२०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024
नगरपालिकाभित्रै ३ माेटरेवल पुल अलपत्र

पुल शिलान्याश गर्दै राज्यमन्त्री गुरुङले भने, ‘समयमै नसके कारवाही गर्छु’

  • २०७७ मंसिर २१, आईतबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुंगा- ओखलढुंगा रुम्जाटार सडकको वैकल्पिक मार्गमा पर्ने सिस्ने खोला पक्की पुल ठेक्का सम्झौता भएको ५ महिनापछि शिलान्याश भएको छ । प्रदेश सरकारको अनुदानमा पूर्वाधार विकास कार्यालयसँग सम्झौता भएको ५ महिनापछि पुल शिलान्याश गरिएको हो ।

    उक्त पुल निर्माणका लागि २०७७ असार २५ गते २०७९ असार २४ गते सम्पन्न गर्ने गरि निर्माण कम्पनीले सम्झौता गरेको थियो । पुल सिद्धिचरण नगरपालिका वडा नं. ११ मिलनचोकदेखि रुम्जाटारसम्म जोड्ने मिलनचोक-सपनावति-रम्जाटार सडक खण्डमा पर्छ । सदरमुकाम ओखलढुंगाबाट ६ किलोमिटरको दुरीमा रुम्जाटार जोड्ने उक्त वैकल्पिक सडकमा पर्ने पुल निर्माण भएपछि सदरमुमकाबाट चिशंखुगढी गाउँपालिका जान समेत दुरी छोटो पर्छ ।

    सिस्ने खोलामा ३५ मिटर लम्बाई र ८.४ मिटर चौडाईको प्रिस्ट्रेस आरसिसि पुल निर्माणको ठेक्का केएम इन्जिनियर्स विल्डर्स प्रा.लि काठमाण्डौंले लिएको छ । कूल लागत भ्याटसहित ५ करोड, ४४ हजार ४ सय ४२ रुपैंया छ । उक्त पुलको प्रदेश नं. १ का भौतिक पूर्वाधार विकास राज्य मन्त्री अम्बीरबाबु गुरुङले गरे । उद्घाटनमा सिद्धिचरणका प्रमुख मोहनकुमार श्रेष्ठ उपप्रमुख ईच्छाकुमारी गुरुङलगायत जनप्रतिनिधी सहभागी थिए ।

    पुलको शिलान्याश गर्दै राज्य मन्त्री गुरुङले पुल निर्माणको काम समयमै सम्पन्न गर्न ठेकेदार प्रतिनिधीलाई निर्देशन दिए । उनले समयमा काम नसके कारवाही गर्ने समेत चेतावनी दिएका छन् । सिद्धिचरण नगरपालिकाभित्र मात्रै ४ वटा मोटरेबल पक्की पुल म्याद सकिँदा पनि पुरा भएका छैनन् । ठेकेदारले समयमा काम नगर्दा ठूला आयोजना अलपत्र हुने गरेका छन् । अन्य आयोजना जस्तो रुग्ण बनाएर राखे आफुले कारवाही गर्ने मन्त्रीको चेतावनी छ ।

    सिद्धिचरण नगरपालिकाको ऐतिहाँसिक ठाउँ रुम्जाटार र जिल्ला सदरमुकामलाई छोटो दुरीमा जोड्ने मिलनचोक-सपनावती-रुम्जाटार सडक खण्डको उक्त पुल बनेपछि आवतजावतमा सहजता आउने छ । शिलान्याशकै दिन निर्माण कम्पनीले कामदार खटाएर पुल निर्माणको काम थालेको जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस