२०८१ बैशाख २६, बुधबार | Wed, 08, May, 2024

बाढीकाे वितण्डा: उद्धारमा गएका आफैं फर्किएनन्

  • २०७७ अषाढ २७, शनिबार मा प्रकाशित ३ साल अघि
  • बेनी-  घरछेउको खोल्सामा बाढी र माख्लाको भीरबाट पहिरो खस्न थालेपछि बिहीबार राति १ बजे प्रकाश केसी छिमेकी परदेवी पुनकहाँ पुगे। केसीकी आमा ताजिमा र साथी सविन पुन भने घरमै सुतिरहेका थिए। पहिरोसँगै धार खोलामा बाढी आउन थालेपछि बिहान ५ बजेतिर आमा र साथीलाई उद्धार गर्न गएका केसी फर्किएनन्।

    ‘मामा (प्रकाश)ले राति १ बजे आएर हामीलाई उठाउनुभयो। बिहानै उपल्लो कल्लेनी जाने भनेर बसेका थियौं’, परदेवीले भनिन्, ‘बिहान ५ बजेतिर उज्यालो हुन लागेपछि खोला कत्रो आयो हेर्छु, सविन र आमालाई उठाएर ल्याउँछु भनेर २० पाइला अगाडि नबढ्दै आएको पहिरोले कहाँ पुर्‍यायो पत्तै भएन।’

    पहिरोमा भाग्ने क्रममा परदेवीको खुट्टामा चोट लागेको छ। उनका श्रीमानलाई पहिरोले हुत्याएर निगालोको झ्याङमा पुर्‍यायो र बाँचे। भागेर केही पर पुगेकी परदेवीलाई उनका छोरा प्रेम र साथी उमेशले पहिरोबाट निकाले।

    धवलागिरि गाउँपालिका–६ कल्लेनीका १८ वर्षीय केसीको शव शुक्रबार दिउँसो प्रहरी र स्थानीयले भेटाए पनि निकाल्दै गर्दा पहिरो आएपछि भागाभाग भयो। प्रकाशका भाइ निकेश भने दिदीको घरमा गएकाले जोगिए। पहिरोले परदेवी र ताजिमाको घर बगाएको छ।

    वरिपरि पहिरोले घेरेकाले गाउँका सबै जना एकै ठाउँमा जम्मा भएर बसेको कल्लेनीका रत्नबहादुर पुनले बताए। ‘पहिरोले गाउँबाट बाहिर जाने सबै बाटो बगाएको छ’, पुनले भने, ‘रातिदेखि निरन्तर पहिरो खसिरहेको छ। गाउँ नै लैजालाजस्तो छ। वनजति सबै बगायो।’

    पहिरोले धवलागिरि गाउँपालिका मराङ र त्यससितै सिमाना जोडिएको मालिका गाउँपालिका–७ बिममा ३१ जना बेपत्ता भएका छन्। मराङमा पहिरोले पुरिएका दुई र ठाडाखानीमा बाढीले बगाएका एक जनाको शव भेटिएको डीएसपी किरणजंग कुँवरले बताए, अन्नपूर्णमा खबर छ ।

    प्रतिक्रिया दिनुहोस