२०८१ बैशाख १६, आईतबार | Sun, 28, Apr, 2024

यस्ताे छ सिद्धिचरण राजमार्गकाे हालत, मर्मत गर्न किन आलटाल ?

  • २०७७ आश्विन ८, बिहिबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुंगा- तीन दिनदेखिको वर्षाका कारण सिद्धिचरण राजमार्गको ओखलढुंगा-सोलु खण्डमा दर्जन बढी ठाउँमा पहिरो गएको छ। हर्कपुर ओखलढुंगा र ओखलढुंगा–जन्तरखानी खण्डमा पहिरो दजनौं स्थानमा पहिरोले सडक भत्किएको छ।

    पहिरोका कारण यातायात सञ्चालन गर्न जोखिम बढेको छ। माथिल्लो सगरमाथाका तीन जिल्ला खोटाङ र सोलुसमेत यही राजमार्ग हुँदै जाने भएकाले मूख्य सडक नै जीर्ण भएपछि समस्या देखिएको अनुगमनमा पुगेका सहायक प्रमुख जिल्ला अधिकारी तुलसी भट्टराईले बताए। उनले सडक नै पुरै अवरुद्ध नभए पनि पहिरोका कारण जुनसुकै बेला दुर्घटना हुने र अवरुद्ध हुने अवस्था देखिएको जनाए।

    यो राजमार्गमा जिल्ला बाहिर जाने सवारी नचल्दा सुनसान थियो। हाल सवारी सुचारु भएपछि अत्याधिक चाप, सडकको क्षमताभन्दा बढी लोडका ढुवानी साधान चलेपछि धस्सिएको सडक वर्षादका कारण पहिरो जान थालेको छ। सहायक प्रमुख जिल्ला अधिकारी नेतृत्वको अनुगमन टोलीले राजमार्गको दुराअवस्थाका कारण दुर्घटनाको जोखिम बढाएको निष्कर्ष निकालेको छ।

    सिद्धिरचण राजमार्ग अन्तरगत ओखलढुंगा क्षेत्रतर्फको ६५ किलोमिटर सडकखण्डका दर्जन बढी स्थानमा ठूला पहिरा छन्। अनुगमन टोलीले सडकको अवस्था नाजुक रहेको पाइएपछि सम्बन्धित निकायलाई चाँडो मर्मत गर्न निर्देशन दिएको सहायक सिडियो भट्टराईले बताए। तर सडक हेर्ने जिम्मा पाएको सडक डिभिजन कार्यालय हर्कपुर भने हाल बजेट नभएको भन्दै पन्छिएको छ।

    सडक डिभिजन कार्यलय, हर्कपुरका प्रमुख अरुणकुमार लालकर्णले सडकखण्ड मर्मतका लागि माथिल्लो निकायबाट बजेटको माग गर्ने र बजेट आएमा ठेक्का प्रक्रियामार्फत मर्मतको काम सुरु गर्ने बताए।

    सडक तत्काल मर्मत नगरे सवारी सञ्चालन हुन नसक्ने र ढुवानी तथा आवतजावत समेत अवरुद्ध हुने अवस्था रहेको अनुगमन समितिको निष्कर्ष छ। सरकारले असोज १ गतेदेखि लामो दुरीका सवारीसाधन सञ्चालनमा ल्याएसँगै यस राजमार्ग भएर दैनिक १ सयभन्दा बढी ढुवानी तथा यात्रुबाहक सवारी साधन सञ्चालन भइरहेका छन्। -अन्नपूर्ण

    प्रतिक्रिया दिनुहोस