२०८१ बैशाख २३, आईतबार | Sun, 05, May, 2024

पहिरोले घर पुरिँदा दुई परिवारका ६ जनाको मृत्यु

  • २०७७ श्रावण ३०, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • कालिकोट : जिल्लाको महाँवै गाँउपालिका-३ नकुमा पहिरो जाँदा दुई परिवारका ६ जनाको मृत्यु भएको छ। महाँवै गाउँपालिका-३ का वडा सदस्य रजबहादुर बिष्टको घर पहिरोले पुरिएको हो। रजबहादुर बिष्टका दुई छोरा दुई छोरी र दाजु डिलबहादुर बिष्टका दुई छोरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी यक्षराज जोसीले बताए।

    उनका अनुसार गएराति रजबहादुर बिष्टको घरमा तीजको अवसरमा रमाइलो गर्ने भन्दै नाचगान चलिरहेको थियो। पहिरोमा परी रजबहादुर बिष्टका छोरा १३ वर्षीय पुष्प बिष्ट, ११ वर्षीय प्रविण बिष्ट, छोरीहरु १८ वर्षीया सबिना बिष्ट, १५ वर्षीया आशा बिष्टको मृत्यु भएको हो। त्यसैगरी रजबहादुरका दाजु डिलबहादुर बिष्टकी छोरी १९ वर्षीया कान्ती बिष्ट र १० वर्षीया रेखा बिष्ट पनि पहिरोमा परी भएको प्रहरीको भनाइ छ।

    पादमघाट प्रहरी चौकीबाट खटिएको प्रहरीको टोली र स्थानीयको सहयोगमा शुक्रबार बिहान शव निकाली सनाखत गरिएको जोसीले जानकारी दिए। यस्तै जिल्लाको नरहरीनाथ गाउँपालिका-१ कोटबाडाको धारीमा पहिरो खस्दा दुई जना घाइते भएका छन्। पहिरोले ७० वर्षका नरबहादुर बिष्टको घर पुरिएको छ।

    प्रतिक्रिया दिनुहोस