२०८१ बैशाख १८, मंगलबार | Tue, 30, Apr, 2024

रामपुरमा ‘सहिद गुरु लुइँटेल स्मृति पार्क’ शिलान्याश

  • २०७९ चैत्र १३, सोमबार मा प्रकाशित १ साल अघि
  • ओखलढुंगा- माेलुङ गाउँपालिका २ स्थित रामपुर बजारमा गुरु लुइँटेल स्मृति पार्क शिलान्याश गरिएकाे छ ।   माओवादी जनयुद्धमा  विद्रोही पक्षबाट अपहरणपछि हत्या गरिएका शिक्षक गुरु लुइँटेलको स्मृतिमा पार्क बनाउन लागिएकाे हाे ।

    गुरु लुइँटेल अध्ययन तथा विकास केन्द्रको अगुवाइमा निर्माण हुने पार्कको सोमबार शिलान्यास गरिएको छ । पार्कको मोलुङ गाउँपालिकाका अध्यक्ष उत्तम राईले शिलान्यास गरेका हुन् ।

    एमाले निकट शिक्षक संगठनका जिल्ला अध्यक्ष समेत रहेका गुरु लुइँटेललाई माओवादीले शुराकीकाे आराेमा अपहरणपछि हत्या गरेका थिए । एमालेले लुइटेललाई शहिद घाेषणा गर्न माग गर्दै आएकाे छ । उनी लुईटेलकाे स्मृतिमा २० लाखको लागतमा पार्क बनाउन प्रदेश सरकारले बजेट व्यवस्थापन गरेकाे हाे ।

    शिलान्याश कार्यक्रममा गाउँपालिका अध्यक्ष उत्तम राईले गुरु लुइटेल जस्ता शहिदहरुले मुलुक परिवर्तनका लागि जीवन बलिदानी दिएको इतिहासलाई सम्झँदै अहिलेको पुस्ताले सहिदका सपना साकार  पार्न काम गर्नुपर्ने  बताए । पार्क निर्माणका लागि प्रदेश सरकारले प्रदेश पर्यटन मन्त्रालय अन्तर्गत जिल्ला वन कार्यालय मार्फत रकम उपलब्ध गराएकाे छ ।

    शिलन्यास कार्यक्रममा मोलुङ गाउँपालिका अध्यक्ष राईसहितवडा नम्वर २ का वडा अध्यक्ष टंकबहादुर कार्की, अनेरास्ववियुका स्थायी कमिटी सदस्य तथा एमाले नेता गोपाल नेपालसहित प्राध्यापक, शिक्षक, समाजसेवी लगायतको उपस्थिति रहेकाे थियो ।

    तत्कालीन विद्रोही माओवादी पक्षले  लुइँटेललाई ०६० भदौ २२ गते विद्यालयबाट घर फर्किने क्रममा घोराखोरीबाट अपहरण गरेको थियो । उनलाई रामपुरमा लगेर बरको रुखमा झुण्ड्याएर हत्या गरिएकाे थियाे । अहिले सोही ठाउँमा लुइँटेलको अर्धकदको शालिक छ । शालिक परिसरमै पार्क निर्माण गर्न लागिएको जनाइएकाे छ ।

    प्रतिक्रिया दिनुहोस