२०८१ बैशाख २२, शनिबार | Sat, 04, May, 2024
संघीय प्रतिनिधि सभा निर्वाचन

रामहरिलाई बदला लिने माैका, ‘ह्याट्रिक’ गर्ने दाउमा यज्ञराज

  • २०७९ कार्तिक १, मंगलबार मा प्रकाशित १ साल अघि
  • ओखलढुङ्गा- एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको ओखलढुंगामा यसपटक यसअघिका निर्वाचनभन्दा फरक हुने छ । २०७९ मंसिर ४ मा सत्ता गठबन्धन र नेकपा एमालेबीच प्रतिस्पर्धा हुँदैछ ।  गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका रामहरि खतिवडा र एमालेबाट यज्ञराज सुनुवार मैदानमा भिड्दैछन् ।

    ०७० र ०७४ को निर्वाचनमा विजयी भएका नेता सुनुवार ‘ह्याट्रिक’ गर्ने दाउमा छन् । तर, उनलाई यसपटक भने सहज छैन । निर्वाचन जित्न फलामको चिउरा सहर हुनेछ । ०७४ सालको निर्वाचनमा नेकपा माओवादी र एमालेको वाम गठबन्धनबाट सुनुवारले निर्वाचन जितेका थिए ।

    नेता सुनुवार र खतिवडा ०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा ओखलढुंगा निर्वाचन–१ र २ बाट निर्वाचित भएका थिए । ०७४ देखि ओखलढुंगामा एकमात्र निर्वाचन क्षेत्र बन्यो । र, यी दुई नेता एकअर्काका प्रतिस्पर्धी बने । दुवै नेताले जिल्लामा राम्रो छवि बनाएका छन् । उनीहरु आ–आफ्नो क्षेत्र र समुदायमा पकड राख्नसक्ने नेताका रुपमा मानिन्छ ।

    गत स्थानीय निर्वाचनमा वडाअध्यक्षहरुले पाएको मत परिणामअनुसार भने खतिवाडालाई सहज देखिन्छ । वडाअध्यक्षहरुले पाएको मतअनुसार कांग्रेसले ३२,२८८, एमाले २९,५९१, माओवादी केन्द्र ६,९६१, जसपा २,१९४, एकीकृत समाजवादी ५२१ र राप्रपा नेपालले १४६ मत पाएको थियो ।

    उक्त मतअनुसार एमालेभन्दा गठबन्धन १० हजार बढी मतले अगाडि रहेको छ । गठबन्धको मत जोड्दा ३९, ७०१ पुग्छ भने एमालेको २९,५९१ मात्रै रहेको छ ।

    यी दुबैजना नेता आगामी निर्वाचनमा दोस्रो पटक प्रतिस्पर्धा गर्दैछन् । खतिवडा सत्ता गठबन्धनको भरमा ०७४ को बदला लिने तयारीमा छन् भने सुनुवार ‘ह्याट्रिक’ गर्ने दाउमा छन् । उनी काँग्रेसभित्रकाे द्वन्द्व र माओवादी भित्रकाे असन्तुष्टि क्यास गरेर चुनाव जीत्ने दाउमा छन्  ।

    ०७४ को निर्वाचनमा सुनुवार माओवादीसहितको मतबाट विजयी हुँदा खतिवडालाई कांग्रेसको मात्र साथ थियो । तर यसपटक परिस्थिति फेरिएको छ । माओवादीसहित एमालेबाट अलग भएको एकीकृत समाजवादीको मत खतिवडालाई जादा  खतिवाडाले जित्न सहज हुने गठबन्धका नेताहरुको दाबी छ ।

    यद्यपी गठबन्धनका नेता उम्मेदवारहरुकाे कार्यशैली र व्यवहारका कारण गठबन्धनकाे ताल सुर मिलिरहेकाे छैन । यसले गठबन्धनभित्रै आशंका उब्जिने र सहकार्य प्रभावकारी नहुने हाे कि भन्ने संशय पैदा भएकाे छ ।

    गठबन्धनका दल नेपाली कांग्रेस र माओवादीले व्यानर निर्माण गर्दा समेत एकिकृत समाजवादीकाे चुनाव चिन्ह र नाम समेत उल्लेख नगरेकाे र कतिपयले याे काँग्रेस-माओवादीकाे गठबन्धन भएकाे बताउन थालेपछि नेताहरुले असन्तुष्टि जनाएका छन् ।

    दुई दलले एकिकृत समाजवादीकाे दलीय हैसियतका रुपमा समान व्यवहार नगरेकाे नेताहरुकाे भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस