२०८१ बैशाख १९, बुधबार | Wed, 01, May, 2024
उम्मेदवार परिचय

ओखलढुंगा प्रदेश ख मा गठबन्धनका उम्मेदवार गाैतम काे हुन् ?

  • २०७९ आश्विन २७, बिहिबार मा प्रकाशित १ साल अघि
  • ओखलढुंगा-  नेकपा माओवादीको जिल्लाका संस्थापक नेता बाबुराम गौतम पहिलो पटक चुनावी मैदानमा छन्। उनले सत्ता गठबन्धनबाट प्रदेश ख को टिकट पाएका हुन्।

    नेकपा माओवादीले २०५२ साल फागुन १ गते जनयुद्ध घोषणा गर्दा गौतमसहित ३ जना ओखलढुंगाबाट सहभागी थिए। ओखलढुंगा काठमाडौं सम्पर्क समिति मार्फत उनी जनयुद्धमा सहभागी थिए। गौतमले माओवादी निकट मजदुर संगठन ट्रेड युनियन महासंघको लामो समय नेतृत्व गरे। २०६० सालमा महासचिव र त्यसपछि उपाध्यक्ष हुँदै हाल पार्टीको केन्द्रीय सदस्य तथा जिल्ला इञ्चार्ज छन्।

    पार्टी संगठनमा इमान्दार र वैचारिक नेताका रुपमा चिनिएका गौतमको चुनावी अनुभव पहिलो हो। यस अघिका निर्वाचनहरुमा उनी जिल्लाबाट सिफारिस भए पनि उम्मेवार बन्न सकेका थिएनन्। यस पटक सत्ता गठबन्धनबाट उम्मेदवार बनेका गौतम आफ्नो सहज जित हुने विश्वासमा छन्। ‘जिल्लामा लामो समय काम गरेर भिजेका र गठबन्धनका साथका कारण चुनाव जित्नेमा ढुक्क छु’, उनले भने।

    उनी लिखु गाउँपालिका वडा ९ स्थित पोकलीमा २०३४ सालमा जन्मिएका हुन्। गौतमको  एमालेका युवा नेता ज्ञानबहादुर खड्कासँग रोचक भिडन्त हुने देखिएको छ। युवाहरुमाझ लोकप्रिय र आर्थिक हिसाबले सम्पन्न खड्का २०७४ सालका स्थानीय निर्वाचनमा सुनकोसी गाउँपालिकामा झिनो मतान्तरले पराजित भएका थिए। अन्य उम्मेदवारहरु चुनावी मैदानमा भए पनि खड्का र गौतम नै यस क्षेत्रका मुख्य प्रतिस्पर्धी हुन्।

    प्रतिक्रिया दिनुहोस