुटाउने अध्यादेश ?

  • २०७७ अषाढ १८, बिहिबार मा प्रकाशित ३ साल अघि
  • काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेताहरूले पार्टी फुटको संघारमा पुगेको निष्कर्ष निकालेका छन् । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी फुटाउने गरी अध्यादेश ल्याउन लागेको पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षको आरोप छ ।

    स्थायी कमिटी बैठक चलिरहेका बेला गत आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक मञ्चबाटै भारतले आफूलाई पदबाट हटाउन खोजेको र नेपालकै नेताहरू त्यसमा लागेको अभिव्यक्ति दिएलगत्तै नेकपाको विवाद सघन बनेको हो । पार्टीभित्रको अन्तरविरोध साम्य हुनुको साटो झन् झन् चर्किएको छ ।

    अर्का अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतमलगायतका नेताहरूले ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पद छाड्न आग्रह गरेका छन् । ४४ सदस्यीय स्थायी कमिटीका ३० जना सदस्य प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने पक्षमा

    प्रधानमन्त्री ओलीले बिहीबार संघीय संसदको अधिवेशन अन्त्य गर्न सिफारिस गरेपछि विवाद झनै चुलिएको छ । ओलीले संसदीय दलमा ४० प्रतिशत संख्या भए दल फुटाउन सकिने अध्यादेश ल्याउने तयारी गरेको अर्को पक्षको दाबी छ । विद्यमान कानुनअनुसार पार्टी विभाजनले मान्यता पाउन केन्द्रीय समिति र संसदीय दल दुवैमा ४० प्रतिशत चाहिन्छ ।

    बुधबार साँझ प्रचण्ड र नेपाल पक्षका ३० जना स्थायी कमिटी सदस्य झम्सिखेलमा भेला भएका थिए । सो भेलाले ओलीले दुवै पद छाड्नुपर्ने नेताहरूको माग अनुमोदन मात्र गरेन, पार्टीको निर्णय मान्छु भनेर आए मात्रै प्रधानमन्त्रीसँग वार्ता गर्ने शर्त राख्यो ।

    त्यसको काउन्टरमा प्रधानमन्त्री ओलीले बिहीबार मन्त्रिपरिषद् बैठक बोलाए । संघीय संसद अधिवेशन अन्त्य गर्ने प्रधानमन्त्रीको तयारी थाहा पाएपछि अध्यक्ष प्रचण्ड र महासचिव विष्णु पौडेलले टेलिफोनमा सम्वाद गरे । मन्त्रिपरिषद् बैठक नबस्ने र स्थायी कमिटी बैठकलाई नै निरन्तरता दिने सहमति भएपछि प्रचण्डले बैठक सुरु गरे । बैठकमा केशव बडाल र अमृत बोहोरा बोले ।

    तर सुरुमा प्रधानमन्त्री निकट र त्यसपछि अरू मन्त्रीहरू पनि क्याबिनेटमा बोलाइयो भन्दै हिँडे । गृहमन्त्री रामबहादुर थापा बादल, पर्यटनमन्त्री योगेश भट्टराईहरू पुग्दा त बैठक सकिसकेको थियो । उनीहरू पुग्दा संघीय संसदको चालु अधिवेशन बिहीबार साँझ ५ बजे नै अन्त्य गर्न सिफारिस गर्ने निर्णय भइसकेको थियो ।

    ओलीको अडान : अध्यक्ष र प्रधानमन्त्री दुवै छाड्दिनँ

    प्रचण्डले स्थायी कमिटीमा सुनाएअनुसार ओली र उनीबीच भएको सम्वादमा मन्त्रिपरिषद् बैठक पनि नबस्ने र अधिवेशन पनि अन्त्य नगर्ने सहमति भएको थियो । त्यस विपरीत निर्णय भएको भन्दै प्रचण्डले स्थायी कमिटी बैठक तत्कालका लागि स्थगित गरे र महासचिव पौडेललाई लिएर ओलीलाई भेट्न गए ।

    स्रोतका अनुसार भेटमा प्रचण्डले आफूहरूसँग भएको सहमति विपरीत मन्त्रिपरिषद् बैठक बसेर संसद अधिवेशन अन्त्य गरेको विषयमा अर्का अध्यक्ष एवं प्रधानमन्त्री ओलीलाई सोधेका थिए । कतै बाहिर चर्चामा रहेजस्तो दल विभाजन गर्न सहज हुने अध्यादेश ल्याउन खोजेको त होइन भन्ने प्रश्न गरे ।

