२०८१ बैशाख २७, बिहिबार | Thu, 09, May, 2024

बाढीकाे वितण्डा: देशभर २४ जनाको ज्यान गयो, ३७ जना बेपत्ता

  • २०७७ अषाढ २६, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • काठमाण्डौ– लगातारको वर्षापछि आएकाे बाढी पहिराेमा परि देशभर २४ जनाको ज्यान गएको र ३७ जना हराइरहेका छन् ।

    पहिरोमा परि कास्कीका विभिन्न ठाउँमा गरी सात जनाको ज्यान गएको र आठ जना घाइते भएकाे प्रहरीले जनाएको छ । जिल्ला विपद् व्यवस्थापन समिति कास्कीले ज्यान गुमाउनेको परिवारलाई एक लाख रुपैयाँ राहत र घाइतेहरुको निःशुल्क उपचार गर्ने निर्णय गरेको छ ।

    यस्तै म्याग्दीको विभिन्न ठाउँमा गरी तीन जनाको ज्यान गएको छ भने ३१ जना हराइरहेका प्रहरीले जनाएको छ ।

    जाजरकोटको बारेकोट गाउँपालिका ४ मा पहिरोले घर बगाउँदा सात जनाको ज्यान गएको छ भने पाँच जना हराइरहेका छन् । बारेकोटकै धुमा खोलाले बगाउँदा एक जनाको ज्यान गएको छ, एक जना हराइरहेका छन् ।

    यस्तै लमजुङमा तीन जना, रुकुम पश्चिममा दुई जना र गुल्मीमा एक जनाको ज्यान गएको प्रहरीले जनाएको छ । विपद् भएका ठाउँमा उद्धार तथा खोजीको काम भइरहेको सरकारले जनाएको छ ।

    सिन्धुपाल्चोकमा बिहीबार बाढी र पहिरोमा परी हराइरहेका २१ जनाको शुक्रबार पनि खोजी भइरहेको छ ।

    यसैबीच अहिले पनि देशका सबैजसो ठाउँमा मौसम बदली हुनुको साथै धेरै ठाउँमा हलुकादेखि सामान्य वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस