२०८१ बैशाख १७, सोमबार | Mon, 29, Apr, 2024

ओखलढुंगा-रामपुर सडक: हिल्याएकाे खेत कि माेटर गुड्ने सडक ?

  • २०७७ आश्विन १३, मंगलबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुंगा- ठेकेदारले काम अलपत्र छोड्दा ओखलढुंगा रामपुर सडक पार गर्नै मुस्किल पर्छ । कालोपत्रेका लागि चौडा बनाइएको सडक लगातारको वर्षातका कारण हिलाम्ये भएपछि आवतजावतमा समस्या आएको छ ।

    अत्याधिक हिलोका कारण १६ किलोमिटर सडक पार गर्न जीप र मोटरसाइकमा २ घण्टासम्म लाग्ने गरेको स्थानीय सञ्जय खत्रीले बताए । उनले भने, ‘हिलोका कारण पाइलैपिच्छे मोटरसाइकल फस्छ, सदरमुकामबाट पश्चिम चल्ने मुख्य सडक नै पार गर्न सकिने अवस्था छैन ।’

    मोटरसाइकल त पार गराउन निकै कठिन हुने स्थानीय बताउँछन् । रामपुरका गोपाल नेपाल भन्छन्, ‘मोटरसाइकलमा हिड्दा रोपाइमा गएर आएजस्तो हिलाम्ये भइन्छ, काम परेपछि हिड्न बाध्यता हुन्छ ।’ सडकको हिलोका कारण सवारी दुर्घटनाको जोखिम बढेको छ । हिलो र चिप्लो सडकले दुर्घटना पो हुने हो कि भन्ने त्रास लिएर हिड्नु पर्ने कमल बानियाँको गुनासो छ ।

    ठेकेदारले सडक चौडा बनाएर छाडेपछि गएको पहिरोका कारण बाटो पटकपटक अवरुद्ध हुने गरे पनि नाली कटाउने र सफा गर्ने काम नगर्दा आवतजावतमा समस्या भएको छ । घाम लागेको समयमा पनि सडक चौडा बनाएर नाली नकटाएकाले सडक धान रोप्न हिल्याएजस्तो हुने स्थानीय माधव कार्कीले बताए । उनले भने,’ ‘ठेकेदारको लापरवाहीले सदरमुकाम आउन र गाउँपालिका केन्द्र जान जोखिम मोलेर हिड्नुपर्छ ।’

    यो सडक कालोपत्रेका लागि गौरा पार्वती निर्माण सेवाले जिम्मा पाएको छ । नेपाल सरकार, भूकम्प आपतकालीन परियोजना अन्र्तगत उक्त सडक कालोपत्रेको काम सुरु भएको हो । यो परियोजना अन्र्तगत सिद्धिचरण नगरपालिकाबाट मोलुङ गाउँपालिका २ रामपुरसम्म कालोपत्रे र रामपुरदेखि हर्कपुरको लप्सेसम्म ग्राभेलिङ गर्नेगरी गत वर्ष नै ठेक्का लागेर काम सुरु भएको थियो ।

    चाडबाड नजिकिएको र कोरोना संक्रमणकै बीचमा यातायात खुलेकाले आवतजावत र ढुवानीका साधनको चाप बढे पनि सडक मर्मत गर्नेतर्फ कार्यालय र ठेकेदारले चासो दिएका छैनन् । पहिलो चरणमा सडक चौडा पार्ने काम सकिएको अहिले वर्षाद कारण काम समेत रोकिएकाले समस्या आएको इन्जिनियर सरोज केशीले बताए ।
    दुई खण्ड सडकमध्ये पहिलो खण्ड ओखलढुंगा–रामपुर १६ किलोमिटरमा ३.७५ मिटर चौडा डिबिएस्टी र दायाँबायाको १.५ मिटर सोल्जर गर्ने गरि ठेक्का लगेको हो ।
    अर्को खण्ड रामपुर लप्सेखोलासम्म ७.६२ किलोमिटर ग्राभेल गरिनेछ । ०७५ असारमा सम्झौता भएको उक्त सडक सम्पन्न गर्ने अवधि ५ सय ४०  दिन अर्थात् १८ महिना हो । भ्याटसहित सम्झौता रकम २९ करोड ९९ लाख ६० हजार छ ।

    तोकिएको समयमा काम नगरेर म्याद थपिएको छ । थपिएको म्याद समेत मंसिरमा सकिदैछ । उक्त आयोजना हेर्ने कार्यालयको म्याद नै पुसभरिमात्रै रहेकाले सडक कालोपत्रे हुनेमा स्थानीय विश्वस्त छैनन् । ‘कामै नगरी समय सकिने जस्तो छ, घाम लागेकै बेला फस्छ, अलिअलि पानी पर्यो कि बाटैमा अलपत्र पर्ने अवस्था छ,’ स्थानीय युवा अर्जुन गिरीले भने ।

    प्रतिक्रिया दिनुहोस