२०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024

वडा अध्यक्षविरुद्ध आषय करणी मुद्दा दर्ता, गाउँमा नमिलेपछि प्रहरीलाई समेत मिलाउन दवाव !

  • २०७७ आश्विन २१, बुधबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुंगा- एक २४ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा मानेभञ्ज्याङ गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष मेडल राई विरुद्ध आषय करणी मुद्दा दर्ता भएको छ । जिल्ला प्रहरी कार्यालयले मुद्दा दर्ता गरेर अनुसन्धानका लागि पाँच दिन म्याद थप गरेको डिएस्पी रुपेश खड्काले बताए ।

    पीडितको उजुरीका आधारमा आरोपित वडा अध्यक्ष राईलाई प्रहरीले सोमबार पक्राउ गरेको थियो । आरोपितले असोज १६ गते राति पीडितको घरैमा गएर सुतेको ठाउँमा बलात्कार प्रयास गरेको पीडित महिलाको भनाइ छ । घटनापछि १७ गते आरोपित वडा अध्यक्षसहित स्थानीयले दवाव दिएर मिलापत्र गर्न दवाव दिएको पीडितले बताइन् ।

    पीडित महिलाको स्वास्थ्य परिक्षण गरेर पीडितलाई सुरक्षित आवाश गृहमा राखिएको छ । आरोपित वडा अध्यक्षको परिवारका सदस्य तथा केही अपरिचित व्यक्तिले सुरक्षित आवाश गृहका कर्मचारीलाई मानसिक रुपमा दवाव दिने गरेको गुनासो छ । आवश गृहमा दवाव दिन केही व्यक्ति गएपछि सुरक्षाको व्यवस्था समेत गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका डिएस्पी खड्काले बताए ।

    त्यसरी दवाव दिनेमा जनप्रतिनिधी समेत छन् । केही व्यक्तिले पीडित स्वास्थ्य परिक्षण गर्न रुम्जाटार अस्पताल पठाइएकाे समयमा अस्पताल नै पुगेर दवाव दिएका थिए । घटनालाई राजनीतिक रुप दिएर दवाउने प्रयास गरिएकाे थियाे । घटना मिलाउन केही जनप्रतिनीधि र नेताहरु प्रहरी कार्यालय नै पुगेर दवाव दिएका थिए । घटना बलात्कार प्रयासकाे भए पनि मुद्दा भने आषय करणीकाे दर्ता भएकाेमा सराेकारवालाहरुले भने आश्चर्य व्यक्त गरेका छन् ।

    घटना भएकाे भाेलिपल्ट प्रहरी चाैकी केतुकेबाट गएकाे प्रहरी टाेली समेत स्थानीयकाे दवावमा निरिह भएर ‘स्थानीयले भने अनुसारै’ हुने भन्दै फर्किएकाे थियाे ।

    प्रतिक्रिया दिनुहोस