२०८१ बैशाख २२, शनिबार | Sat, 04, May, 2024

हाइड्रो पावरमा पहिरो, २ वडाका १४७ घर जोखिममा

  • २०७७ आश्विन ७, बुधबार मा प्रकाशित ३ साल अघि
  • इलामकाे सन्दकपुर गाउँपालिका–४ मा रहेको पञ्चकन्या हाइड्रो पावरको सुरूङ मार्ग भासिदा सिंगो गाउँनै एकसातादेखि धरापमा परेको छ । जमिन करिब दश फिट भासिएको छ ।

    सुरूङ मार्गको तल्लो क्षेत्रमा पहिरो जान थालेको छ । पहिरोले खोला क्षेत्रको पाँच घर परिवारको भविष्य अन्योलमा पारेको वडा अध्यक्ष बर्तमान गुरूङले जानकारी गराए ।

    जमिन दिनको डेढ फिट भासिन थालेको छ । पहिरोले एक दर्जन विद्युतको पोल ढल्ने अवस्थामा पुगेका छन् । खोलाको पानी सुरूङ मार्गसम्म पु¥याउँन प्रयोग गरिएको पेनस्टक पाइपको जोडिएको भाग दजनौं ठाउँमा चुहिरहेको छ ।

    साविकको माबु गाउँ विकास समितिको वडा नम्बर ४ र ९ क्षेत्रमा पर्ने सिङ्गो दुई गाउँले नै अहिले त्रासमा रातदिन कटाउनु परेको छ । गाउँनै बगाउँन लागेको त्रासका कारण स्थानीय ढुक्कले सुत्न पाएका छैनन् । स्थानीयवासीको अन्यत्र सर्ने ठाउँ नभएपछि ज्यान माया मारेर  बस्नु परेको स्थानीयको बाध्यता रहेको वडा अध्यक्ष गुरूङको भनाई छ ।

    १ सय ४७ घरपरिवारको दुई सय रोपनी भन्दा बढी जमिन पहिरोले बगाउने अवस्थामा पुगेको छ । सात सय बढी जनसंख्या रहेको जोखिम क्षेत्रमा निरन्तर पानी समेत परिरहेकोले केही दुर्घटना भइहाल्ने हो कि भन्ने त्रास गाउँमा बढेको स्थानीयले बताए ।

    जोखिमको जानकारी आएपछि चार पटक अवलोकन गर्न पुगेको गाउँपालिकाका अध्यक्ष उदय राईले समयको प्रत्येक पल जमिन भासिदै गएको बताए । उनले पेनस्टक पाइप विच्छ्याएको एक सय मिटर आसपास बढी खतरामा रहेको जानकारी समेत गराए ।

    गाउँपालिका अध्यक्ष राईले चुहिएको पेनस्टक पाइप केही भएर फूट्यो भने जति खेरपनि ठूलो धनजनको क्षति हुने बताउँदै, पैसा कमाउँने हाइड्रो पावर कम्पनीलाई धनजनको सुरक्षाको ग्यारेन्टि गर्दै चाडै मर्मत गर्न आग्रह गरेको जनाए ।

    हाइड्रो पावरको जमिन जेठदेखि नै भासिन थालेको हो । बनाउँदै सुरूङ मार्ग र टनेलमा समस्या भएकाले जमिनमा असर परेको हुन सक्ने स्थानीय वडा अध्यक्ष बर्तमान गुरूङको अनुमान छ ।

    जमिन भासिएको थाहा पाएपछि कम्पनीको काठमाण्डौंबाट आएको एक अध्ययन टोलीले अध्ययन गरेको थियो । टोलीले ३ दिनसम्म अध्ययन ग¥यो । तर अहिलेसम्म प्रतिबेदन सार्वजनिक गरेको छैन ।

    अध्यक्ष गुरुङका अनुसार अध्ययन टोली काठमाण्डौ पुगेपछि कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । अध्ययन टोलीको सम्पर्कमा आएकालाई कोरोना परीक्षण गरिएकोमा थप ४ जनामा कोरोना पोजेटिभ पुष्टि भएपछि अध्ययन प्रतिवेदन सार्वजनिकसँगै मर्मतको काम समेत अलपत्र परेकोले समस्या झन बढ्दै गएकोे अनुमान गरेका छन् । -पालिका खबर

    प्रतिक्रिया दिनुहोस