२०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024

पुनर्निर्माण प्राधिकरणको कार्यावधि एक वर्ष थप्न प्रस्ताव

Thumbnail
  • २०७७ आश्विन ६, मंगलबार मा प्रकाशित ३ साल अघि
  • काठमाडौं- राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको निर्देशक समितिको बैठकले प्राधिकरणको कार्यावधि एक वर्षले थप गर्न सिफारिस गरेको छ ।

    प्रधानमन्त्री एवं निर्देशक समितिका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बालुवाटारमा सोमबार बेलुकी बसेको समितिको १७ औँ बैठकले प्राधिकरणको कार्यावधि थप गर्न मन्त्रिपरिषदसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

    प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पाँच वर्षमा पुनर्निर्माणमा महत्वपूर्ण काम हुँदाहुँदै कोभिड–१९ महामारीका कारण प्रभावित निजी आवास पुनर्निर्माण, धरहरालगायतका महत्वपूर्ण संरचनाको पुनर्निर्माण सम्पन्न गर्ने गरी समय थपको सिफारिस गर्ने निर्णय भएको जानकारी दिए ।

    प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडसमेत उपस्थित निर्देशक समितिको बैठकले गरेको सिफारिसअनुसार थपिएको समयावधिको करिब साढे छ महिना अर्थात् २०७८ असार मसान्तसम्म प्राधिकरणले हाल गर्दै आएका काम गर्नेछ ।

    बाँकी अवधि अर्थात् पाँच महिना १० दिन लेखा परीक्षण, फरफारक र सरकारका विभिन्न निकाय तथा स्थानीय तहलाई बाँकी रहेका कार्य जिम्मेवारीका साथै पुनर्निर्माणका दस्तावेज हस्तान्तरण गर्नेछ ।बैठकले अन्तर्राष्ट्रिय सम्मेलनको तयारी प्रक्रिया अघि बढाउन र त्रिपुरेश्वरस्थित केन्द्रीय कारागारलाई लोकतान्त्रिक आन्दोलन एवं संघर्षको संग्रहालय बनाउन पनि स्वीकृति दिएको छ

    निर्देशक समितिको निर्णयानुसार चालु आर्थिक वर्ष २०७७÷०७८ भर निजी आवाससम्बन्धी सम्पूर्ण कार्य सम्पन्न गर्नेगरी निजी आवास पुनर्निर्माण लाभग्राहीले प्राप्त गर्ने अनुदानको समयसीमा प्राधिकरणको कार्यकारी समितिले तय गर्नेछ ।

    प्राधिकरणको कार्यावधि २०७७ पुस १० गते सकिँदै थियो । भूकम्पबाट प्रभावित संरचनाको पुनर्निर्माणसम्बन्धी ऐन, २०७२ को दफा ३ मा प्राधिकरणको कार्यावधि थपसम्बन्धी प्रावधान छ ।

    प्रतिक्रिया दिनुहोस