२०८१ बैशाख २३, आईतबार | Sun, 05, May, 2024

भीष्मराजको आरोपः ‘ओली कोरियाली तानाशाहजस्ता’

  • २०७७ फागुन २९, शनिबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुङ्गा- नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा अनुशासन समितिका संयोजक भिष्मराज आङ्देम्बेले नयाँ सरकार बन्ने परिस्थिति निर्माण हुँदा काँग्रेसले नै नेतृत्व गर्ने बताए । प्रधानमन्त्री केपी शर्मा ओली उत्तर कोरियाका तानाशाह किमजोनजस्तो तानाशाह बन्ने बाटोमा लागेकाले विस्थापन अत्यावश्यक भएको उनको भनाइ छ ।

    प्रेस युनियन ओखलढुङ्गाले सदरमुकाम ओखलढुङ्गामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले प्रधानमन्त्री ओली लोकतन्त्रको आडमा एक दलीय तानाशाह बन्ने अभ्यासमा लागेको भन्दै यस्तो आरोप लगाएका हुन् । उनले भने- ‘संविधानमाथि अतिक्रमण गरेर एमाले पार्टी घरभित्रै सकाउन खोज्ने ओलि प्रवृति एक दलीय तानाशाही हो ।’

    सरकार बनाउन काँग्रेसले अरुलाई साथ दिन नहुने भन्दै प्रमुख प्रतिपक्षी दल भएकाले देउवा प्रधानमन्त्री हुने कष्टमा मात्रै सत्ता समिकरणमा सहभागी हुने प्रष्ट पारे । कांग्रेसले मात्रै अहिले भत्किएको थिति सहि बाटोमा ल्याउने उनको दावी छ ।

     

    नेता आङ्देम्बेले नेकपा विवाद निरुपणमा निर्वाचन आयोगको भूमिकाप्रति लक्षित गर्दै आयोग कम्युनिष्ट पार्टीको स्कूल विभागजस्तो बनेको आरोप पनि लगाए । ओलि प्रवृतिले लोकतन्त्र र लोकतान्त्रिक संरचनाहरु धरापमा परेकाले ओलिको विकल्पमा नयाँ सरकार आवश्यक रहेको उनको तर्क छ ।

    जनता समाजवादी पार्टीको नागरिकता, रेशम चौधरी रिहाइ लगायतका माग सत्ता समिकरणमा शर्तका रुपमा स्वीकार गर्न नहुने भन्दै आङ्देम्बेले कांग्रेस सत्ता समिकरणमा सहयोगी होइन नेतृत्व गर्ने अवस्थामा मात्रै सरकार चलाउन तयार हुने बताए ।

    प्रतिक्रिया दिनुहोस