    जवाफमा ओलीले संसद अधिवेशन अन्त्य केही दिनमा गर्नुपर्ने नै थियो, यसले केही फरक पर्दैन भनेका थिए । साथै, उनले अध्यादेश ३/४ दिन आउँदैन भनेको स्रोतको दाबी छ । ‘उहाँले अध्यादेश ल्याउँदिन भन्नु भएन छ’ एक नेताले भने ।

    पार्टी बैठकमा छलफल गरौं न भन्दा ओलीले प्रधानमन्त्री र अध्यक्ष पद छाड्दिन, अरू विषयमा कुरा गरौंला भन्ने जवाफ दिएको प्रचण्ड निकट एक नेताले बताए ।

    प्रधानमन्त्रीले अध्यादेश ल्याउँदिनँ भन्ने प्रष्ट वचन नदिएपछि प्रचण्डले शीर्षनेताहरूसँग परामर्श गरे । ओलीले कुनै पनि बेला दल फुटाउन सहज हुने अध्यादेश ल्याउन सक्ने विश्लेषण गरे र अध्यक्ष प्रचण्डलाई शीतल निवास जान सुझाए ।

    भेटमा प्रचण्डले राष्ट्रपति पार्टीभित्रको राजनीतिक तानाताभन्दा माथि रहनुपर्नेमा प्रचण्डले जोड दिएको एक नेताले बताएका छन् । ‘अघिल्लो पटक पनि सरकारले सिफारिस गरेको अध्यादेश तत्काल स्वीकृत गर्दा राष्टपति स्वयंम, पार्टी र सरकार विवादमा पर्‍यो । हामीभित्रै पनि विवाद आयो’ भेटमा प्रचण्डले भनेका थिए, अब पनि अध्यादेश आयो भने २/४ दिन रोकिदिनुहोला । हामीसाग पनि परामर्श गर्नुहोला ।’

    राष्ट्रपति विद्यादेवी भण्डारीले भने अहिले अध्यादेश आइसकेको छैन भन्ने जवाफ दिएकी छन् ।

    प्रचण्ड शीतल निवासमा गएका बेला नेताहरूले महासचिव विष्णु पौडेललाई प्रधानमन्त्री ओली कहाँ पठाए । स्थायी कमिटी बैठकमा आएर अध्यादेश ल्याउँदिन भन्ने बचन दिए थप छलफल गर्न सकिने सन्देश बोलेर पौडेल गएका थिए । तर अध्यक्ष एवं प्रधानमन्त्री ओलीले स्थायी कमिटी बैठकमा आउन अस्वीकार गरेका छन् ।

    शुक्रबार निर्णायक पहल

    बिहीबार दिनभर बालुवाटार र शीतल निवासको दौडधुपपछि प्रचण्ड र नेपाल पक्षका नेताहरूले निष्कर्ष निकालेका छन्, ‘पार्टी फुटको संघारमा पुगिसकेको छ ।’

    प्रधानमन्त्री ओली दुवै पद कुनै पनि हालतमा नछाड्ने, बरु पार्टी फुटाउने रणनीति लिएको उनीहरूको दाबी छ । ‘उहाँले पार्टी फुटाइसक्नु भएको छ । तैपनि यसलाई रोक्न सकिन्छ कि भनेर आज र भोलि दिनभर प्रयास गरौं भनेर बैठक स्थगित गरिएको छ’ ओलीइतर समूहका एक शीर्ष नेताले भनेका छन् ।

    स्रोतका अनुसार बैठकमा अध्यक्ष प्रचण्डले नै यो बैठक पार्टीमा ऐतिहासिक एकता वा फुटको आधार बन्ने सम्भावना रहेकेा बताएका थिए ।

    संसद अधिवेशन अन्त्य नगर्न आफूहरुले गरेको आग्रहलाई अस्वीकार गरेको र अध्यादेश ल्याउने कुरा पनि आइरहेको भन्दै उनले भने, ‘प्रधानमन्त्रीकै निवासमा बैठक बसिरहेको छ । बैठकमा आउन मैले पटक पटक आग्रह गरेको छु, तर हउाँ आउन मान्नु भएको छैन ।’

    पार्टी एकतालाई जोगाउन आफूहरुको अहिले पनि प्रयास गरिरहेको भन्दै उनले भने, ‘हाम्रो प्रयास सफल भयो भने पार्टीमा ऐतिहासिक एकता कायम हुन्छ । त्यो प्रयास सफल भएन र प्रधानमन्त्री तथा आफूलाई पहिलो अध्यक्ष बताउने व्यक्तिले नै अध्यादेश ल्याएर पार्टी फुटाउनुभयो भने कसको के लाग्छ र ?’ अनलाइन खबरबाट 

    प्रतिक्रिया दिनुहोस