२०८१ बैशाख १७, सोमबार | Mon, 29, Apr, 2024

रुम्जाटारको शिव मन्दिरमा दलितलाई पूजा गर्न अवरोध

  • २०७९ फागुन ६, शनिबार मा प्रकाशित १ साल अघि
  • ओखलढुंगा-  सिद्धिचरण नगरपालिका वडा नं ४ स्थित रुम्जाटारको शिव मन्दिरमा शिवरात्रीको अवसरमा पुजा अर्चना गर्न दलित समुदायका व्यक्तिलाई अबरोध गरिएको छ । शिव मन्दिरको रेखदेख गर्दै आएका लक्ष्मण गुरुङलगायतले अवरोध गरेका हुन् ।

    पुजा गर्न आएका अन्य समुदायका व्यक्तिलाई सहजीकरण गरेका उनले दलित समुदायका व्यक्ति आउनासाथ मिल्दैन भनेर रोक लगाएको स्थानीयले बताए । शिक्षिका कृष्णकुमारी गजमेरका अनुसार उनकी आमालाई पुजा गर्न दिएका थिएनन् । उनले पूजा गर्न गएकी जेष्ठ नागरिक महिलालाई हातले तानेर बाहिर निकाल्न खाेजेका थिए । आमालाई अबराेध गरेपछि कृष्णकुमारी समेत पुगेकी थिइन् ।

    उनले समेत प्रतिवाद गरेर मन्दिर प्रवेश गरेपछि गुरुङले मन्दिरको गेट लगाएका थिए । उनले समितिको निर्णय  अनुसार नदिएको भन्दै गेट लगाएपछि उनले पत्रकारलाई खबर गर्ने बताएकी थिइन् । त्यसपछि उनले गेट खोलि दिएका थिए । यो घटनाको नजिकबाट नेपाल प्रहरीका सुरक्षाकर्मीहरुले हेरिरहेपनि कुनै प्रतिक्रिया नदिएको स्थानीयको गुनासो छ ।

    दलितलाई पुजाआजामा अवरोध गरेको विषयमा गुरुङले आफुहरुले त्यसरी नरोकेको दावी गरे । पुजारीलाई जुठो परेकोले पुजाआजा नभएको तर मन्दिरमा नलगाएको भन्दै पन्छिएको थिए । पत्रकार तथा दलित अधिकारकर्मी राज दयालले बताए । यसबारे प्रतिक्रिया लिन पटक पटक फोन गरे पनि गुरुङले अन्नपूणर् संवाददाताको फोन काटेका छन् ।

    मन्दिर व्यवस्थापन समितका अध्यक्ष एकराज गुरुङले मन्दिरभित्र एक जना पुजारी बस्ने र अरु भक्तजनले बाहिरबाटै पुजा गर्ने गराउने भन्ने निर्णय गरेकाे भए पनि कसैलाई भित्र जान दिने कसैलाई नदिने भनेर नराेकिएकाे बताए ।

    अहिले यस बिषयमा छलफल भइरहेकाे बताइएकाे छ । ‘पटक पटक यसरी हामीलाई अमानवीय व्यवहार भएको छ, अहिले सम्म सह्यौं अब सहन सकिदैन’ शिक्षिका गजमेरले भनिन् ।

    प्रतिक्रिया दिनुहोस