२०८१ बैशाख २८, शुक्रबार | Fri, 10, May, 2024

शुरु भयाे मनसुन, सतर्क रहन माैसमविद्काे आग्रह

  • २०७७ अषाढ १२, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • काठमाडौं- जल तथा मौसम विज्ञान विभागका अनुसार अबको तीन दिन मुलुकभर मनसुन सक्रिय हुनेछ । अधिकांश ठाउँमा वर्षा हुनेछ । अहिले पनि मुलुकका विभिन्न क्षेत्रमा वर्षा भइरहेको छ ।

    मौसमविद् बरुण पौडेलका अनुसार रातिको समयमा अझै बढी पानी पर्ने सम्भावना छ । यो क्रम आगामी तीन-चार दिनसम्म जारी रहने भएकाले आवश्यक सावधानी अपनाउन उहाँले आम सर्वसाधारणमा अनुरोध गर्नुभएको छ । विभागले तराई र चुरिया क्षेत्रमा बढी पानी पर्ने जनाइसकेको छ ।
    नियमितजसो वर्षा भएकाले मुलुकका खोला, नाला, नदीहरु उर्र्लन थालिसकेको छ । मौसमविद्का अनुसार जमिन गलिसकेको हुँदा थोरै पानीले पनि धेरै असर गर्नसक्छ । यसले बाढी, पहिरो, डुबान र कटानको सम्भावना अधिक हुन्छ । तराई र चुरिया क्षेत्रमा चट्याङ्को पनि उत्तिकै सम्भावना छ ।

    “यो बेलामा ढलको निकास राम्रो नभएको ठाउँमा डुबान हुनसक्छ, खहरे खोलाबाट एक्कासी बाढी तथा भिरपाखा र पखेरामा पहिरो आउनसक्छ, त्यस क्षेत्रमा बस्ने समुदाय थप सतर्क हुनुपर्छ, मौसमविद् पौडेल भन्छन्, “जमिनको बनावट वरिपरीको क्षेत्र हेरेर सावधानी अपनाउनु जरुरी छ ।”

    यसपाली प्रिमनसुन सक्रिय भएकाले पहिले नै मुलुकभर भारी वर्षा भयो । जमिन गलिसकेको हुँदा प्रारम्भिक समयमै मनसुनजन्य विपद्को ठूलो जोखिम हुनसक्ने मौसमविद्को अनुमान छ ।
    विपद् व्यवस्थापन विज्ञ डा कृष्ण देवकोटा यस्तो अवस्थामा अझै चनाखो हुनुपर्ने आवश्यकता औँल्याउछन् । पर्वतलगायत केही स्थानमा बाढी पहिरोले मानवीय क्षति भइसकेको सन्दर्भमा तीनै तहको सरकारको समन्वयमा पूर्व तयारी र राहत उद्धारका लागि आवश्यक काम गर्नुपर्ने टड्कारो आवश्यकता छ ।

    अबको केहीदिन कोशी, कन्काई, वाग्मती, कमला नदीमा बहाव बढ्ने जलविज्ञ सुनिल पोखरेल बताउछन् । “ठूला नदी अहिले नै खतरामा पुग्ने स्थिति नभए पनि तराई, चुरे र भारतीय सीमा आसपास भारी वर्षा हुने र साना खोलामा बाढी बढेर सतर्कतासम्म पुग्नसक्छ, पश्चिम नेपालको पनि तराईको भागमा समस्या देखिनसक्छ”, पोखरेलले भने ।

    उनका अनुसार कन्काई, कोशी, राप्तीमा सतर्कता तहसम्म पुग्नसक्ने देखिन्छ । नारायणी नदीमा समेत विस्तारै बहाव बढ्ने क्रममा रहेको उनले बताए ।

    ठूला नदीमा बहाव बढ्दो क्रममा रहे पनि आजको मितिसम्म नदीअनुसार दुईदेखि चार मिटरसम्म बहाव तलै रहेको जलविज्ञको भनाइ छ । सीमा क्षेत्र र तराईका खहरे, साना खोला एक्कासी उर्लेर आउने र क्षति पुर्याउने सम्भावना कायमै रहेकाले तीन दिन सतर्कता अपनाउनुपर्ने विज्ञको सुझाव छ ।

    प्रतिक्रिया दिनुहोस