२०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024

संगिठत बन्दै स्वतन्त्र, सिद्धिचरणमा संयुक्त चुनाव प्रचार कार्यालय

  • २०७९ बैशाख १८, आईतबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा-  सिद्धिचरण नगरपालिकामा विभिन्न दलबाट विद्राेह गरेर स्वतन्त्र उम्मेदवार बनेकाहरु संगठित रुपमा प्रतिस्पर्धाको तयारी गरेका छन् । उनीहरुले स्वतन्त्र उम्मेदवारहरूको साझा सम्पर्क कार्यालयसमेत स्थापना गरेका छन् । एमालेबाट विद्रोह गरी मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका सीताराम गुरुङको नेतृत्वमा संगठित बनेका हुन् ।

    स्वतन्त्रहरुको समूहमा वडाअध्यक्षको उम्मेदवारी दिएकाहरु वडा नं. १ का महेन्द्र श्रेष्ठ, वडा नं. ३ का शिव बानियाँ, वडा नं. ४ कल्याण राई र वडा नं. ५ का थगेन्द्रराज राई लगायत छन् । वडा सदस्यहरुसहित करिब दर्जनको संख्यामा स्वतन्त्र उम्मेदवारहरू रहेको मेयरका उम्मेदवार सीताराम गुरुङले बताए ।

    उनीहरु सबैको चुनाव चिह्न धारा परेको छ । सोही कारण चुनावी प्रचारसमेत मिलेर गर्ने उनीहरूले बताएका छन् । आइतबार सम्पर्क कार्यालय स्थापनाको कार्यक्रममा उनीहरूले यसबारे जानकारी दिएका छन् ।

    ‘वास्तवमा पार्टीहरू अब दलाल, पुँजीवादी, व्यापारी र सिन्डिकेट चलाउनेको हातमा गइसक्यो,’ गुरुङले भने, ‘त्यसैको विरुद्ध हामी सबै दलबाट विद्रोह गर्नेहरुको समूह यो बनेको छ ।’

    उनीहरुले स्वतन्त्र उम्मेदवार बनेर कसैलाई चुनावमा हराउन वा भोट काट्नका लागि उम्मेदवारी नदिएको पनि बताए । चुनाव जितेर उनीहरूले पार्टीका उम्मेदवारभन्दा राम्रो काम गर्ने प्रतिबद्धतासमेत गरेका छन्।

    धारा चुनाव चिह्न बारे गुरुङले  प्रष्ट्याउँदै भने, ‘पानी नआउने धारा हाेइन पानी आउने धारा बनाउनु पर्छ, यसले मनमा भएका कालाेमैला पखाल्नुपर्छ । २०१५ सालमा कम्युनिष्ट आन्दाेलनका अगुवा शिक्षक नारायण बहादुर गुरुङले पनि धारा चुनाव चिन्ह लिएका थिए ।’ लिगेसीका हिसाबले पनि धाराकाे महत्व रहेकाे उनले चर्चा गरे ।

    प्रतिक्रिया दिनुहोस