२०८१ बैशाख २२, शनिबार | Sat, 04, May, 2024

प्रहरी जवानकाे पसिनामा हाकिमकाे मस्ती

  • २०७७ आश्विन १३, मंगलबार मा प्रकाशित ३ साल अघि
  • काठमाडौं- प्रहरीका कर्मचारीको पारिश्रमिकबाट कटौती गरेर सञ्चालन गरिएको कल्याणकारी कोषमा हाकिमहरूको दोहन रोकिएको छैन। कल्याणकारी कोषमार्फत सञ्चालित प्रहरी पेट्रोल पम्पमा मात्र करिब पाँच करोड अनियमितता भएको खुलेको छ।

    पेट्रोल पम्पमा अनियमितता गरेको आरोपमा पक्राउ परेका असइ दिलीप कार्कीमाथि छानबिन गर्दा पाँच करोडभन्दा धेरै अनियमितता भएको देखिएको हो। ‘सुरुमा असइलाई मात्र दोषी देखाउने गरी विषय शान्त पार्न खोजिएको थियो, तर भ्रष्टाचार ठूला देखिएपछि फराकिलो छानबिन सुरु भएको छ,’ प्रहरीको स्रोतले भन्यो।

    यस विषयमा अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नेपाल प्रहरीले छुट्टाछुट्टै टोली बनाएर अनुसन्धान अघि बढाएका छन्। असइ कार्कीले ०७५ को असोजदेखि ०७६ को असोजसम्म मात्रै एक करोड आठ लाख हिनामिना गरेका हुन्। त्यसअघि पनि अन्य कर्मचारीले त्यसरी अनियमितता भएको खुलेपछि थप छानबिन अघि बढाइएको छ।

    सर्वेन्द्र खनाल प्रहरी महानिरीक्षक हुँदा धेरै अनियमितता भएको छानबिनमा देखिएको छ। त्यतिवेला प्रहरी कल्याण कोषमा कार्यरत धेरै प्रहरी अधिकारी छानबिनमा तानिने अख्तियार स्रोत बताउँछ ।

    नेपाल प्रहरीले प्रारम्भिक छानबिन गरी असइ कार्कीलाई गत ३० साउनमा अख्तियारलाई बुझाएको थियो । उनले एक करोड आठ लाख ९९ हजार एक सय ८४ रुपैयाँ हिनामिना गरेको खुलेपछि आयोगमा बुझाइएको थियो । सोही अनियमिततामाथि छानबिन गर्ने क्रममा त्यसअघि पनि पेट्रोल पम्पमा हिनाहिना भएको तथ्य खुलेको छ । स्रोतका अनुसार हालसम्मको छानबिनमा करिब पाँच करोड हिनामिना भएको देखिएको छ ।

    अहिले बाहिर आएको अनियमितता नक्सालस्थित पेट्रोल पम्पको मात्र हो । सामाखुसी, पथलैया, कदमाहामा समेत कल्याण कोषअन्तर्गत पेट्रोल पम्प सञ्चालित छन् भने भरतपुरमा सञ्चालनको अन्तिम तयारी छ । अन्य पेट्रोल पम्पमा समेत धेरै चुहावट देखाएर अनियमितता हुने गरेको स्रोत बताउँछ , नयाँ पत्रिका दैनिकले खबर लेखेकाे छ ।

    प्रतिक्रिया दिनुहोस