२०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024

भारतीय ड्यामले मोरङमा नेपाली भूमि डुबानमा

  • २०७७ अषाढ १५, सोमबार मा प्रकाशित ३ साल अघि
  • विराटनगर-  एकीकृत भन्सार जाँच चौकी र रेल्वे लिक निर्माण गर्दा भारतले अघोषित ड्याम बनाएपछि मोरङको विराटनगर महानगरपालिकाको दक्षिणी क्षेत्र डुबानमा परेको छ । सामान्य वर्षाको पानी निकास नहुँदा विराटनगर– १८ बुधनगर क्षेत्र डुबानमा परेको हो ।

    डुबानकै कारण बुधबार सात वर्षीय बालकको ज्यान गएको छ । वर्षाका कारण जमेको पानी जाने निकास नहुँदा बुधबार घर नजिकैको खेतमा डुबेर स्थानीय जयपाल मण्डलका ७ वर्षीय छोरा अंकुश मण्डलको मृत्यु भएको हो ।

    ‘भारतले आईसीपी र रेलेको लिक बिछ्याउँदा ठूलाठूला ड्याम बाध्यो । तर निकासका लागि नाला राखिदिएन,’ विराटनगर महानगरको वडा नं १८ का वडाध्यक्ष राजदेव यादव भन्छन्, ‘निर्माण गर्दा हामीसँग सल्लाह पनि गरिएन ।’

    विराटनगर- १८ भारतसँग सीमा जोडिएको क्षेत्र हो । आफ्नो क्षेत्रमा बाढीको प्रभाव रोक्न भारतले रेलको लिकलाई नै ड्यामको रुपमा प्रयोग गरेको स्थानीयले बताएका छन् ।

    स्थानीयले पटक-पटक आग्रह गर्दा राज्यले नसुनेका कारण आफ्नो वडा डुबानमा परेको अध्यक्ष यादवले बताए । ‘निर्माण गर्दै गर्दा महानगरलाई भन्यौं । प्रशासनलाई गुहार्‍यौं,’ स्थानीय शम्भुकुमार यादव भन्छन्, ‘हाम्रो कुरा कसैले सुनेनन्, अहिले डुबान भोग्दैछौं ।’

    डुबानका कारण खेतीयोग्य जमिन जलमग्न छ । रोपेको धान पनि नष्ट हुने अवस्थामा पुगेको स्थानीयले बताए । बाढीका कारण विराटनगर १८ का खोक्साहा, समादगी, लावाघाट, भेडीयारी र डाङग्रा टोल बढी डुबानमा परेका हुन् । @Onlinekhabar

    प्रतिक्रिया दिनुहोस