२०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024

सिद्धिचरणका स्वास्थ्यकर्मीमाथि विभेदः समान पदमा असमान तलव सुविधा

  • २०७९ श्रावण ११, बुधबार मा प्रकाशित १ साल अघि
  • ओखलढुंगा-  सिद्धिचरण नगरपालिकाले करारमा कार्यरत समान पदका स्वास्थ्यकर्मी तथा कर्मचारीलाई दिइने ज्यालामा विभेद गरेको पाइएको छ । नगरपालिकाले करारमा नियुक्त गरेका अहेव अनमी र कार्यलय सहयोगीको तलव फरक फरक दरमा दिने गरेको हो ।

    अहेवमा नियुक्त समान पद र तहका स्वास्थ्यकर्मीलाई १४ हजारदेखि २२ हजारसम्म तलव दिएको पाइएको छ । त्यस्तै अनमीलाई १४ हजारदेखी १८ हजारसम्म तलव सुविधा उपलब्ध गराएको हो ।

    यसरी समान तहमा रहेर काम गर्दा फरक फरक सेवा सुविधा पाउने २ कार्यालय सहयोगी र १५ जना स्वास्थ्यकर्मी छन् । उनीहरुलाई असमान सुविधा दिने प्रचलन नीतिसंगत नभएको महालेखाको प्रतिवेदन २०७८ मा उल्लेख गरेको छ ।

    स्वास्थ्यकै कार्यलय सहयोगीको तलव समेत फरक फरक छ । अघिल्ला आर्थिक वर्षमा दिएको असमान तलबमानबारे महालेखा परिक्षकको प्रतिवेदनमा प्रश्न उठाइएको भए पनि नगरपालिकाले चालु वर्षमा समेत समान तहमा समान तलव सुविधा दिएको छैन ।

    सिद्धिचरण नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख पवन लामाले पालिकाको स्रोत अभावका कारण विगतमा फरक फरक सुविधा दिएको र यो वर्षबाट जनही २ हजार थप गर्ने नगरपालिकाले निणर्य गरेको बताए । लामाका अनुसार क्रमश  समान पद र तहका कर्मचारीलाई समान सुविधा दिने नगरपालिकाले नीति लिएको जनाए ।

    नगरपालिकाले विगतमा श्रम ऐनले तोकेको न्यूनतम ज्यालाभन्दा कम दिने गरेको भन्दै कर्मचारीले गुनासो गर्दै आएका थिए । यस वर्ष २ हजार थपेर श्रम ऐनले तोकेभन्दा कम सुविधा नदेखाइए पनि समान भने दिइएको छैन ।

    प्रतिक्रिया दिनुहोस