२०८१ बैशाख १८, मंगलबार | Tue, 30, Apr, 2024
सुनकोसीमा मोटरसाइकल चरम दुरुपयोग

सरकारी सवारीमा कतै नम्बर प्लेट नै छैन, कतै निजी नम्बर

  • २०७९ श्रावण १७, मंगलबार मा प्रकाशित १ साल अघि
  • ओखलढुंगा : सुनकोसी गाउँपालिकामा पालिकाले खरिद गरेका मोटरसाइकल चरम दुरुपयोग भएको पाइएको छ। पालिकाले २ वर्ष पहिले खरिद गरेका मोटरसाइकमा अझै सरकारी नम्बर प्लेट छैन। कति निजी नम्बर उल्लेख गरेर कर्मचारीले प्रयोग गरिरहेका छन्।

    यातायात कार्यालयबाट सरकारी नम्बर प्राप्त गरेर नम्बर उल्लेख गर्न गाउँपालिकाले चासो देखाएको छैन। पालिकाको अभिलेखमै प्रकृयामा रहेका धेरै मोटरसाइकल चालक अनुमति पत्र नभएका र अनाधिकृत व्यक्तिले प्रयोग गरेर नम्बर प्लेट नराखी थोत्रा भइसकेका छन्।

    पालिकाले खरिद गरेका २५ मोटरसाइकमध्ये १० मोटर साइकल र १ स्कुटर नम्बरबिना २ वर्षदेखि चलिरहेका छन्। त्यस्ता सवारी साधान पालिका अध्यक्ष र प्रशासकीय अधिकृतका नजिकका व्यक्तिले दुरुपयोग गर्ने गरेको स्थानीयको गुनासो छ।

    एक पालिकाका कर्मचारी भन्छन्, ‘यो विषय बाहिर उठाए यहाँ जागिर खानै कठिन छ, तर यति दुरुपयोग त कतै हुँदैन होला।’ पालिकाका दुई जना कर्मचारीले निजी नम्बर प्लेट राखेर मोटरसाइकल प्रयोग गरिरहेका छन्।

    गाउँपालिकाले आर्थिक वर्ष ०७८/०७९ का लागि तयार पारेको सवारी साधन र तिनको अवस्था झल्किने विवरण।

    लु ५२ प १२६८ र लु ५२ प १२७२ नम्बरका सरकारी मोटर साइकलमा रातो नम्बर प्लेट राखिएको छ। त्यस्तै अर्को प्रदेश १ ०७००१ ब ०००४ नम्बरको मोटरसाइकल प्रायः पालिकाका कर्मचारी र जनप्रतिनिधी नभएका व्यक्तिले दुरुपयोग गर्दै आएको उनले बताए। दुई वर्षपहिलेदेखि यसरी मोटरसाइकल दुरुपयोग हुने गरे पनि पालिकाका प्रशासकीय अधिकृतले नियन्त्रण गरेका छैनन्।

    सुनकोसी गाउँपालिकाका सुचना अधिकारी पुञ्जल लुईटेलले मोटरसाइकलका नम्बर ल्याउने र नामसारी प्रकृयामा रहेको र यातायातमा फायल अड्किएको बताए। उनले भने, ‘केही प्रकृयामा छन्, केही फायल रोकिएर समस्या भएको हो, तर दुरुपयोग भएको र अरुले प्रयोग गरेको सत्य होइन।’

    उनले सवारी साधान दुरुपयोग नभएको दावी गरे पनि पालिकाले सरकारी सवारी साधनमा २ वर्ष पहिलेदेखि दर्ता तथा नवीकरण कर दाखिला लगायतका काम नगरी अनाधिकृत रुपमा प्रयोग गर्ने गर्दै आएको छ। चालक अनुमति पत्र नभएका देखि पालिका अध्यक्ष र प्रशासकीय अधिकृत निकटका व्यक्तिले समेत नम्बर उल्लेख नभएका र रातो नम्बर राखिएका मोटरसाइल दुरुपयोग गर्दै आएका छन्। कतिपय बिग्रेर नचल्ने अवस्थामा थन्किएका छन्।

    यस्ता विषय नियन्त्रण गर्नकै लागि पालिकाले हालै कार्यविधि निर्माण गरेर चालक अनुमति पत्र भएका र आधिकारिक व्यक्तिलाई मात्रै सवारी साधान वितरण गर्ने निर्णय गरेको पालिकाका प्रवक्ता तथा वडा नं. १ का अध्यक्ष प्रकाश सापकोटाले बताए। उनले नम्बर उल्लेख नभएकाले जस्ले पनि प्रयोग गरेको हुन सक्ने भन्दै नियन्त्रणका लागि कार्यविधी आवश्यक रहेको बताए।

    प्रतिक्रिया दिनुहोस