काठमाडौं- प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने जनै पूर्णिमा पर्व आज देशभर नयाँ जनै फेरेर र रक्षाबन्धन (डोरो) बाँधेर मनाइँदै छ ।
पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ ।
मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितहरुले यजमानको दाहिने नाडीमा बाँधिदिने गरिन्छ ।
यसै दिन ब्राह्मण, क्षत्री र वैश्य गरी तीन वर्णका तागाधारीले आफ्नो जनै फेर्नुपर्ने विधान शास्त्रमा उल्लेख छ । तागाधारीले पूर्णिमाका दिन बिहानै पोखरी, ताल, तलाउ, नदी र कुण्डमा गई स्नान गरी जौ, तिल र कुशद्वारा ऋषिहरुलाई तर्पण गरी वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै (यज्ञोपवीत) फेर्ने गर्दछन् ।
अरुन्धतीसहित कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ र अगस्त्य गरी आठ ऋषिलाई पूजा एवं तर्पण गर्ने भएकाले आजको दिनलाई ऋषितर्पणी पनि भन्ने गरिन्छ ।
वैदिक गुरु परम्पराअनुसार यज्ञोपवीत अर्थात् जनैलाई ब्रह्मसूत्र अथवा ज्ञानको धागो भनिन्छ । रक्षाबन्धन बाँध्न एवं नयाँ जनै फेर्न बिहानैदेखि पशुपतिनाथ मन्दिर परिसर, वसन्तपुरस्थित अशोक विनायकलगायत वाग्मती नदीको किनार र मठ मन्दिरमा भक्तजनको भीड लाग्ने गरेकामा यस वर्ष कोरोना भाइरसको संक्रमणका कारण भीड कम गर्न सरकारले आह्वान गरेको छ ।
नेपालको तराई क्षेत्रमा भने आजकै दिन दिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर यो पर्व मनाइन्छ । यसबाट दिदीबहिनी र दाजुभाइका बीचमा प्रेमसम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यता छ ।
आज क्वाँटी खाने दिन
जनै पूर्णिमाका दिन एघार थरीका गेडागुडी मिसाई भिजाएर टुसा उमारेर बनाइएको क्वाँटी खाइन्छ ।
यसरी क्वाँटी बनाई खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने धार्मिक एवं आयुर्वेद शास्त्रीय मान्यता छ । क्वाँटीले रोग प्रतिरोधी क्षमतासमेत बढाउने भएकाले कोरोनाबाट बच्न उपयोगी हुन्छ ।
काठमाडौंको उत्तरपूर्वी भेगमा रहेको मणिचूड, रसुवाको गोसाइँकुण्ड, ललितपुरको कुम्भेश्वर, सिन्धुपाल्चोकको पाँचपोखरी, धनुषाको जनकपुरधाम, धनुषसागर र गंगासागर, जुम्लाको दानसाधु एवं नवलपरासीको त्रिवेणीधामलगायत स्थानमा बिहानैदेखि मेला लाग्ने गरेकामा यस वर्ष कोरोना भाइरस संक्रमणको भयका कारण मेला स्थगित गरिएको छ ।
जनैपूर्णिमाका अवसरमा अवसरमा केही वर्षअघिसम्म सार्वजनिक बिदा दिर्ने गरिएकामा हाल कटौतीमा परेको छ ।
आजभोलि मनाइने जनैपूर्णिमालाई प्राचीनकालमा उपाकर्म भनिन्थ्यो। यो वर्षा ऋतुको पहिलो पूर्णिमामा गरिने कर्म हो।
उपाकर्म वेद अध्ययन गर्नका लागि प्रारम्भ गरिने एउटा अनुष्ठान हो। यस अनुष्ठानलाई शास्त्रीय रुपमा गुरु-शिष्य मिलेर गर्ने कर्मका रुपमा व्याख्या गरिएको छ। यो वेद पढाउने गुरु र वेद पढ्ने शिष्यबीचको कर्म हो।
पछिल्लो समयमा उपाकर्म ओझेलमा परेको छ। कताकतै मात्रै यो अनुष्ठान गरिएको पाइन्छ। अहिले उपाकर्मलाई जनैपूर्णिमा, रक्षाबन्धन भनेर एउटा सांस्कृतिक चाडको रुपमा मनाउने प्रचलन आयो।
