२०८१ बैशाख १६, आईतबार | Sun, 28, Apr, 2024

छोटो समयमै भारी वर्षा : बाढीपहिरोको जोखिम उच्च

सांकेतिक तस्वीर
  • २०७७ अषाढ १९, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • काठमाडौं-  नेपालमा यो वर्ष बाढीपहिरोको जोखिम उच्च देखिएको छ । मनसुन पूर्व (प्रि–मनसुन)मा पर्याप्त वर्षा भएकाले जोखिम बढेको हो। मनसुनको कुल वर्षा राष्ट्रिय औसतबराबरै हुने, २०७१ को जस्तै बाढीपहिरो आउने सम्भावना रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

    प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले जल तथा मौसम विज्ञान विभागको समन्वयमा प्राधिकरणले यो तथ्य बाहिर ल्याएको बताए ।सरकारले २०७६ मंसिरमा प्राधिकरण गठन गरेको थियो । त्यसपछि उसले बिहीबार पहिलो पत्रकार सम्मेलन गरेको हो । कार्यकारी प्रमुख पोखरेलले मनसुन सुरु नहुँदै पर्वतको दुर्लुङ र नारायणगढ–मुग्लिन सडकमा पहिरो गएको ध्यानाकर्षण गराए ।

    ‘मनसुनअघि नै यी दुई स्थानमा गएको पहिरो मूल्यांकन गर्दा यो वर्ष बाढी र पहिरोको उच्च जोखिम रहेको पायौं’, उनले भने । उनले यसका लागि प्रतिकार्य र सजगता अपनाउन स्थानीय तहसँगको समन्वयमा प्राधिकरण अघि बढ्ने बताए ।

    उनका अनुसार अन्य समयको मनसुनभन्दा यो वर्ष छोटो समयमै २५ प्रतिशत वर्षा भएको छ । अबको सय दिनमा ३५ प्रतिशत वर्षा हुने पूर्वानुमान उनले गरे । उनले साउनदेखि बाढी र पहिरो धेरै जाने बताए । साउनमै धेरै वर्षा हुने भएकाले बाढीपहिरोको जोखिम उच्च रहने पोखरेलले बताए । -अन्नपूर्णबाट

    प्रतिक्रिया दिनुहोस