२०८१ बैशाख २२, शनिबार | Sat, 04, May, 2024

सुख्खा पहिरो झर्याे दुधकोशी नदीमा

  • २०७८ कार्तिक २३, मंगलबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा- जिल्लाको मानेभन्ज्याङ गाउँपालिका ३ मा पर्ने दुधकोशी करिडोर सडकको चुने भन्ने ठाउँ नजिकै शुरु भएको सुख्खा पहिरो करिब २० दिनदेखि झरेको छ । दशैंमा परेको भीषण वर्षा रोकिएपछि पहिरो शुरु भएको थियो । सो पहिरो हालसम्म अनुमानित २ सय ५० मिटर भन्दा अग्लो भएर झरिसकेको छ ।
    एक साता अघि सम्म भीषण रुपमा झरेको पहिरो अहिले केही रोकिएको छ । तर सानो परिमाणमा झर्ने क्रम रोकिएको छैन ।
    पहिरोबाट झरेको ढुंगा माटो सिधै दुधकोशी नदीमा खसेको कारण नदीको पानीको वहाव समेत केही मात्रामा रोकेको छ । दुधकोशी करिडोर अन्तर्गत जयरामघाट–मोली सडक खनेकै ठाउँबाट पहिरो झर्न शुरु गरेको स्थानीयको भनाई छ । बेलाबेलामा ठूलो मात्रामा पहिरो खस्दा त्यसको धुलो उँबुको तल्लो भेग फकुल गाउँ सम्मै आईपुग्ने गरेको स्थानीय कल्याण राईले बताए ।

    पहिरो झरेर सिधै दुधकोशी नदीमा झरेको दृश्य । तस्बीर सौजन्यः– मिलन राई

    स्थानीयका अनुसार पहिरोको कारण मानेभन्ज्याङ गाउँपालिका ६ मा पर्ने रिब्दोम गाउँको करिब १२ घर जोखिममा छन् । त्यसैगरि सोदु कुरुब्वामलुङ गाउँका स्थानीय र केटाकेटीहरु विद्यालय जाने, अर्को गाउँ जाने बाटो नै बन्द भएको छ । खचापु लगायतका गाउँलेहरु जयरामघाट बजार जान एक घण्टा भन्दा बढी समय घुमेर पहिरोको शीरबाट जोखिमयुक्त बाटो प्रयोग गर्न बाध्य भएका छन् ।
    पहिरोबाट झरेको ढुंगा माटोले दुधकोशी नदीको करिब २० प्रतिशत वहाब रोकेको जयरामघाटका स्थानीय मिलन राईले बताए । पानीको बहाव छेकेपछि नदीको पानी खोटाङको हलेसी तुवाचुङ नगरपालिका तर्फ पर्ने जंगल पसेर बग्न थालेको छ । यस ठाउँमा पहिले पहिरो खासै नभएकोले सडक खनेकै कारण पहिरो शुरु भएको अनुमान गरिएको छ ।

     

    प्रतिक्रिया दिनुहोस