जनैपूर्णिमा विशेषगरी ब्राह्मण वर्गले मान्छन्। यो मुख्यतया: वेद पढ्ने कर्म हो। जनैपूर्णिमा वेद पढ्ने उपाकर्मकै वैकल्पिक स्वरुपमा आएको चाड हो।
शास्त्रीय भाषामा जनैलाई यज्ञोपवित भनिन्छ। यज्ञका निम्ति प्राचीन रुपमा मानिसले लगाइने वस्त्रलाई उत्तरीय र अधोवस्त्र भनिन्थ्यो। अधोवस्त्र भनेको धोती जुन शरीरकाे तल्लाे भागमा लगाइन्छ र उत्तरीय भन्नाले माथि लगाउने वस्त्र भन्ने बुझिन्छ।
शास्त्रका अनुसार उत्तरीय लगाएर मात्रै यज्ञको अनुष्ठान हुन्छ। उत्तरीय नलगाइकन व्यक्ति शून्य हुन्छ, रित्तो हुन्छ। यही उत्तरीयको विकल्पमा जनै अथवा यज्ञोपवितको प्रयोग हुन थालेको हो। यज्ञ लगाउन प्रयोग हुने उत्तरीयको विकल्पका रुपमा जनै लगाउन थालिएको हो।
यज्ञ अनुष्ठानका लागि व्यक्ति पवित्र हुनुपर्ने भएकोले जनै लगाएको व्यक्ति त्यसको लागि तयार हुन्छ। जनै नलगाएको व्यक्ति अपवित्र मानिन्छ। त्यसैले पनि यज्ञ अनुष्ठान गर्दा जनैको प्रयोग अनिवार्य भयो।
ब्राह्मणले उपनयन गरेपछि वेद पढ्नुपर्ने र वेद पढ्नका लागि जनै (ब्रह्मसूत्र) लगाएरै पढ्नुपर्ने हुन्छ। जनै नलगाइकन गरेको कर्म निष्फल हुन्छ। वेदको अध्ययन गर्न, धार्मिक अनुष्ठानका गर्न जनै अनिवार्य हुन्छ।
तागाधारी जसले उपनयन वा व्रतबन्ध गरेर जनै लगाएका हुन्छन्, उनीहरुलाई गुरुले गायत्री मन्त्र दिएका हुन्छन्। मन्त्र जप्नका लागि जनै लाउनु पर्ने हुन्छ। अहिले पछिल्लो समयमा विभिन्न व्यवहारिक कारणले धेरै कुरा छोडे पनि जनै धारण गर्नाले मानिसलाई ‘धार्मिक अनुष्ठानसँग मेरो सम्बन्ध छ, म धार्मिक अनुष्ठान गर्नुपर्ने मान्छे हुँ, म जनै लगाएर पवित्र भएको छु,’ भन्ने स्मरण गराइरहन्छ।
यसले मान्छेलाई सांस्कृतिक रुपमा निरन्तर अनुशासित बनाउँछ। ‘म एउटा व्रतमा बाँधिएको छु, नियममा बाँधिएको छु’ भन्ने कुरा झक्झक्याइरहन्छ। गुरुले दिएका आचरण र उपदेशहरुको स्मरण गराउँछ।
जनैपूर्णिमा मुलतः धार्मिक पर्व हो। तर अहिले सबैले त्यही किसिमले धार्मिक अनुष्ठान नगर्ने, गर्न नसक्ने हुनाले यो पर्वलाई धार्मिक तथा सांस्कृतिक पर्वको रुपमा लिन सकिन्छ। यो विशुद्ध सांस्कृतिक पर्व भने होइन्। यसमा धार्मिक पक्ष पनि जोडिएको छ।
रक्षाबन्धनलाई भने धार्मिकभन्दा पनि सांस्कृतिक परम्पराको रुपमा लिन सकिन्छ। जनैलाई वैदिक मन्त्रले मन्त्रेर त्यसमा एउटा शक्ति छ, पवित्रता छ भनेर धारण गरिन्छ। त्यस्तै रक्षाबन्धनलाई पनि वैदिक मन्त्रले मन्त्रेको हुन्छ । ब्राह्मणबाट रक्षाबन्धन बाँध्ने कुरा शास्त्रीय हो तर दिदीबहिनीले दाजुभाइलाई बाध्ने रक्षाबन्धन भने शास्त्रसँग जोडिएको देखिँदैन। याे शास्त्रीयभन्दा पनि सांस्कृतिक पक्ष हाे।
शास्त्रीय रुपमा धार्मिक कर्तव्य, सांस्कृतिक कर्तव्य र अनुशासनमा बस्नु पर्ने कर्तव्य स्मरण गराउनको लागि जनैलाई एउटा धार्मिक तथा सांस्कृतिक चिन्हको रुममा धारण गरिएकाे हाे। प्राचीनकालमा जनैलाई द्विजायनी भनिन्थ्यो। जनै द्विजायनीकै अपभ्रंश शब्द हो।
प्रतिक्रिया दिनुहोस