२०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024

कस्ले सुन्ला हेर्गा पीडित किसानका कुरा ?

  • २०७७ भाद्र २७, शनिबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुंगा- हेर्गा पहिरोले मोलीका किसानलाई हैरानी दिएको छ । धान रोप्ने समयमा पहिरोले कुलाको मुहान बगाएपछि आधाबढी खेत बाँझै छ । मानेभञ्ज्यांग गाउँपालिका १ मोलिस्थित ध्याप्लु पंखु सिचाइ योजनाको मुहान निर्माण गर्नै नसक्ने गरि बगाएको स्थानीय किसान कुमार श्रेष्ठले बताए ।

    उनका अनुसार १२० परिवारको १८ हेक्टर क्षेत्रफलको आधाबढी खेत बाँझै छ । रोपाइ शुरु भएपछि गत असारमा मुहानमा गएको पहिरोले पुल निर्माण गरेर पहिरो पार गराएको पानीको पाइप पुलसहित बगाएपछि खेत बाँझो भएको हो । केहीले रोपेको धान पनि अहिले सुक्न थालेको छ । १२० मिटरभन्दा बढी पाइप बगाएको स्थानीयको भनाइ छ ।

    उक्त पहिरो नियन्त्रणका लागि विभिन्न निकायबाट लाखौं रकम खर्चिए पनि प्रभावकारी हुने सकेको छैन । पहिरोका नममा आउने योजनामा दुरुपयोग त्यतिकै हुने गरेको आरोप छ । उक्त सिचाइ कुलोको व्यवस्थापन तथा निर्माणका लागि वडा तथा गाउँपालिकाले कुनै प्रथामिकतामा राखेका छैनन् ।

    हेर्गा पीडित किसानका कुरा सुनुवाइ नहुने स्थानीयको गुनासो छ । किसानका समस्या नसुन्ने स्थानीय सरकार कस्का लागि भन्ने प्रश्न उठ्न थालेको छ ।

    प्रतिक्रिया दिनुहोस