२०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024
धार्मिक आस्थासँग जाेडिन्छ 'माने'

‘ऐतिहासिक माने अतिक्रमण गरेर गोठ बनाइयो’

स्थानीय भन्छन्ः धार्मिक आस्थामाथि प्रहार भयो

  • २०७७ श्रावण २६, सोमबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुंगा- खिजीदेम्वा गाउँपालिका वडा नं. ८ स्थित चुलिमा रहेको ऐतिहासिक माने अतिक्रमणमा परेको छ । स्थानीयका अनुसार मानेअतिक्रमणमा जनप्रतिनिधी नै लागेका छन् । वडा नं. ८ का वडा सदस्य लमु शेर्पाले माने अतिक्रमण गरेर वस्तुको गोठ निर्माण गरेको उनीहरुको भनाइ छ ।

    बौद्धधर्मको आस्थासँग जोडिएको मानेसँगै वस्तुको गोठ निर्माण गरिएको छ । (हेर्नुहोस् तस्वीर) यो सार्वजनिक महत्वको भएकाले व्यक्तिले भत्काउने वा अतिक्रमण गर्नु धार्मिक आस्थामाथि प्रहर भएको स्थानीयको भनाइ छ । ऐतिहाँसिक माने अतिक्रमण गरेर गोठ बनाउने कार्य गलत भएको स्थानीय पासाङ शेर्पाले बताए । उनले भने, ‘यो धार्मिक आस्था र विश्वास हो, अतिक्रमण गरेर हटाउने र भत्काउने काम गलत भएको छ ।’

    जीर्ण माने

    माने भत्काउने, अतिक्रमण गर्ने वा अन्यत्र व्यक्तिको स्वार्थ अनुसार सार्ने काम बौद्ध धर्मको आस्थामाथि प्रहार भएको शेर्पाले बताए । स्थानीयहरुका अनुसार वडा नं. ८ का वडा सदस्य एवं गाउँपालिकाको कार्यपालिका सदस्य समेत रहेकी लमु शेर्पाले माने अतिक्रमण गरेको हो । जीणर् अवस्थामा रहेको माने संरक्षण गर्नुको सट्टा जनप्रतिनिधीले नै अतिक्रमण गरेको स्थानीयको आरोप छ ।

    माने अतिक्रमण गरेर गोठ बनाएको विषयमा कुरा गर्दा शेर्पाले आफुले अतिक्रमण नगरेको र माने आफैं भत्किन लागेको बताइन् । उनले भनिन्, ‘भत्किन लागेकाले अन्यत्रै सार्न समुहले निणर्य गरेको छ, यहाँ मैले केही गरेको छैन ।’ उनले नागरिक मिडियासँग फोनमा भनिन्,- ‘यो माने पनि मेरै जग्गामा थियो, अन्यत्र सार्ने कुरा भएको छ ।’

    धार्मिक आस्थासँग जोडिएको माने भत्काएको वा अतिक्रमण भएको विषयमा वडा अध्यक्ष नगेन्द्र वस्नेतलेले जीर्ण भएकाले अन्यत्र सार्नु पर्ने भएको बताए । उनले समुहले निणर्य नै गरेर सार्ने भएको, अरु कुरा केही नभएको दावी गरे । स्थानीयका अनुसार याे शताब्दीऔं पुरानाे माने हाे ।

    के हो माने ?

    सडक खनेर भत्किन लागेकाे माने ।

    माने बौद्ध धर्माबलम्बीहरुको धार्मिक आस्था हो । माने निर्माण सामुहिक योगदानमा मानवको रक्षा र शान्तिको कामनासहित प्रायः सार्वजनिक ठाउँमा निर्माण गरिन्छ । व्यक्तिले जग्गा दिएर बनाइए पनि यहाँ बनाइसकेपछि सबैको सरोकार र स्वमित्व रहन्छ ।
    साधारण भाषामा बुझ्दा एक प्रकारको चौतारी हो, जहाँ बौद्ध धर्माबलम्बीले घुमेर पुज्छन् । विश्राम गर्छन् । निर्माण गर्दा योगदान गर्नेहरुको नाम ढुंगामा मन्त्रसहित लेखिन्छ । यसभित्र बहुमूल्य धातु तथा आस्थाका वस्तु राखिन्छ ।
    यसलाई भत्काउन वा उत्खनन गर्नु धर्म विरोधी काम मानिन्छ । माने भएको स्थलमा खोतल्नसमेत पाइदैन । यस्तो आस्था र विश्वासको वस्तुमाथि अतिक्रम गरेर गोठ बनाएको बन्दै धार्मिक आस्थामाथि प्रहार गरेको आरोप लगाएका छन् ।

    प्रतिक्रिया दिनुहोस