२०८१ बैशाख १७, सोमबार | Mon, 29, Apr, 2024
लिला सुनुवार

माेलुङ हाइड्राेकाे दावी: ‘प्रशारण लाइनकाे समस्याले विद्युत उत्पादनमा ह्रास’

  • २०७७ आश्विन १६, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुंगा- मोलुङ गाउँपालिका स्थित मोलुङ हाईड्रोपावर कम्पनीले उत्पादन गरेको ७ मेगावाटको मोलुङ हाईड्रोको उत्पादन क्षमतामा ह्रास आएको छ । कम्पनीले विद्युत उत्पादन शत प्रतिशत उत्पादन गर्न नसकेको जनाएको छ ।

    यसको दोष भने कम्पनीले ओखलढुंगा-बुईपा ३३ केभि प्रशारण लाईनलाई दिएको छ । प्रशारण लाइनमा बारम्बार आउने समस्या र खोलाको पानीमा आउने घटबढले हाइड्रो समस्यामा परेको उसको दावी छ । पानी घटबढ हुने र प्रशारणलाईनमा आउने समस्याले शत प्रतिशत विद्युत उत्पादन गर्न नसकिएको मोलुङ हाईड्रोपावर कम्पनीका सञ्चालक नबिन महर्जनले दावी गरे ।

    ओखलढुंगा-बुईपा-बुईपा-जलजले प्रशारण लाईनमा बारम्बार रुख र बाँसका पातले तारमा छुने र यसरि प्रशारण लाईनको तारमा बोट बिरुवाले छोएको बखत विद्युत गृहमा ट्रिप खान पुगि विद्युत उत्पादन बन्द हुने कम्पनीको दावी छ । २०७४ साल चैत्र १२ गतेबाट विद्युत उत्पादन सुरु गरेको विद्युत कम्पनीले आर्थिक बर्ष ०७४/०७५ मा ४३ प्रतिशत, ०७५/०७६ मा ५८ प्रतिशत र ०७६/०७७ मा ७०.५ प्रतिशत मात्रै विद्युत उत्पादन गरिएको मोलुङ हाईड्रोपावर कम्पनीका आयोजना प्रमुख सुवास चन्द्र झाले बताए ।

    कम्पनीले कुल उत्पादन क्षमताको सत प्रतिशत विद्युत उत्पादन गर्न नसक्दा हालसम्म ५ करोड ७६ लाख ८१ हजार ३ सय रुपैया बराबरको नोक्सान कम्पनीलाई भएको आयोजना प्रमुख झाले बताए । कुल १ अर्ब ४५ लाखमा निर्माण सम्पन्न भएको मोलुङ हाईड्रोपावरमा ४ वटा बैंकको १ अर्ब ३ करोड ऋण लगानी रहेको कम्पनीले जनाएको छ । विद्युत उत्पादनमा हृास आएकोले कम्पनीले बैंकको ब्याज मात्रै तिर्न सकिएको र कम्पनीले नाफा कमाउन नसक्दा स्थानिय शेयर लगानी कर्ताहरुलाई लाभंश दिन नसकिएको कम्पनीले जनाएको छ ।

    विद्युत प्राधिकरण ओखलढुंगाका प्रमुख संजिब शाहले ओखलढुंगा-बुईपा र बुईपा-जलजले प्रसारण लाईनको अधिकांश भाग जङ्गलमा पर्ने भएकाले विद्युत लाईनमा रुख बिरुवाले छुने समस्या रहेको र लाईनमा रहेका रुखहरु चाँडै हटाउने योजना रहेको बताए । यसै गरि १३२ केभी क्षमताको प्रसारण लाईन निर्माणको क्रममा रहेको र उक्त प्रसारण लाइन बिस्तार सम्पन्न भए पछि ३३ केभि प्रसारण लाईनमा देखिएको समस्या समाधान हुने समेत प्रमुख शाहले बताए ।

    प्रतिक्रिया दिनुहोस