२०८१ बैशाख १६, आईतबार | Sun, 28, Apr, 2024

सहरी खानेपानी आयोजनामा स्थानीयको अवरोध

  • २०७७ भाद्र ३१, बुधबार मा प्रकाशित ३ साल अघि
  • जिल्लामा विभिन्न माग राखी स्थानीयले सहरी खानेपानी आयोजनामा अवरोध गरेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माको रम्बाखोला, माझखोला र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ काहुले मुहानको पानी स्थानीयको मागलाई बेवास्ता गर्दै जबरजस्त लैजान खोजिएको भन्दै अवरोध गरेका हुन् । उक्त पानीको मुहान उपभोग गरिरहका सोल्मा र नेर्पावासीले आफूहरुका माग पूरा नगरेसम्म पानी लैजान नदिने अडान राखेका छन् । याे खाेटाङकाे समाचार हाे ।

    वडा नं ६ नेर्पाका वडाअध्यक्ष माधव राईका अनुसार स्थानीयको मागलाई बेवास्ता गरेर जबर्जस्त पानी लैजान खोजिएकाले अवरोध भएको बताए । अध्यक्ष राईले भने–‘विकल्प नदिई जबरजस्त लैजान खोजेपछि यो अवस्था आएको हो ।’

    सोल्माको रम्बाखोला र माझखोलाबाट पनि जबर्जस्त पानी लगिएको खानेपानी समन्वय समिति संयोजक धनिराम राईले बताए । उक्त खोलामा बाँध बाँधेर पानी लगिएको र यसले स्थानीयलाई पानी अभाव हुने र खेतीयोग्य जमिन प्रभावित हुने भएकाले रोक्नु परेको राईले सुनाए । उनले गत वर्षको सम्झौता पूरा नगरी नगरपालिका र दिक्तेल सहरी खानेपानी आयोजनाले हेपाहा प्रवृत्ति देखाएकाले बन्द गर्न बाध्य भएको बताए ।

    उनका अनुसार गत वर्ष नै पानी दिनका लागि विभिन्न १२ बुँदे सहमति भएको थियो । राईका अनुसार सोल्मामा खानेपानी आयोजना सञ्चालन गर्नु पर्ने, रिचार्ज पोखरीहरु निर्माण गर्नु पर्ने, सहरी खानेपानी आयोजना उपभोक्ता समितिमा सोल्मावासीलाई समेट्नु पर्ने, सोल्मालाई विशेष क्षेत्र बनाई त्यसै अनुसार योजनाहरु सञ्चालन गर्नु पर्ने लगायत सहमती गरिएको थियो ।

    उक्त आयोजना अन्तरगत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको ब्यापारिक केन्द्र दिक्तेलबजार, आचार्यगाउँ र बाम्राङका १ हजार ४९ घरधुरीलाई पानी उपलब्ध गराउँने योजना थियो । करिब २२ करोड ५६ लाख रुपैयाँको लागतमा रहेको आयोजना १० महिनामा सक्ने गरी गत चैतमा सम्झौता भएको थियो । लागत रकम एशियाली विकास बैंक (एडिबी)को ७० प्रतिशत र स्थानीय उपभोक्ताको ३० प्रतिशत रहेको उपभोक्ता समिति सचिव नवराज जोशीले बताए । अहिलेसम्म करिब ६५ प्रतिशत मात्र काम सकिएको जोशीको भनाइ उदृत गर्दै कान्तिपुरमा डम्बरसिं राईले खबर लेखेका छन् ।

    प्रतिक्रिया दिनुहोस