२०८१ बैशाख १७, सोमबार | Mon, 29, Apr, 2024

आकस्मिक कक्षमा उपचाररत महिलाको मृत्यु

  • २०७७ अषाढ १२, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • काठमाडौं- सिन्धुली अस्पतालको आकस्मिक कक्षमा उपचाररत एक महिलाको मृत्यु भएको छ ।

    महोत्तरीको बर्दिवास–३ घर भएकी २१ वर्षीया महिलाको उपचारका क्रममा बिहीबार राति ८ः३० बजे मृत्यु भएको अस्पतालका मेसु डा. लक्ष्मण खड्काले जानकारी दिए । अत्याधिक ज्वरो र श्वासप्रश्वासमा समस्या भएपछि उनी बिहीबार दिउँसो अस्पतालको आकस्मिक कक्षमा भर्ना भएकी थिइन् ।

    डा. खड्काले भने, ‘इमर्जेन्सी कक्षमा राखेर उपचार गर्दैगर्दा उनको बिहीबार राति मृत्यु भयो । उनको शरीरमा हेमोग्लोविनको मात्रा पनि कम थियो । फोक्सोमा पानी पनि जमेको थियो । उपचारका लागि अस्पताल ल्याउन ढिलाइ हुँदा उनलाई बचाउन सकिएन ।’

    ‘उनी १० दिनअघि मात्रै बर्दिवासबाट सिन्धुलीको घ्याङलेख गाउँपालिका–१ माइती घरमा आएर बसेकी रहेछिन्,’ उनले भने, ‘ज्वरो आएको पनि तीनचार दिनभन्दा बढी भइसकेको रहेछ । घरमै जडिबुटीको भर परेर बसेका रहेछन् ।’

    मृत्यु भएकी महिलामा कोरोना संक्रमणको लक्षण देखिएकाले शुक्रबार बिहानै उनको स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको उनले बताए ।

    प्रतिक्रिया दिनुहोस