२०८१ बैशाख २४, सोमबार | Mon, 06, May, 2024

देउवा, गगन र शेखर एकसाथ ओखलढुंगामा

  • २०८० मंसिर १९, मंगलबार मा प्रकाशित ५ महिना अघि
  • ओखलढुंगा- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा र नेता शेखर कोइराला जिल्ला पार्टी कार्यालय भवन उद्घाटन गर्न ओखलढुंगा आइपुगेका छन् ।

    पार्टीले बनाएको विपी स्मृति भवन उद्घाटन तथा जिल्ला सम्मेलनलाई सम्बोधन गर्न नेताहरु ओखलढुंगा आएका हुन् । पार्टी कार्यालय भवन उद्घाटन गरेर नेताहरु जिल्ला सम्मेलनमा सहभागी भएको जिल्ला सचिव राजकुमार ढुंगानाले बताए ।

    १ करोड २२ लाख ५८ हजार लागतमा उक्त कार्यालय भवन निर्माण भएको हो । भवन निर्माण गर्न काँग्रेस सम्बद्ध कर्मचारी, नेता कार्यकर्ता र शिक्षकहरु समेत गरि ५ सय ५० बढी दाताहरुको सहयोग रहेको छ । भवनमा स्व. नेता मित्रशेन दाहालको स्मृतिमा पुस्तकालय समेत स्थापना गरिएको छ ।

    ढुंगानाका अनुसार पार्टीभित्र नेताहरु विभाजित छन् भन्ने सन्देश चिर्न र सबै एकताबद्ध भए अघि बढ्ने कार्यकर्ताहरुमा खबर सञ्चार गर्न तीन शीर्ष नेताहरु जिल्ला ल्याइएको हो ।

    नेपाली कांग्रेसले अघिल्लो बर्ष नै निर्माण सकेको भवन उद्घाटनको यस अघि पनि तयारी भए पनि नेताहरुको समयम व्यवस्थापन नहुँदा भएको थिएन । जिल्ला सभापति प्रदिप सुनुवारको कार्यकालमा भवन निर्माण भएको हो । निर्वाचन लगायतका कामले उद्घाटन भने ढिलाइ भएको कांग्रेसले जनाएको छ ।

    गगन, शेखर लगायत नेताहरु ।

    सभापति देउवा, महामन्त्री थापा र नेता कोइरालासँगै सहमहामन्त्री भिष्मराज आङ्देम्बे, केन्द्रिय सदस्य मीन विश्वकर्मा, प्रदिपकुमार सुनुवार, कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की लगायतका नेताहरु पनि ओखलढुंगा आएका छन् । उनीहरुले जिल्ला सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

    जिल्ला आउँदा भने महामन्त्री थापा र नेता कोइराला एउटा हेलिकोप्टरमा आएका थिए भने सभापति देउवा उनीहरु आएको २ घण्टापछि अर्कोमा आएका थिए । जिल्लाका नेताहरुले जिल्लामा कोइराला र देउवा समुहको गुटलाई समेत सन्तुलन राख्न दुवै पक्षका शीर्ष नेताहरु जिल्ला ल्याउन पहल गरेका थिए ।

    जिल्लामा मुख्यमन्त्री आउने भएपछि पहिचान पक्षधरहरुले आन्दोलन तथा विरोधका कार्यक्रम राखे पनि कुनै अवरोध गरेनन् । गोरुमारेभञ्ज्यामा पक्षधरहरु उपस्थित हुँदा मुख्यमन्त्री कार्की पार्टी कार्यालय हुँदै जिल्ला समन्वय समितिको हलमा पैदल गएका थिए । नेताहरुले समन्वय गरेर उनीहरुलाई थामथुम पारेको जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस